
१३ मंसिर, नुवाकोट । दिनहुँजसो ठूला राजनीतिक पार्टीका केन्द्रियस्तरका नेताहरूको बाक्लो ओहोरदोहोर, आकर्षक अनि आक्रमक चुनावी नारा र एजेण्डासहितका र्याली र सभाहरू ।
दलहरूका रंगरंगका झकिझकाउ तुलब्यानर र झण्डाहरु जस्तै यी अनेकौं रंगिन सपना, तामझाम र प्रतिष्पर्धाको शैली हेर्दा लाग्छ– यो संसदीय चुनाव हो ।
खासमा चाहिँ हो यो, वडाअध्यक्ष चुन्ने तँछाडमछाड । यसै त रमणीय ककनी, झन् चुनावले कम हेर्न लायक छैन ।
ककनी गाउँपालिकाको वडा नं. २ मा अहिले अर्को रौनक थपिदिएको छ, मंसिर १६ गते हुने उपनिर्वाचनले । स्थानीय तहको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी तिव्र बढेको त छ नै, वडाअध्यक्ष पदका लागि मंसिर १६ गते हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा तान्न केन्द्रित दलका नेता–कार्यकर्ताहरू आ–आफ्नो चुनावी एजेण्डा बोकेर उम्मेदवारसहित मतदाताको घरदैलो र प्रचारप्रसारलाई मैजारो गर्ने हतारोमा छन् ।
प्रचारप्रसारको आज बिहीबार अन्तिम दिन भएकोले राष्ट्रिय राजनीतिमा स्थापित र चर्चित नेताहरू आ–आफ्ना पार्टीले अघि सारेका उम्मेद्वारको जीत सुनिश्चित गराउने दौडधुपमा दिनभरजसो जोडतोडका साथ सक्रिय देखिए ।
जिल्लाभरकै एक स्थानमा एक वडाध्यक्ष पदमा मात्रै चुनावी प्रतिस्पर्धा हुन लागेका कारण उपनिर्वाचनमा ककनी गाउँपालिका–२ नुवाकोटकै चुनावी ‘इपिसेन्टर’ बनेको छ । यसकारणले पनि राजनीतिक दलहरूले आफ्नो सम्पूर्ण ध्यान आजसम्म ककनीमै केन्द्रित पारिरहे ।
यसअघिको २०७९ को निर्वाचनमा ६ जना मात्र उम्मेद्वारले प्रतिस्पर्धामा भाग लिएकोमा यसपटक भने वडाध्यक्ष पदमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टीसहित अन्य स्वतन्त्र गरी ११ जना उम्मेदवार अध्यक्ष बन्ने होडमा छन् ।
सबैजसो उम्मेदवारले आफूले जित्ने दाबी पस्किरहेका छन् । माओवादी केन्द्रका उम्मेदवार यसअघि पनि चुनावी प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन् भने कांग्रेस, एमाले, रास्वपा, राप्रपा, समाजवादी लगायतका दलहरुले नयाँ अनुहारलाई मैदानमा उतारेका छन् ।
माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरे (मिलन)ले आफू २०७९ को स्थानीय तह उपनिर्वाचनमा उपविजेता अर्थात् निकटतम् प्रतिस्पर्धी भएर प्राविधिक कारणले थोरैमात्र मतान्तरमा पराजय भोग्नुपरेको र जनताको बिचमा अविचलित रही अनवरत सेवा गरिरहेका कारण मतदाताले आफूलाई छान्ने दाबी गरे ।
‘चुनाव हो, हार जित स्वभाविक हुन्छ, तर अहिलेसम्मको अवस्था हेर्दा मतदाता जनताको अपार मायाले उत्साहित छु र यसपटक जित्नेमा म ढुक्कै छु’, घिमिरेले भने, ‘ककनी र अझ यस २ नं. वडामा उपस्थिति बलियो छ, गत निर्वाचन २०७४ मा हामीले क्लिनस्वीप गरेका पनि थियौं, यो नै मैले जित्ने प्रमुख आधार हो ।’
यसबाहेक सिंगो ककनी गाउँपालिकाको नेतृत्वमा २०७४ र २०७९ को दुवै स्थानीय निर्वाचन माओवादीले नै जित हासिल गरेको पालिका हो । उनले २०७९ को निर्वाचनमा झिनो मतान्तरले हारेका कारण पनि जनताले आफूलाई सान्त्वना दिने विश्वास रहेको बताए । साथै यस पालिका माओवादीले जितेको छ भने क्षेत्र नं. १ पर्ने यो संघिय निर्वाचन क्षेत्र पनि २०७४ सहित अहिले पनि जितेको हो ।
२०७९ को निर्वाचनमा यस वडामा जितेको कांग्रेस बर्चश्वलाई कायम राख्ने ध्येयमा छ । जसबाट सुर्य तामाङ (जिम्बा) चुनावी मैदानमा होमिएका छन् । ‘जिल्लाभरीमै यहाँ मात्रै वडाअध्यक्ष पदको चुनाव हुने भएका कारण पार्टीको सम्पूर्ण ध्यान केन्द्रित भएको छ’, कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बनेका तामाङले भने, ‘अझ हामीले त जित हासिल गरेको वडा भएकाले पनि त्यही सफलता हासिल गर्नुपर्नेछ ।’
कांग्रेसको वर्चस्व खेर जान नदिने उनले बताए । कांग्रेसबाट निर्वाचित तत्कालीन अध्यक्ष कांग्रेसका तिलक लामाले ८ सय ८८ मत ल्याएर विजयी भएकोमा उनको निधन भएको हो । उनका तत्कालिन प्रतिद्वन्द्वी माओवादीका घिमिरेले ७ सय ३४ मत ल्याएका थिए ।
एमाले पुरानो असफलता बिर्साउने गरी लागेको बताइरहेको छ । त्यसबेला तेस्रो स्थानमा चित्त बुझाएको उसले समेत यसपटक सम्पूर्ण शक्ति लगाएर चुनावमा होमिएको छ । एमालेका तर्फबाट यमबहादुर लामा उम्मेद्वार छन् ।
‘यसअघि माओवादी र काँग्रेसले पालैपालो यस वडामा जितिसकेकोले अब जनताले मलाई जिताउनेछन्, लामाले आफू जित्नेमा विश्वस्त हुँदै भने भने, ‘यस वडाका मतदाताले मलाई विश्वास र माया गरेका छन् ।’
यसैगरी, नेपाली काँग्रेसबाट बिद्रोह गरी स्थानीय तहको निर्वाचनमा नयाँ अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका मंगलसिद्दि लामा तामाङ पनि चुनावी मैदानमा छन् र उत्साहित देखिन्छन् । उनलाई काँग्रेसले कारबाहीसमेत गरेको घोषणा गरेको छ ।
ठूला नेताहरुको तानिएको ध्यान
ठूला हुन् या साना, सबैजसो दलहरूले ककनी–२ मा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनले आगामी दिनका लागि चुनावी सन्देश दिने, जनमत आफूतिर तानिएको प्रमाणित हुने र स्थानीय सरकारमा आफ्नो शक्ति प्रदर्शित हुने आशाले दलहरूले सारा शक्ति खन्याउने योजना बनाएका छन् ।
दुई सातायता यहाँ सबैजसो दलका ठूला नेताहरूको ओहोरदोहोर बाक्लो चलिरहेको छ । जस्तोसुकै चुनौती झेल्ने भन्दै नेताहरू ककनी केन्द्रीत भएका हुन् ।
माओवादी केन्द्रका नेताहरु पुर्वमन्त्री तथा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हितबहादुर तामाङ, संसद्को कानुन तथा मानवअधिकार समितिकी सभापति रहेकी नेतृ विमला सुवेदी, बागमती प्रदेशसभा सांसद तथा पुर्वमन्त्री एवं उपसभामुख राधिका तामाङ, अर्का प्रदेश सांसद रामप्रसाद ढुंगानालगायत नेताहरू आफ्ना उम्मेद्वारलाई जिताइछाड्ने अठोटसहित केही दिनयता ककनीको यस वडाका घरघरै पुगिरहेका छन् ।
कांग्रेसका कार्यकर्ताहरूले पनि यहाँको चुनावी सभाहरूमा सहभागी हुन र घरदैलो अभियानका लागि पुर्वमन्त्री अर्जुननरसिंह केसी, सहमहामन्त्री प्रकाशशरण महत, संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसी, बागमती प्रदेशसभा सांसद तथा जिल्ला सभापति रमेशकुमार महतदेखि जिल्लास्तरका नेताहरू आफ्ना उम्मेद्वारलाई जिताउन खटिएका छन् । कांग्रेसले चुनावी सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती खेपिरहेका बेला एमालेले आफ्नो शक्ति बढेको देखाउनुपर्ने आवश्यकता बोध गरेको छ ।
एमालेले पनि प्रदेशदेखि जिल्लाभरीको शक्ति यहाँ केन्द्रीत तुल्याएको छ । केन्द्रिय सदस्य उषाकिरण तिम्सिना, अर्का केन्द्रिय सदस्य तथा प्रदेश पूर्वमन्त्री केशब पाण्डे, पूर्व सांसद् नारायणप्रसाद खतिवडादेखि एमाले जिल्ला अध्यक्ष तथा प्रदेश पुर्वमन्त्री बद्री मैनालीसम्म चुनावी अभियानमा कस्सिएर लागिपरेका छन् ।
यी चार दलबाहेक अन्य साना दलहरू पनि आफ्नो चुनावी परीक्षणका लागि यस वडामा लागिपरेका छन् । यसरी वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराई प्रतिष्पर्धामा रहेका अन्य उम्मेद्वारहरुमा राप्रपाबाट खेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका माइलीमाया तामाङ, नेकपा (एकीकृत समाजवादी)का मानबहादुर लामा तामाङ, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङ, नेशनल मंगोल अर्गनाइजेसन पार्टीबाट किरण तामाङ, स्वतन्त्र उम्मेदवारहरु रमेश पुडासैनी र सोनु तामाङले उम्मेदवारी दर्ता गराएको ककनी वडा नं. २ का सहायक निर्वाचन अधिकृत सुनिल आचार्यले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटको तथ्यांकअनुसार एक हजार ५२२ महिला र एक हजार ६५१ पुरुष गरी तीन हजार १७३ मतदाता रहेको यस वडामा दुई मतदान केन्द्र कायम गरिएको छ । जसमा वडा भवन कार्यालय र शिवालय माध्यमिक विद्यालय केन्द्र रहेको छ । वडा भवनमा एकहजार ११२ जना र शिवालय माविमा दुई हजार ६१ जनाले मतदान गर्नेछन् ।
यस्तो छ विगत आँकडा
ककनी २ मा २०७४ सालमा स्थानीय तहको पुनर्संरचना भएपछिको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा रहेको थियो । सो निर्वाचनमा माओवादीका केदार पौडेलले ७८७ मत ल्याई २२६ मतान्तरले कांग्रेसका तिलक लामालाई पछि पारेका थिए । उनले ५६१ मतमा चित्त बुझाउनुपरेको थियो भने एमालेका यम बहादुर लामाले २७४ मतमात्रै ल्याएका थिए ।
यसैगरी, २०७९ साल बैशाख ३० गते भएको दोस्रो स्थानीय तहको निर्वाचनमा कांग्रेसका तिलक बहादुर लामासहित सबै वडा सदस्यहरूमा पनि क्लिनस्वीप गरेको थियो ।
२०७४ मा पराजित भएर निर्वाचन जितेका लामाले ८८८ मत ल्याएर विजयी भएका थिए भने माओवादी केन्द्रका कृष्ण घिमिरेले ७३४, एमालेका प्रेम बहादुर तामाङले २०५, राप्रपाका गोविन्द प्रसाद घिमिरेले २०३, एकिकृत समाजवादीका मान बहादुर लामा तामाङले ८२ र स्वतन्त्र उम्मेद्वार सिताराम घिमिरेले ७ मत पाएका थिए ।
प्रतिक्रिया 4