
१८ मंसिर, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला गरेका छन् । पार्टी केन्द्रको इच्छा विपरीत हुने गरी कोइरालाले गृहनगरमा शक्ति परीक्षण गरेका हुन् ।
पार्टीले २२ मंसिरमा प्रदेश सम्मेलन आयोजना गरेको चार दिन अघि कोइरालाले पालिका सभापतिहरूलाई डाकेका हुन् । प्रदेशले सम्मेलनको मिति तोकेपछि कोइराला समूहले पालिका सभापतिहरूको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको संस्थापन पक्षको बुझाइ छ ।
तर, भेलामा बोल्ने क्रममा नेता कोइरालाले कार्यक्रम धेरै पहिले तय भएकाले कोही तर्सनु नपर्ने बताए । कोइराला पक्षीय केन्द्रीय सदस्य राजीव कोइरालाले केन्द्रले भेला नगर्नु नभनेका कारण कार्यक्रम राखिएको बताउँछन् ।
भेलाको अघिल्लो दिन (सोमबार) केन्द्रीय समितिले २२ मंसिरअघि कुनै कार्यक्रम नरहेको पालिका सभापतिहरूलाई सर्कुलर गराएको थियो । प्रदेशका १३७ वटै पालिकालाई निम्तो गरिएको थियो । ती मध्ये ११३ जना सहभागी भएको कोइराला पक्षको दाबी छ । तर संस्थापन पक्षका एक नेताले भने आजको भेलामा जम्मा ६० जना सभापति मात्रै उपसस्थित भएको बताए ।
भेलामा सहभागी हुन भनी विराटनगर पुगेका महानगरका चार सभापति (ललितपुर, वीरगञ्ज, भरतपुर र पोखरा सभापतिहरू) भने केन्द्रको पत्रपछि कार्यक्रममा सहभागी भएनन् । मंगलबार बिहान शेखर कोइरालालाई उनको निवासमा भेटेका थिए । विराटनगरका सभापति दीपक चापागाईं आयोजक बनेका थिए । काठमाडौं महानगर सभापति निलकाजी शाक्य भने भेलामा सहभागी थिए ।
भेलामा कोइराला समूहबाट पालिकामा जितेका सभापति र पदाधिकारीहरू सबै सहभागी छन् । कोशी प्रदेशमा कोइराला समूहका ६०–६१ पालिका सभापतिहरू छन् । पालिका सभापतिहरूलाई अधिकार दिनसके मात्रै पार्टीलाई बलियो बनाउन सकिने कोइरालाको तर्क थियो । संस्थापन पक्षको रोक्न चाहेको कार्यक्रममा पालिका सभापति सहभागी हुने/नहुनेमा अन्योलमा थिए ।
सहभागीहरू प्रति पार्टी केन्द्रले डर धम्की देखाउन सक्ने संकेत गर्दै कोइरालाले डर धाक धम्कीबाट नडराउन आग्रह गरे । पालिका सभापतिहरूलाई आवश्वस्त पार्दै भने, ‘कुनै किसिमको डर, धाक, धम्कीबाट आत्तिनुभएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’ गुटले गर्दा राम्रा र दुःख गर्ने मान्छे टाढा भएर टिकट प्राप्त नगर्ने समस्या रहेको सुनाएका कोइरालाले १५औं महाधिवेशनपछि गतल कार्य हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
पालिका सभापतिहरू भेला गरेर कोइरालाले पार्टी नेतृत्वलाई महाधिवेशनका लागि दबाब पुर्याउने संकेत समेत गरेका छन् । १५औं महाधिवेशन नियमित समयमा हुँदा २०८३ को मंसिरमा हुनुपर्दछ । नियमित समयमा महाधिवेशन नहुने आशंका कोइरालाले राखे । महाधिवेशन नियमित समयमा नहुने आशंका राख्दै कोइरालाले भने, ‘क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ । यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन ।’
भेलामा कोइराला पक्षका केन्द्रीय नेताहरू पनि सहभागी भएका थिए । कोइराला पक्षका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई देखाएर निषेधको राजनीति नगर्न आग्रह गरे । पार्टीलाई मजबुत बनाउन जुनसुकै कार्यक्रमलाई निषेध गर्न नहुने उनको विचार थियो ।
भेलालाई नेता गुरुराज घिमिरेले पार्टीको सुदृढीकरणका लागि आयोजित कार्यक्रम रोक्नका लागि संस्थापन पक्षले कारबाहीको धम्की दिएको गुनासो गरे । वर्तमान पार्टी नेतृत्वले पार्टी एकजुट बनाउन नसकेको केन्द्रीय सदस्य सरिता प्रसाईंको गुनासो थियो । भेलामा बोल्ने कतिपयले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व कोइरालाले लिनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया 4