काठमाडौं । एक समय यस्तो थियो, एड्स भन्नासाथ मान्छेहरु आतंकित हुन्थे । एचआईभी संक्रमितसँग समाज डराउँथ्यो । यसलाई एउटा रोगको रुपमा मात्र हेरिंदैनथ्यो, सामाजिक कलंकको संज्ञा दिइन्थ्यो ।
यसरी एचआईभी संक्रमितहरु समाजबाट मात्र होइन, आफन्त र परिवारबाटै तिरस्कृत हुन्थे । कतिसम्म भने चिकित्सक पनि उपचार गर्न असहज मान्थे ।
एचआईभी संक्रमित व्यक्तिको जीवन अँध्यारो र एक्लो थियो । उनीहरुलाई लाग्थ्यो, ‘एचआईभीले मलाई मृत्युको सन्देश दिइरहेको छ ।’ यसरी उनीहरु एचआईभी भाइरससँग त लडिरहेका हुन्थे नै, समाजको निर्दयी व्यवहारसँग पनि जुध्नु बाध्य हुन्थे ।
सामाजिक पीडाभन्दा कम चर्को थिएन अवहेलना र एक्लोपन ।
टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले एचआईभी संक्रमितका पीडा, निराशाका यस्ता धेरै घटना देखे । ‘कोही व्यक्ति पनि खुलेर बाहिर आउँदैन थिए । संक्रमित भएको सुन्नेबित्तिकै बेहोस हुन्थे’ डा. पुनले ती दिन सम्झिंदै भने, ‘एकदमै अत्यासलाग्दो, डरलाग्दो अवस्था थियो ।’
त्यो समयमा एचआईभी भनेको मृत्युको अनुमति पत्र जस्तै थियो । स्वास्थ्यकर्मीले पनि छोए भने सर्छ कि भन्ने खालको व्यवहार गर्थे ।
आज परिदृश्य फरक छ । नियमित औषधिले संक्रमितले सामान्य जीवन जिउन सक्छन् । उनीहरूले स्वस्थ सन्तान पनि जन्माउन सक्छन् ।
‘पहिल्यै र अहिलेको एचआईभी संक्रमितको अवस्थामा आकाश–पातालकै फरक छ,’ डा. पुन भन्छन्, ‘संक्रमित व्यक्ति पनि खुलेर बाल्नुहुन्छ । तर समाज भएको विभेदलाई अन्त्य गर्न जरूरी छ ।’
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा एचआईभी संक्रमितमाथि अझै समाजमा लाञ्छना र भेदभाव कायमै रहेकाले जनचेतना जगाउन आवश्यक रहेको बताउँछन् ।
‘एचआईभी संक्रमितलाई सहानुभूति होइन, सम्मान गर्नुपर्छ,’ डा. शर्मा भन्छन्, ‘एचआईभी भनेको अन्त्य होइन, जीवनको एक नयाँ सुरुवात भनेर बुझाउन जरूरी छ ।’
सचेतना जस्ताको तस्तै
नेपालमा एचआईभी एड्स नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट वार्षिक डेढ अर्ब खर्च हुन्छ ।
एचआईभी एड्सको नियन्त्रण, औषधि उपचार तथा सचेतनाका लागि सरकारी खर्च मात्रै ५० करोड हुने गरेको छ ।
सरकारले वार्षिक करोडौं खर्च गर्दै आए पनि एचआईभी संक्रमित समाजमा खुलेर बस्नसक्ने वातावरणको निर्माण भएको छैन ।
‘कुनै समय एचआईभी महामारीको रूपमा थियो । तर अहिले वर्ग विशेषमा मात्रै कायम छ’ डा. शर्मा भन्छन्, ‘एड्सकै कारण पहिलाको जस्तो मृत्यु छैन । तर अझै पनि संक्रमितप्रति सकारात्मक भावनाको विकास गर्न सकिएको छैन ।’
केन्द्रको तथ्यांकअनुसार सन् २००० को तुलनामा सन् २०२३ सम्म आइपुग्दा एचआईभी संक्रमण ९१ प्रतिशतले घटेको छ । उनका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआईभीका संक्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार जना नयाँ संक्रमित भेटिएका थिए ।
‘उपचारमा रहेका संक्रमितले औषधि खाएपछि अरुलाई सार्दैनन् र संक्रमित कम हुँदै गएका छन्,’ डा. शर्मा भन्छन्, ‘अब एचआईभी संक्रमितमा एड्स हुने अवस्था छैन । नियमित औषधि खाँदा यो रोग सामान्य भइसकेको छ ।’
तर यौनजन्य क्रियाकलाप तथा रगतका माध्यमबाट एचआईभी संक्रमण हुने भएकाले पनि समाजमा संक्रमितलाई हेर्ने दृष्टिकोण फरक रहेको डा. शर्मा बताउँछन् ।
ह्युमन इमुनो डिफिसेन्सी भाइरस अर्थात् एचआईभी एक यस्तो भाइरस हो, जसले शरीरमा प्रवेश गरेपछि बिस्तारै प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता घटाउँदै लैजान्छ ।
यदि एचआईभीको सही समयमा उपचार गरिएन भने यो एड्स (एक्वायर इम्युनोडेफिसियन्सी सिन्ड्रोम)मा परिणत हुन्छ । हाल एचआईभी निर्मूल नै पार्ने कुनै प्रभावकारी उपचार छैन । एकपटक एचआईभी संक्रमित भएपछि उसले जीवनभर यससँगै बाँच्नुपर्छ । तर उचित चिकित्सकीय हेरचाह र उपचारको सहयोगमा एचआईभी संक्रमणलाई नियन्त्रणमा भने राख्न सकिन्छ ।
एचआईभीको लक्षण ढिला देखाउने र अन्य रोगले पनि समात्ने हुँदा पहिचान छिटो हुन पाउँदैन । पहिचानमा ढिलाइ हुँदा शरीर कमजोर हुँदै जाँदा अन्य अवसरवादी रोगले पिरोल्न थाल्छ, जसलाई एड्स भनिन्छ ।
शरीरको सबै प्रणालीमा असर गर्छ । यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौन सम्पर्कको माध्यमबाट मात्र नभई निर्मूलीकरण नगरिएका सिरिन्जको प्रयोगबाट, र्यालबाट, शरीरका अंग प्रत्यारोपण गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्छ ।
पाँच हजार एचआईभी संक्रमित कहाँ छन् ?
नेपालमा हाल ३० हजार ३०० जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । नेपालमा १५ देखि ४९ वर्षको उमेर समूहका व्यक्तिमा एचआईभी संक्रमण दर उच्च रहेको छ । जसमध्ये दैनिक एक जनाको मृत्यु हुने गरेको केन्द्रको तथ्यांक छ ।
केन्द्रको तथ्यांक अनुसार २५ हजार ७२८ जनाले उपचारको दायरामा आएका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा एचआईभी संक्रमित छन् । केन्द्रको तथ्यांकअनुसार बागमतीमा ६ हजार ७३५, लुम्बिनीमा ४ हजार ८५२, मधेशमा ४ हजार ३३२, सुदूरपश्चिमा ३ हजार ७२३, गण्डकीमा २ हजार ९६८, कोशीमा २ हजार ४०३ र कर्णालीमा ७१५ जना उपचारको दायरामा छन् ।
एचआईभी संक्रमितलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ । तर अझै पनि करिब पाँच हजार एचआईभी संक्रमित उपचारका लागि स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको तथ्यांकले देखाउँछन् ।
‘सरकारले एचआईभी परीक्षण तथा संक्रमितको औषधि उपचार निःशुल्क गरेको छ तर पनि अझै मानिस खुलेर उपचारमा आएका छैनन्,’ शर्मा भन्छन्, ‘संक्रमित खुलेर उपचारमा नआउनुले चुनौती थपेको छ ।’
अझै वार्षिक सयौं संख्यामा नयाँ संक्रमित थपिने गरेकाले सरकारका लागि चुनौतीको विषय बनेको छ ।
‘समयमै बिरामी पत्ता लगाउन नसक्दा एचआईभी नियन्त्रण गर्न कठिनाइ हुने देखिन्छ । ‘एचआईभी जति ढिला पत्ता लाग्छ, बिरामीले त्यति धेरै अरुलाई सारिसकेको हुन्छ । जसले गर्दा एचआईभी अझ धेरै फैलिने सम्भावना बढी हुन्छ’ डा. शर्मा भन्छन् ।
गरिबी, स्वास्थ्य सेवामा पहुँचको कमी, पहुँच भएका पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै उपचार नहुनु जस्ता कारणले पनि एड्स नियन्त्रण हुन सकेको छैन ।
सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारका लागि विदेशिने तथा तिनका दम्पती एवं जेलमा रहेका कैदीका लागि एचआईभी उच्च जोखिममा छन् । केन्द्रको तथ्यांक अनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने व्यक्ति, यौनकर्मीमा पाँच प्रतिशत एचआईभी संक्रमित छन् ।
नेपालमा राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–०२६ अनुसार उच्च जोखिममा रहेकाहरुका लागि एचआईभी रोकथाम कार्यक्रम तथा संक्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी हुन सकेको छैन ।
नेपालमा सन् २०३० सम्ममा एड्स तथा एचआईभी निर्मूल गर्ने लक्ष्य छ । अहिले अनुमानित एचआईभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको छ ।
तर केन्द्रको तथ्यांक अनुसार एचआईभी संक्रमितमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको छ । तर ७४ प्रतिशतलाई ९५ मा पुर्याउन भने धेरै काम गर्नुपर्ने छ ।
‘दुई वर्षअघि ५२ प्रतिशतको मात्रै भाइरल लोड थाहा थियो । अहिले त्यो बढाएर ७४ मा पुर्याएका छौं,’ डा. शर्मा भन्छन्, ‘लक्ष्य अनुरुप पुग्नका लागि धेरै काम गर्नुपर्ने छ ।’
हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालनमा छ । आइतबार १ डिसेम्बरमा नेपालसहित विश्वभरि नै ३७ औं विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौं’ भन्ने नाराका साथ मनाइँदै छ ।
कार्यक्रम दातृ निकायको भरमा
एचआईभीका अधिंकाश कार्यक्रम दातृ निकायले सहयोग गरिरहेको छ । यदि दातृ निकायले नेपाललाई सहयोग गर्न छोडे एचआईभीलाई उन्मूलनको कार्यक्रमलाई दिगो रूपमा लैजान सक्ने अवस्था सरकारको छैन । विश्वव्यापी रूपमा औषधि उत्पादन गर्ने कम्पनी निकै कम छन् ।
यो वर्षदेखि औषधिको मूल्य बढेकाले जति मात्रामा औषधि खरिद गर्नुपर्ने हो त्यति सरकारले खरिद गर्न सकेको छैन । केन्द्रका लागि सरकारले ५० करोड हाराहारीमा बजेट छुट्याउँदै आएको छ । सरकारले दिने गरेको बजेटको हिसाब गर्ने हो भने औषधि खरिद गर्न पनि दातृ संस्था गुहार्नुपर्ने अवस्था छ । ७७ वटै जिल्लामा एआरटी सेन्टर नहुँदा संक्रमितले सहज सेवा पाउन सकेका छैनन् ।
बजेट अभावले स्थानीय तहसम्म कार्यक्रम लैजान नसकेको डा. शर्मा बताउँछन् । ‘संक्रमित खोज्न हामी कम्युनिटीमा जानुपर्ने हो । तर बजेट अभावकै कारण जोखिम वर्गमा मात्रै जान सकिएको छ,’ डा. शर्मा भन्छन्, ‘डोनर एजेन्सीले सिरिन्ज र औषधि दिने गरेका छन्, उनीहरुकै भरमा कार्यक्रम चलेको छ ।’
एड्स महामारी अन्त्य कसरी गर्ने ?
नेपालमा एचआईभी संक्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क हुने गरेको लामो समयदेखि एचआईभी संक्रमितको उपचारमा संलग्न डा. अनुप बास्तोला बताउँछन् ।
‘यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, समलिंगी तथा तेस्रोलिंगीहरु, वैदेशिक रोजगारीमा गएका कामदार एचआईभी संक्रमणको जोखिममा छन्,’ डा. बास्तोला भन्छन्, ‘त्यसैले असुरक्षित यौन सम्बन्ध नराखौं । सधैं कण्डमको प्रयोग गरौं ।’
संक्रमणको जोखिम हुन सक्ने अवस्थामा रहेका व्यक्तिले कण्डम, प्रेप, पेप लगायत अन्य रोकथामका उपाय प्रयोग गरी जोखिम न्यूनीकरण गर्नुपर्ने उनी बताउँछन् । जोखिममा रहेका व्यक्तिले समयमै एचआईभी परीक्षण गराउनुपर्छ । संक्रमण पहिचान भएमा उपचार दायरामा आउनुपर्छ,’ डा. बाँस्तोला अगाडि थप्छन्, ‘संक्रमित व्यक्तिले नियमित औषधि सेवन गरे स्वस्थ जीवन बाँच्न सक्छन् ।’
नियमित लामो समयदेखि उपचारमा रहेका संक्रमित पनि नसर्ने रोग (दीर्घकालीन) रोगको समस्या बढ्दै गएको छ । त्यसकारण समयमै नसर्ने रोगको परीक्षण तथा उपचार गर्न जरुरी भएको विज्ञ बताउँछन् ।
‘यसले संक्रमितलाई नसर्ने रोगका कारण हुने मृत्युबाट बचाउनुका साथै ‘स्वस्थ बुढ्यौली’को आधार बनाउन मद्दत गर्छ,’ डा. बास्तोला भन्छन्, ‘एचआईभी नियन्त्रण तथा रोकथाम गर्न सबैको अधिकार सुनिश्चित गर्न सके २०३० सम्ममा एड्स महामारीको अन्त्य गर्न सकिन्छ ।’
प्रतिक्रिया 4