
१५ मंसिर, हेटौंडा । हेटौंडा उमहानगरपालिकाको १२ नम्बर वडामा स्थानीय तह उपनिर्वाचनअन्तर्गत भोलि मतदान हुँदैछ ।
मकवानपुरको १०२ वट वडामध्ये हेटौंडा–१२ मा मात्रै उपनिर्वाचन हुन लागेको हो । वडा अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् ।
उपनिर्वाचनको तयारी पूरा भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।
वडाको सुरक्षा व्यवस्था कडा बनाइएको उनले जानकारी दिए । १२ नम्बर वडालाई आज शनिवार रातिबाट शिल गरिने प्रजिअ चिलुवालले बताए ।
‘आज रातिदेखि भोली मतदान कार्यको समय अवधिभर बाहिरी व्यक्तिहरुलाई प्रवेश दिइने छैन् । ८ वटा सुरक्षा चेक प्वान्ट बनाएर वडालाई शिल गर्दैछौं,’ उनले भने, ‘सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकि राखिएको छैन् ।’
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीन तहमा सुरक्षा दिने प्रजिअ चिलुवालले बताए । ८ वटा सुरक्षा चेक प्वाइन्टमा जनपथ र सशस्त्र प्रहरी खटिएका छन् । आवश्यकताअनुसार थप दुई वटा सुरक्षा चेक प्वाइन्ट बढाइने उनले बताए । वडाको भित्री सुरक्षामा नेपाली सेनाले निगरानी गरिराखेको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले उपनिर्वाचनलाई लक्षित गर्दै १२ नम्बर वडामा तीन दिनसम्म मदिराजन्य तथा नशालुपदार्थको बिक्रिवितरण, सेवनमा रोक लगाएको छ । शुक्रबारबाट १६ मंसिर दिउँस मतदानकार्य सम्पन्न नभएसम्म उक्त कार्यमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले जानकारी दिए ।
यस्तै, दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
चुनावी मैदानमा को–को छन् ?
गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
५ सदस्यीय वडामा माओवादी केन्द्रबाट घलानले वडा अध्यक्ष जित्दा ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका थिए ।
उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट बलराम बल उम्मेदवार छन् ।
छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र उम्मेदवार छन् । गत निर्वाचनमा पनि उम्मेदवार रहेका कांग्रेसका तिवारी र एमालेका नगरकोटी यस पटक पनि चुनावी मैदानमा छन् ।
तेस्रो पटक चुनाव उठेका तिवारीले घलानसँगै ०७४ र ०७९ को निर्वाचनमा पराजय भोगे । नगरकोटी गत निर्वाचनमा तेस्रो भएका थिए ।
गत निर्वाचनमा घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । उपनिर्वाचनबाट माओवादी केन्द्रलाई गुमेको वडा फर्काउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।
प्रतिक्रिया 4