+
+

विद्यार्थीले घाँस काटे पनि पाउनेछन् नम्बर, कहिलेदेखि लागू हुन्छ ?

नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएपछि विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात–तरकारी पकाए, भाइ–बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउने छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८१ मंसिर १७ गते १७:३४
Photo Credit : AI created

१७ मंसिर, काठमाडौं । विद्यार्थीले घरमा काम गरेबापत पनि नम्बर पाउनेभन्दा अनौठो लाग्न सक्छ । तर, पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीले घरमा गरेको कामलाई पनि नम्बर दिनेगरी पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार परिमार्जित पाठ्यक्रम आगामी शैक्षिकसत्र २०८२ देखि कार्यान्वयन गर्ने तयारी छ । नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएपछि विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात-तरकारी पकाए, भाइ-बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन् ।

‘नीतिमा श्रमप्रति सम्मान गर्ने भनिएको छ । तर समाजमा पढेनस् भने हलो जोत्लास्, कोदालो खन्लास् भन्ने भाष्य छ । यो गलत हो,’ महानिर्देशक श्रेष्ठले भने, ‘हलो जोत्नु, खनजोत गर्नु पनि सिप हो । यो सिकाइको स्रोत हो, त्यसैले घरमा काम गरेको आधारमा नम्बर दिइन्छ ।’

श्रेष्ठले थपे, ‘बजारमा किनमेल गर्न गयो भने अर्थको बारेमा जानेको हुन्छ । मानिसँग बोल्न सिकेको हुन्छ ।’

विद्यार्थीले लुगा सिउने र आरनमा काम गर्ने जस्ता जीवनोपयोगी शिक्षा घरमा सिकिरहेको भएमा त्यसलाई पनि आन्तरिक मूल्याङ्कनमा जोडिने छ ।

कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको केन्द्रले जनाएको छ ।

कसरी दिइन्छ नम्बर ?

विद्यार्थीले घरमा गरेको काम शिक्षकलाई रिपोर्ट गर्नुपर्ने हुन्छ । ‘विद्यार्थीले आज यो काम घरमा यति घण्टा गरेर आएँ भनेर शिक्षकलाई भन्नुपर्छ । शिक्षकले रेकर्ड राख्नुपर्छ’ महानिर्देशक श्रेष्ठले भने । विद्यार्थीले शिक्षकलाई रिपोर्ट गरेपछि फेरि शिक्षकले अभिभावकसँग समन्वय गर्ने महानिर्देशक श्रेष्ठ बताउँछन् ।

‘विद्यार्थीले रिपोर्ट गरेर मात्र हुँदैन । शिक्षकले अभिभावकसँग पनि समन्वय गर्नुपर्छ । विद्यार्थीले घरमा काम गरेको अभिभावकबाट पुष्टि भएपछि मात्र शिक्षकले मूल्याङ्कन गरेर नम्बर दिनेगरी मापदण्ड बनाउँछौं,’ महानिर्देशक श्रेष्ठले भने ।

यद्यपि, घरमा गरेको कुन कामलाई कति नम्बर दिने भनेर तय भइसकेको छैन । ‘घरमा गरेको कामलाई कति नम्बर दिने भनेर मूल्याङ्कन निर्देशिका आउँछ । अहिले निर्देशका परिमार्जनको काम भइरहेको छ’ महानिर्देशक श्रेष्ठले भने ।

यसले विद्यार्थीमा घरमा काम गर्ने बानीको पनि विकास हुने उनको भनाइ छ ।

‘घरको कामलाई पढाइसँग जोडौं’

घरमा गरेको कामलाई नम्बर मात्र दिने नभई पढाइसँग जोडिनुपर्ने मत शिक्षा विज्ञहरूको छ । आफूले घरमा गरिरहेको काम कुन विषयसँग सम्बन्धित हो र के पढिरहेको छु भन्ने कुरा विद्यार्थीलाई थाहा हुनुपर्ने बताउँछन् शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला ।

‘घरमा गरेको काममा नम्बर हाल्ने एउटा कुरा भयो । तर विद्यार्थीले के थाहा पाउनु पर्‍यो भने भात पकाउँदै गर्दा मैले विज्ञानको, गणितको यो कुरा पढिरहेको रहेछु भन्ने थाहा पाउनुपर्छ’ उनले भने, ‘भात पकाउँदा विद्यार्थीले चामल र पानीको अनुपात थाहा पाउनुपर्छ । त्यो थाहा पायो भने गतिलो हुन्छ । भात पकायो भनेर नम्बर दियो भने रमाइलो मात्र हुन्छ ।’

चाहे हलो जोत्दा होस् या घाँस काट्दा विद्यार्थीले विज्ञान, गणित, अर्थ, सामाजिक विषयको यो कुरा रहेछ भन्ने थाहा पाउनु पर्ने उनको तर्क छ । ‘नम्बर मात्र होइन उसले गरेको कामलाई पढाइसँग जोडिएको हुनुपर्छ,’ उनले भने ।

पाठ्यक्रम विकास केन्द्रको अवधारणा पनि घरमा गरेको कामलाई पढाइसँग जोड्न खोजिएको बताउँछन् महानिर्देशक श्रेष्ठ । ‘विद्यार्थीमा किताबमा लेखेको मात्र ज्ञान हो । किताबको मात्र जाने पुग्छ भन्ने भयो । बाहिर काम गर्दा पनि ज्ञान पाइरहेको हुन्छ । यसलाई पाठ्यक्रममा जोड्न लागिएको हो,’ उनले भने ।

उनका अनुसार राष्ट्रिय पाठ्क्रम प्रारूप २०७६ मा रहेका विषय कार्यान्वयन गर्न लागिएको हो । प्रारूपमा माध्यमिक शिक्षा उत्तीर्ण भएपछि सिप भएको जनशक्ति तयार हुनुपर्ने भनिएको छ । प्रारूपमा राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान नागरिक तयार गर्ने, संघीय लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध नागरिक र स्वाभिमानी बनाउने भनिएको छ ।

‘विद्यार्थीलाई खुला प्रश्न सोध्छौं । प्रश्नको एउटै उत्तर हुन्छ भन्ने छैन । विद्यार्थीले आफ्नो धेरै तर्क दिनसक्छन् । यसले विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्छ,’ उनले भने, ‘किताबी ज्ञान मात्र हुँदा विद्यार्थीमा बहिरी ज्ञान कम भएको देखियो । त्यसैले खुला प्रश्नको तयारी गरेका हौं ।’

माध्यमिक शिक्षा उत्तीर्ण भएपछि चरित्रवान, नैतिकवान, जिम्मेवार, श्रमप्रति सम्मान गर्ने, सकारात्मक सोच भएको, रोजगार उन्मुख, उत्पादनमुखी, उद्यमशील, सिपयुक्त सामाजिक सद्भाव कायम गर्ने, राष्ट्रिय एकतामा सहयोग गर्ने, सम्पदा संरक्षण, दिगो विकासमा सहयोग गर्ने जनशक्ति उत्पादन गर्ने भनिएको छ ।

त्यसैगरी सामाजिक सांस्कृतिक विविधतालाई सम्मान गर्ने, अनुसन्धानमुखी, जीवनोपयोगी सिप, समालोचनात्मक चिन्तन, कला संस्कृतिको संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने, आईसीटी प्रयोग गर्न सक्ने, नेपालको इतिहास र भूगोलको ज्ञान भएको जनशक्ति तयार गर्नुपर्ने भनिएको छ ।

यी सबै क्षमतालाई मूल्याङ्नसँग जोड्न लागिएको केन्द्रले जनाएको छ । ‘प्रारूपमा छ तर कार्यान्वयन भएको छैन । यी सबै विषलाई विद्यार्थीको सिकाइसँग जोड्न र पारूपलाई कार्यान्वयन गर्न खोजेका हौं,’ महानिर्देशक श्रेष्ठले भने ।

विद्यार्थीलाई अब खुला प्रश्न

पाठ्यक्रम विकास केन्द्रले तीन घण्टाको परीक्षा मात्र पूर्ण नहुने भन्दै विद्यार्थीलाई खुला प्रश्न सोध्ने गरी पाठ्यक्रम र मूल्याङ्कन मापदण्ड बनाउने तयारीसमेत गरेको छ । यसले विद्यार्थीमा आलोचनात्मक चेतको विकास हुने निचोड केन्द्रको छ । विद्यार्थीमा अतिरिक्त क्षमताको विकास गर्ने योजना केन्द्रको हो ।

‘विद्यार्थीलाई खुला प्रश्न सोध्छौं । प्रश्नको एउटै उत्तर हुन्छ भन्ने छैन । विद्यार्थीले आफ्नो धेरै तर्क दिनसक्छन् । यसले विद्यार्थीमा आलोचनात्मक चेतको विकास गर्छ,’ उनले भने, ‘किताबी ज्ञान मात्र हुँदा विद्यार्थीमा बहिरी ज्ञान कम भएको देखियो । त्यसैले खुला प्रश्नको तयारी गरेका हौं ।’

अहिलेको नयाँ परिवेशमा कस्तो जनशक्ति आवश्यक छ र त्यसका लागि कस्तो पाठ्यक्रम बनाउने भनेर पनि केन्द्रले विज्ञसँग राय सुझाव लिने भएको छ । सरकारी क्षेत्रमा वा निजी क्षेत्रमा कस्तो जनशक्ति आवश्यक छ भनेर सो क्षेत्रका व्यक्तिहरूसँग केन्द्रले छलफल गर्ने भएको छ ।

महानिर्देशक श्रेठका अनुसार जनशक्ति खपत हुने क्षेत्रका सरोकारवाला निकायसँग केन्द्रले छलफल गर्दैछ । ‘सबै निकायसँग छलफल गर्छौं । उहाँहरूबाट आएको सुझावलाई समेटेर पाठ्यक्रम बनाउँछौं,’ महानिर्देशक श्रेष्ठले भने ।

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?