+
+

ग्रामथान उपनिर्वाचन : कांग्रेसले भेला गरेको भन्दै रास्वपाले दियो उजुरी, केहीबेर विवाद

हरि अधिकारी हरि अधिकारी
२०८१ मंसिर १५ गते २१:०२

१५ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबीच विवाद भएको छ ।

निर्वाचन आचारसंहिता विपरित ग्रामथान गाउँपालिका– ६ मा शनिबार दिउँसो कांग्रेसले भेला आयोजना गरेको भन्दै रास्वपा कार्यकर्ता पुगेपछि विवाद भएको हो । कांग्रेसका नेताहरू भेला भएको स्थानमा रास्वपा कार्यकर्ताले भिडियो खिचेपछि कांग्रेस कार्यकर्ताले हातपात गरेका थिए ।

आचारसंहिता विपरीत भेला भएपछि भिडियो खिच्दा आफ्नो पार्टीका कार्यकर्तामाथि हातपात भएको रास्वपाबाट ग्रामथान अध्यक्षको उम्मेदवार नविनकुमार विश्वासले बताए ।

विवादपछि रास्वपा उम्मेदवार विश्वासले निर्वाचन आचारसंहिता विपरीत कांग्रेसले सम्मेलन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

आफ्नो घर नजिकै कांग्रेसले भेला गरेपछि उजुरी गरेको विश्वासले बताए । ‘निर्वाचन आचारसंहिता लागेका बेला २०–२५ जना बस्नु आचारसंहिता विपरित हो,’ उनले भने, ‘भेला गरेपछि हाम्रो पार्टीका सदस्यले निर्वाचन आचारसंसिहता विपरीत भयो भन्दा हातपात भयो ।’

रास्वपा कार्यकर्ताले कांग्रेसले भेला गरेर माइन्युट पनि गरेको दाबी गरेका छन् । सार्वजनिक भएको भिडियोमा माइन्युट गरेको देखिन्छ । ग्रामथानमा भएको भेलामा नेपाली कांग्रेस नेता गुरुराज घिमिरले सहभागी थिए । नेपाली कांग्रेस नेता घिमिरेले रास्वपाले दाबी गरे अनुसार सम्मेलन नभएको दाबी गरे ।

पार्टीको सम्पर्क कार्यालयमा बसिरहेको अवस्थामा २–३ जनाले भिडियो खिचेर लगेको उनले बताए ।

‘२०८० सालको वडा सम्मेलनको व्यानर यहाँ टाँगिरहेको छ, उम्मेदवारको कुनै प्रचारप्रसार झल्किने खालको केही व्यानर छैन,’ उनले भने, ‘यो हाम्रो वडा कार्यालय हो, वडा कार्यालयमा बसेर वर्क डिभिजन गरिरहेका थियौं ।’

उनले भोलिका लागि जिम्मेवारी बाँडफाँट गरिरहेको अवस्थामा २–३ जना व्यक्ति आएर भिडियो खिच्दै हप्कीदप्की गरेको दाबी गरे । हप्कीदप्की गरेपछि सामान्य विवाद भएको उनले स्वीकार गरे ।

ग्रामथानका सहायक निर्वाचन अधिकृत राजराज पौडेलले रास्वपाले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै उजुरी गरेपछि उजुरीमाथिको कारवाही सुरु भएको जानकारी दिए ।

ग्रामथानको अध्यक्षमा कांग्रेसबाट बलराम सरदार उम्मेदवार छन् । एमालेबाट तुलसीराम विश्वास, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दारसहित दलका १५ र स्वतन्त्र १ गरी १६ जना उम्मेदवार छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?