
१३ मंसिर, काठमाडौं । करिब डेढ अर्ब लगानीसहित नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकमा फिनल्यान्डको सरकारी कम्पनी भित्रिएको छ ।
विकासशील मुलुकहरूमा लगानी गर्ने फिनल्यान्डको सरकारी कम्पनी फिनफन्डले वर्ल्डलिंकमा १ करोड युरो अर्थात् करिब १ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
फिनफन्ड फिनल्यान्डको विकास वित्त प्रदायक तथा इम्प्याक्ट इन्भेस्टर हो । उसले विश्वव्यापी विकास चुनौतीको समाधान गर्ने क्षेत्रमा विकासशील मुलुकहरूमा लगानी गर्ने जनाएको छ । फिनफन्डले हरेक वर्ष २० देखि २० करोड युरो लगानी गर्ने गरेको जनाएको छ । उसले हालसम्म १ अर्ब २२ करोड युरो लगानी गरिसकेको र त्यसमध्ये आधा अफ्रिकामा भएको पनि जनाएको छ ।
३० वर्ष पुरानो कम्पनीको हालको मूल्यांकन ३० अर्ब रुपैयाँ छ । कम्पनीले तेस्रो चरणको विदेशी लगानीअन्तर्गत फिनफन्डको लगानी भित्र्याएको हो ।
फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिने वल्र्डलिंकले जनाएको छ । ‘नेपालको झन्डै आधा जनसंख्या ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाहिर रहेको, शहरी र ग्रामीण क्षेत्रमा उल्लेखनीय असमानता रहेको सन्दर्भमा यो लगानीबाट खुल्ने विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ,’ वल्र्डलिंकले जनाएको छ ।
बिहीवार आयोजित एक कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउने फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक किल्पेलेइनले बताए ।
फिनिस प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तिब्र गतिको र थप विश्वसनिय बनाउने लक्ष्य राखेको उनले बताए ।
देशकै सबैभन्दा ठूलो नेटवर्क प्रदायक समेत रहेको वर्ल्डलिङ्कले ५ हजार भन्दा बढी रोजगारी सृजना गरिरहेको छ । नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा वल्र्डलिंकले ओगटेको छ भने ९ लाख भन्दा बढी घरपरिवारमा यसको पहुँछ । कम्पनीले हाल नेपालको ७७ जिल्ला मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सन् २०१९ मा बेलायतको सरकारी लगानीको ‘ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट’ (बीआईआई) ले वर्ल्डलिंकमा १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेर १० प्रतिशत हिस्सा लिएको थियो ।
दोस्रो चरणमा बीआईआई र डोल्मा इम्प्याक्ट फन्डले २०२१ मा पुनः लगानी थपे । र, थप १ अर्ब ९८ करोड रुपैयाँ लगानी भएपछि कम्पनीको कुल विदेशी लगानी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको थियो । ती दुई विदेशी लगानीकर्तासँग १६.१५ प्रतिशत सेयर रहेको छ ।
त्यसमा फिनफन्डको लगानी थप भएको हो, तर त्यो कति प्रतिशत हुनेछ भन्ने चाहिँ कम्पनीले खुलाएको छैन ।
प्रतिक्रिया 4