+
+

भूपेन्द्राका अधुरा प्रतिबद्धता नरपुराको काँधमा

पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि नरपुराले गाउँपालिका उपाध्यक्ष लड्नुपर्ने र जितेर जिम्मेवारी लिनुपर्ने परिस्थिति भने बाध्यताले आइलागेको हो ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ मंसिर १७ गते २२:३२

१७ मंसिर, बुटवल । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो जित जोगाएको छ ।

पालिका उपाध्यक्ष पदमा भएको उपचुनावमा माओवादीकी उम्मेदवार नरपुरा बुढा मगरले फराकिलो जित निकालेकी हुन् । नरपुराले ३६२७ मत ल्याएर उपाध्यक्ष जित्दा सत्तारुढ गठबन्धनकी केशकुमारी तुलाचनले २१२८ मत मात्र पाइन् ।

अर्थात् माओवादीलाई हराउने नेपाली कांग्रेस र नेकपा एमाले नेताहरुको चाहना पुरा हुन सकेन । बरु एमाले जिल्ला उपसचिव तुलाचनले रुख चिन्हमा उम्मेदवारी दिएपछि आलोचना खेप्नुपर्‍यो ।

तुलाचनले माओवादीलाई हराउनकै निम्ति गठबन्धनबाट आफू साझा उम्मेदवार बन्नु परेको बताएकी थिइन् । एमाले नेता तुलाचनले रुख चिन्ह लिएर चुनावमा भाग लिदा माओवादी उम्मेदवार हराउन सकिने स्थानीय नेताहरूको बुझाइ थियो ।

जबकी ०७९ मा कांग्रेस र एमाले उम्मेदवारले ल्याएको मत जोड्दा पनि माओवादीसँग बराबर हुँदैनथ्यो । माओवादी उम्मेदवार भूपेन्द्रा बुढाले ४०५९ मत ल्याएर जित्दा कांग्रेसकी कमलाकुमारी मल्लले २०१० र एमालेका धर्म घर्ती बुढाले १८१२ मत पाएका थिए । कांग्रेसको मल्ल र एमालेका बुढाले ल्याएको मत जोड्दा ३८२२ हुन्थ्यो ।

यो भनेको माओवादीकी बुढाले ल्याएको भन्दा २५९ मतले थोरै हो । यही हिसाबले यसपटक कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । तर नरपुराले १४९९ मतान्तरले जितिन् ।

आइलागेको जिम्मेवारी
पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि नरपुराले गाउँपालिका उपाध्यक्ष लड्नुपर्ने र जितेर जिम्मेवारी लिनुपर्ने परिस्थिति भने बाध्यताले आइलागेको हो ।

यदि गत २८ भदौको दुर्घटना हुँदैनथ्यो भने यहाँ उपचुनाव नै हुने थिएन । ०७९ को स्थानीय चुनाव जितेका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा नै पदमा बहाल हुन्थिन् ।

तर काठमाडौंमा आमाको उपचार गराएर फर्किरहेका भूपेन्द्रा चढेको गाडी बाग्लुङमा दुर्घटनाग्रस्त बन्यो । त्यो गाडीमा भूपेन्द्रा, उनकी आमा गोपीमाया र २ नम्बरका वडाध्यक्ष जसबहादुर शेर्पाली सहितको मृत्यु भयो ।

त्यो दुर्घटनाकै कारण पालिका उपाध्यक्ष र २ नम्बर वडाध्यक्षका निम्ति १६ मंसिरमा उपचुनाव गर्नु पर्‍यो । र, माओवादीले भूपेन्द्राकै दिदी नरपुरालाई उम्मेदवार बनाउने निर्णय लियो ।

माओवादीले नरपुरा बुढालाई नै उम्मेदवार बनाउनुमा पनि सत्तारुढ कांग्रेस र एमालेको निर्णय कारण थियो । किनकि मनोनयन दर्ताका दिनसम्म माओवादीबाट ज्ञानदेवी पुन उम्मेदवार बन्ने लगभग पक्का थियो ।

ज्ञानदेवीको प्रचारमा माओवादी पंक्ति लागिसकेको थियो ।

तर कांग्रेस–एमालेबाट केशकुमारी साझा उम्मेदवार बनेपछि दबाबमा परेको माओवादीले भूपेन्द्राकै सहोदर दिदीलाई अगाडि बढाउने निर्णय लियो, उम्मेदवार फेरियो । यसरी एउटा परिबन्धले पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष बन्न पुगिन्, नरपुरा बुढा ।

उपाध्यक्षमा जनअनुमोदन हुनुअघिसम्म ४२ वर्षीया नरपुरा सामाजिक काममै व्यस्त थिइन् । रुकुमकोटस्थित रुक्मिणी माविबाट प्लस टुसम्म गरेकी उनी ६ वर्षदेखि साना किसान सहकारी संस्थाकी अध्यक्ष थिइन् ।

पति वैदेशिक रोजगारीमा रहेकाले तीन छोरा र एक छोरीको जिम्मेवारी उनकै जिम्मेवारीमा थियो ।

सहकारीबाट चिनिएकी, महिला स्वंयसेविका भएर कामको अनुभव लिएको, राजनीतिक पृष्ठभूमि रहेको र भूपेन्द्राकै दिदी भएकाले पनि नरपुरालाई माओवादीले अगाडि बढाउने निर्णय लियो ।

र, उपचुनाव जितेर नरपुरा बनिन्, पालिका उपाध्यक्ष । यो जितसँगै उनको परिवारमा राजनीतिक जिम्मेवारी लिने तेस्रो व्यक्ति बन्न पुगेकी छन् । नरपुराका बुवा कृष्णबहादुर बुढा पञ्चायतमै प्रधानपञ्च थिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?