
१६ मंसिर, गोरखा । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । २ हजार २२५ मतदाता भएको उक्त वडामा कुल १ हजार ३७३ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए ।
अमराईको शिवशक्ति र स्वाँराको गोरखकाली आधारभूत विद्यालयलाई मतदान स्थल तोकिएको थियो ।
‘शिवशक्तिमा क र ख गरी दुई मतदान केन्द्र राखेका थियौ,’ रानाभाटले भने, ‘क मा ४६९ र ख मा ४४६ गरी ९१५ मत खसेको छ ।’ उनका अनुसार १ हजार ५०१ मतदातालाई उक्त मतदान स्थल तोकिएको थियो ।
कुल मतदाता ७२४ रहेको गोरखकाली आविको मतदान केन्द्रमा ४५८ मत खसेको छ ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउँदै रानाभाटले आजै मतगणना सुरु हुने जानकारी दिए ।
‘मतपेटिकाहरू संकलन भएपछि सर्वदलिय र सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्छाैं,’ उनले भने, ‘मतगणना स्थल समेत तयार गरिसकेका छौँ ।’
मतगणना स्थलमा तारजाली बारेर सिसिटिभी समेत जडान गरिएको उनले बताए । वडा नम्वर ५ को कार्यालयमा मतगणना स्थल तयार गरिएको उनले बताए ।
यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते निधन भए पश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपचुनाव भएको हो । चुनावमा नौ दलका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ ।
प्रतिक्रिया 4