
१६ मंसिर, चितवन । साढे दुई दशकअघि २०५६ सालमा वैदेशिक रोजगारीका लागि ब्रुनाई जानुअघि तनहुँका बृखलाल गुरुङले भारतमा गाडी चलाउने काम गर्थे । भारतमा १० वर्ष र ब्रुनाईमा ७ वर्ष बिताएपछि उनी स्वदेशमै काम गर्ने उद्देश्यले गाउँ फर्किए ।
तर, के काम गर्ने ? उनी अन्योलमा थिए । उनी व्यापार पो गर्न सकिन्छ कि भनेर यसो सम्भावना बुझ्न पूर्वी नवलपरासीको गैंडाकोट पुगे ।
एक्कासि उनलाई गैंडाकोट थुम्सीमा रक्सी, मासु र ढिँडो पकाएर बेच्ने आइडिया फुर्यो । त्यतिबेला पूर्वपश्चिम राजमार्ग किनारमा पर्ने थुम्सी लामो दुरीका ट्रक चालक विश्राम गर्ने थलो थियो । उनको पसल तिनैप्रति लक्षित थियो ।
‘नजिकै जंगल, छेउमा नारायणी नदी र फराकिलो ठाउँ पनि भएकाले थुम्सीमै व्यापार गर्ने सोच आयो,’ बृखलाल भन्छन्, ‘तर, त्यहाँ बिजुली, पानी केही पनि थिएन । भाँडा माझ्न पनि खोलामा जानुपर्थ्यो ।’
अन्ततः १७ मंसिर २०५६ मा बृखलालले थुम्सीमा जस्ताको छानो भएको टहरो बनाए । माटोको चुल्हो राखे । ८–१० बोतल रक्सी अनि चुरोट पनि राखे । लोकल कुखुरा पाले । सुरुसुरुमा रक्सी र लोकल कुखुराको मासु बेचे । अर्डर अनुसार बेलाबेला ढिँडो पनि बेच्न थाले । बृखलाल र उनकी श्रीमती लालीमायाले १ लाख रुपैयाँ लगानीमा खोलेको भट्टी पसलको नाम राखे ‘पाते ढिँडो’ ।
‘त्यसबेला ढिँडो पनि कसैले किनेर खान्छ भन्ने जमाना थियो, ढिँडोभन्दा नाक खुम्चाउँथे मान्छेहरु,’ बृखलाल सम्झिन्छन्, ‘ढिँडो बेचेको भनेर कतिपयले खिसीट्युरी पनि गरे । कसैले त होटलको नामबाट ‘ढिँडो’ शब्द हटाएर ‘पाते’ मात्र राख्न पनि सुझाए ।’
बृखलाललाई पेसा त सुरु गरियो, तर चल्दैन कि भन्ने कता–कता डर भने थियो । त्यसैले उनले रक्सी र मासु बेचिरहे ।
‘सुरुवाती दिनमा व्यापार घाटामा थियो । एउटा कुखुराको मासु पनि मुस्किलले खपत हुन्थ्यो,’ बृखलाल भन्छन्, ‘मानिसहरू एकदम कम आउँथे, तर हामीले हरेस खाएनौं ।’
बृखलालले ढिँडो ओडाल्न छाडेनन् । सीमित ग्राहक नै सही उनले ग्राहकलाई सक्दो सत्कार गरे । गुन्द्रीमा बसालेर तात्तातो ढिँडो पस्किए । त्यसमाथि घ्यु राखे अनि कचौरामा लोकल कुखुराको झोलमासु पनि टक्र्याए ।
ढिँडो खानेहरूले ‘मिठो’ भयो भनेर प्रतिक्रिया दिँदा उनको मन खुसी हुन्थ्यो । व्यापार बढ्ने आशाको त्यान्द्रो अझै तन्किन्थ्यो ।
बिस्तारै ग्राहक बढ्दै गए । ढिँडोका पारखी कार, मोटरसाइकल र साइकल चढेर थुम्सी आउन थाले । मकै, फापर र कोदोको ढिँडोसँगै दैनिक २० किलोसम्म कुखुराको मासु खपत हुन थाल्यो ।
पाते ढिँडोका ग्राहक र नाफाको ‘ग्राफ’ उकालो लाग्दै गयो । उनले होटलको क्षेत्रफल पनि विस्तार गरे । बृखलालको पाते ढिँडो ‘एक कान, दुई कान, मैदान’ भने झैं चर्चित भयो । एकप्रकारले पाते ढिँडो ‘रि–ब्रान्डिङ’ भयो ।
‘राष्ट्रियस्तरका कलाकारदेखि विभिन्न दलका नेतासमेत यहाँ खानका लागि आउनुहुन्छ,’ बृखलाल भन्छन्, ‘उहाँहरूको रुचि अनुसार कुखुराको मासुबाहेक स्थानीय खोलामा पाइने माछाको झोलसँग पनि ढिँडो खुवाउने गरेको छु ।’
यसरी ग्राहकको सन्तुष्टि र विश्वास आर्जन गर्न उनलाई ठ्याक्कै सात वर्ष लाग्यो ।
सुकुलमा एक पटकमा चार जना मात्रै राखेर खुवाउन मिल्ने गरी सुरु गरिएको उनको व्यवसाय अहिले एकै पटक ७० जनाभन्दा बढी बसेर खान मिल्ने गरी विस्तार भएको छ । रात बिताउन मिल्ने लजको सुविधा पनि थपिएको छ । थुम्सीको होटलमा मात्रै उनले २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
सानो छाप्रोबाट सुरु भएको बृखलालको पाते ढिँडो अहिले रिसोर्टको रूपमा बदलिएको छ । पाते ढिँडोको ट्रेडमार्कसमेत लिएको उनी बताउँछन् ।
पाते ढिँडो चर्चित भएपछि अहिले थुम्सी क्षेत्र वरपर मात्र होइन, ढिँडो खुवाउने दर्जनौं होटल खुलेका छन् । अहिले थुम्सी गुल्जार छ ।
आफ्नो पदचाप पछ्याउँदै ढिँडो खान पाइने होटल नारायणगढको पुल्चोकदेखि दाउन्नेसम्मै खुलेकामा बृखलाल पनि खुसी छन् ।
तिनमा कम्तीमा सयौंले व्यवसाय गरेका छन्, परिवार पालेका छन्, केही भए पनि कमाएका छन् । सबैलाई बाटो देखाउन सकेकोमा अहिले उनको मन खुसीले भरिएको छ ।
‘हिजोआज भात र ढिँडोमध्ये के खानुहुन्छ भनेर सोध्दा धेरैले ढिँडो भन्नुहुन्छ होला,’ बृखलाल भन्छन्, ‘हिजो भात खान पाइन्छ भनेर तराई झरेकाहरू पनि अहिले पुनः ढिँडोतिर फर्किएका छन् । यो हाम्रो नेपाली पहिचानसँग पनि जोडिएको छ ।’
भरतपुरमा पाते ढिँडोको पहिलो शाखा
गैंडाकोट थुम्सीको पाते ढिँडोले भरतपुर महानगरपालिका–१० शिखरचोकमा पहिलो शाखा खोलेको छ । थुम्सीको पाते ढिँडो २५ वर्ष पुगेको अवसर पारेर गत वर्षदेखि भरतपुरमा सञ्चालनमा ल्याइएको शाखा थुम्सी जान नभ्याउने ग्राहकप्रति लक्षित छ ।
‘नारायणगढ–बुटवल सडक विस्तारको कामले गर्दा अहिले सडक पनि राम्रो छैन, धुलो पनि छ, परिवार नै लिएर थुम्सी जान नभ्याउनेहरू यहीँ आउनुहुन्छ,’ बृखलाल भन्छन् ।
भरतपुर र आसपासका ढिँडो पारखीलाई नारायणी पुल तरेर पारि जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा शाखा खोलिएको उनी बताउँछन् ।
उनले साढुभाइ मीन गुरुङसँग मिलेर झन्डै साढे २ करोड लगानीमा यो शाखा खोलेका हुन् । मीनले पोखरामा लेकाली चुल्हो चलाएका छन् ।
१५ वर्षका लागि जमिन तथा घर भाडामा लिएर खोलिएको रिसोर्टमा ढिँडोसँगै बंगुर, चिकेन, मटन र बफ सेकुवा पनि पाइन्छ ।
रिसोर्टमा ६० जना अट्ने ठूलो हल, १२ जना अट्ने सानो हल, ६ वटा कटेज र ३० जना अट्ने डाइनिङ हल छ । यहाँ १८ जनाले रोजगारी पाएका छन् । सरदर दैनिक ६० हजारको व्यापार भरतपुरमा भइरहेको बृखलालले बताए ।
पाते ढिँडोको नाम चर्चित भएपछि अहिले विभिन्न ठाउँमा त्यही नाम राखेर होटल खुल्न थालेका छन् । त्यसैले बृखलालले यसको ‘ट्रेडमार्क’ समेत लिइसकेका छन् ।
‘पाते ढिँडो नाम राखेर मानिसलाई झुक्याउने गरिएको छ,’ बृखलाल भन्छन्, ‘तर, पाते ढिँडोको खास ब्रान्ड हाम्रो हो, त्यसको ट्रेडमार्क लिइसकेका छौं । असली पाते ढिँडो थुम्सी र भरतपुर सप्तगण्डकी रोडको शिखरचोकमा मात्रै छ ।’
प्रतिक्रिया 4