+
+

तातोपानी भन्सारमा थेगिनसक्नु चिनियाँ ईभी  

आयातकर्ता कम्पनीहरूले लामो समयसम्म भन्सार जाँचपास नगरी यार्डमै गाडी राख्दा गाडीमा माकुराको जालो लागेको अवस्था छ भने पार्किङ स्थलमा घाँस उम्रिएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ मंसिर १६ गते १८:३५

१६ मंसिर, लार्चा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाको लार्चास्थित तातोपानी सुक्खा बन्दरगाहमा अहिले सवा २०० हाराहारी विद्युतीय गाडी (ईभी) थुप्रिएका छन् ।

१० असोज २०७९  देखि पुनः सञ्चालनमा आएको तातोपानी सुक्खा बन्दरगाह मार्फत शून्य निर्यात गरे पनि अर्बौंको ईभी आयात भइरहेको छ ।

विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी मार्फत सञ्चालन भइरहेको उक्त बन्दरगाहमा चिनियाँ ईभी थुप्रिएका छन् ।

आयात गरेर कम्पनीहरूले भन्सार जाँचपास गरेर गाडी शोरुममा नल्याउँदा केही गाडीमा माकुराको जालो लागेको अवस्था छ । गाडी पार्किङ गरिएका ठाउँमा घाँस उम्रिएको छ ।

भन्सार कम्पाउन्डमा राखिएको गाडीमा माकुराको जालो ।

‘आयात गर्ने कम्पनीहरूले भन्सार पास गरेर नलैजाँदा अहिले बन्दरगाहमा सयौंको संख्यामा ईभी थुप्रिन पुगेका छन्’, ट्रान्स सिल्कका तातोपानी भन्सार प्रमुख अनिरुद्र थापा भन्छन् ।

‘हाम्रो काम कम्पनीहरूले ल्याएका गाडी भन्सार कार्यालय मार्फत भन्सार जाँचपास गरेर पठाइदिने हो । कम्पनीहरूले आयात भएको गाडी किन लैजाँदैनन् हामीलाई थाहा हुँदैन । तर, त्यस्तो गाडी धेरै छन्, दिनकै लैजाने ल्याउने भइरहेको हुन्छ’ थापा भन्छन्, ‘केही गाडी लामो समयसम्म पनि आयात गरेर पार्किङमा राख्दा ब्रिगिने डर हुन्छ ।’

भन्सार कार्यालय तातोपानीका अनुसार पछिल्लो समय ईभीको आयात ह्वात्तै बढ्दा यहाँको पार्किङले बन्दरगाह भरिएको छ । ‘यहाँको भन्सार कार्यालय वर्षामा चल्दैन, यसपालि त झन् धेरै समय बाढी र पहिरोले चलेन । अहिले ह्वात्तै ईभी आएका छन्’, थापा भन्छन् ।

तातोपानी भन्सार क्षेत्रमा जाँचपासका लागि राखिएका ईभी ।

भन्सार कार्यालयको तथ्यांक  अनुसार चालु आव कात्तिक मसान्तसम्म १५ अर्ब ८३ करोड ७९ लाख ७ हजार रुपैयाँ बराबर आयात तातोपानी भन्सारबाट भइसकेको छ । जसमध्ये ८० प्रतिशतभन्दा बढी चिनियाँ ईभी छ । निर्यात रकम भने शून्य छ ।

भन्सार कार्यालय प्रमुख कमलदेव भट्टराईका अनुसार तातोपानी सुक्खा बन्दरगाहमा २00 बढी कन्टेनर र २00 साना गाडी अट्ने क्षमता छ ।

तातोपानी भन्सार क्षेत्रमा थुप्रिएका ईभी ।

भन्सारमा थुप्रिएको होइन : नाडा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा पछिल्लो समय चिनियाँ ईभी नेपाल भित्रिने संख्या धेरै भएकाले केही  भन्सारमा रहेको बताउँछन् ।

‘दशैंतिहारका बेला अर्डर गरेका गाडी बीचमा बाढी पहिराले आउन सकेको थिएन, अहिले धमाधम आइरहेको छ । तर, भन्सारमा आएर थन्केको भन्न मिल्दैन, भन्सार पास गरेर ल्याउन समस्या छैन । धमाधम गाडी आइरहेको छ’, गोल्छा भन्छन् ।

उनले ह्वात्तै अर्डर आएका कारण नेपाल भित्र्याउँदा धेरै गाडी बन्दरगाहमा देखिनु स्वाभाविक भए पनि धमाधम भन्सार छुटाएर ल्याइरहेको जानकारी दिए ।

निजी क्षेत्रले व्यवस्थापन गरेकाले सहज : इन्टरमोडल

देशभरि सुक्खा बन्दरगाह व्यवस्थापन जिम्मा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई छ । समितिले लार्चास्थित तातोपानी बन्दरगाह निजी क्षेत्रलाई दिंदा व्यवस्थित भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।

‘आजको अवस्थामा सरकारी व्यवस्थापन थियो भने अहिले थेग्न सक्ने अवस्था छैन । यहाँ ईभीको चाङ छ, कपडा, मल लगायत धेरै सामान अटाएका छन् । निजी क्षेत्रले राम्रो व्यवस्थापन गरेकै कारण राम्रो भएको हो,’ गजुरेल भन्छन् ।

भन्सार पार्किङ क्षेत्रमा राखिएका नयाँ गाडी ।

उनले नेपाली उत्पादन चीनमा लैजान नसक्दा निर्यात शून्य रहेको बताए ।

ट्रान्स सिल्कले १० असोज २०७९ देखि पाँच वर्षका लागि ११ करोड ७० लाख रुपैयाँमा तातोपानी भन्सार बन्दरगाह व्यवस्थापन जिम्मा पाएको थियो ।

‘सुरुमा हामीले ५ करोड न्यूनतम अंक राखेर ठेक्का खोलेका थियौं तर सिल्कले बढीमा लियो, अहिलेको अवस्था हेर्दा राजस्व धेरै उठ्ने देखिएको छ  । यसलाई  पुनः मूल्यांकन गर्नुपर्ने देखिन्छ,’  गजुरेल भन्छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?