१३ मंसिर, काठमाडौं । पाकिस्तानका अनुभवी बलिङ अलराउण्डर सोहेल तनभिरले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
चितवनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै तनभिरलाई अनुबन्ध गरेको जनाएको हो । दक्षिण अफ्रिकी बलर मर्चेन्ट डे लाङ घाइते भएका कारण नआउने भएपछि तनभिरलाई उनको प्रतिस्थापनको रूपमा ल्याइएको हो ।
३९ वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् । उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा रामरो अनुभव छ । फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् ।
बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।
उनले पाकिस्तानबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् भने राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग आइपीएल पनि जितेका छन् । त्यसैगरी पाकिस्तान सुपर लिग पनि जितेका छन् ।
चितवनमा अनुबन्ध भएपछि उनले भनेका छन्, ‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्।’
त्यसैगरी तनभिरलाई अनुबन्ध गरेपछि चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले तनभिरजस्तो वसश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न पाउँदा उत्साहित भएको उल्लेख गरेका छन् । ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो । हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका छौं । उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’ उनले भनेका छन् ।
चितवन राइनोजका विदेशी खेलाडीमा तनभिरसँगै नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेनकेन्सटाइन र रवि बोपारा तथा अफगानिस्तानका हसन एइसाखिल छन् ।
प्रतिक्रिया 4