
१६ मंसिर, सुर्खेत। दैलेखको महाबु गाउँपालिकामा ५५.४० मात्रै प्रतिशत मत खसेको छ । पालिकाको अध्यक्ष पदका लागि आइतबार भएको मतदान सम्पन्न भकएको छ ।
१२ हजार ६१४ मतदाता रहेको महाबु गाउँपालिकामा ६ हजार ९८९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त मतदानमा ५५.४० प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । जसमा ३ हजार १० पुरुष, ३ हजार ९७९ महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीले जानकारी दिए । उनका अनुसार महाबुमा ९ मतदान स्थल र १६ वटा केन्द्र तोकिएको थियो ।
उनले शान्तिपूर्ण र मर्यादित रुपमा मतदान भएको बताए । मतपेटिका पुगेको खण्डमा राति १० बजे पछि मात्रै मतगणना गर्ने तयारी भएको सलामीले बताए । ‘महाबुका सबै वडाबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘राती १० बजेसम्म मात्रै मतपेटिका आइपुग्ने अनुमान गरेका छौं । त्यसपछि मात्रै सर्वदलीय बैठक बसेर मतगणग शुरु गछौं ।’
महाबुमा नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही र माओवादी केन्द्रबाट जंगबहादुर बरालको उम्मेदवार छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका जगतबहादुर हमालले उम्मेदवारी दर्ता गरेपनि उनले एमाले उम्मेदवार शाहीलाई समर्थन गरिसकेका छन् ।
यस्तै दैलेखकै दुल्लु नगरपालिका–१३,को वडाध्यक्ष पदका लागि भएको मतदानमा ५६.४६ प्रतिशत मात्रै मत खसेको छ । कुल २७ सय ६ मतदाता रहेको ५६.४६ प्रतिशत अर्थात् १ हजार ५२८ मत मात्रै खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
दुल्लु नगरपालिका–१३ मा ६ जना चुनावी मैदानमा छन्। कांग्रेसबाट रेशम बहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय रहेका छन् ।
‘दुल्लु–१३, मा भने अबको केही बेरमा सर्वदलिय बैठक बस्दै छ । त्यस लगतै मतगणना शुरु हुन्छ’ जिल्ला निर्वाचन अधिकृत सलामीले भने ।
प्रतिक्रिया 4