
काठमाडौं । युवापुस्ताका चर्चित गायक एकदेव लिम्बुको नयाँ गीत ‘झिम झिमाउने आँखा’ले रिलिजको ४ दिनमै विश्वब्यापी लोभलाग्दो सफलता प्राप्त गरेको छ । यो गीत युट्युवको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ ।
बुधबार नेपालसहित अष्ट्रेलिया, युएई, बेलायत र कतारमा पनि युट्युव ट्रेन्डिङमा छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा, युट्युवले बुधबार सार्वजनिक गरेको संसारमै उत्कृष्ट दैनिक धेरै हेरिएका सय म्युजिक भिडियोको ‘ग्लोबल हन्ड्रेड युट्युव चार्ट्स’को ९७ औं स्थानमा छ ।
बुधबार मात्रै यो नेपाली गीत उक्त चार्ट्समा प्रवेश गरेको थियो । विदेशी मुलुकमा समेत ट्रेन्डिङमा भएकाले यो गीत चार्टबस्टरको माथि उक्लिन सक्ने अनुमान छ । बेलायतको चार्टबस्टरमा ९३ औं स्थानमा छ । अष्ट्रेलिया र युएईमा ३ दिनदेखि लगातार ट्रेन्डिङमा छ । युएईमा मंगलबार ४७ स्थानमा थियो भने उक्लिएर बुधबार ४२ औं स्थानमा छ ।
लिम्बुको शब्द, गायन र संगीत रहेको गीतलाई बुधबारसम्म २६ लाखभन्दा धेरै पटक हेरिएको छ । गीतको भिडियोमा लिम्बुसहित दिकिला शेर्पा र उपासनासिंह ठकुरीको अभिनय छ ।
रोचक कुरा के भने, उपासनाले अभिनय गरेको फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा डेढ महिना स्ट्रिमिङ हुँदै रेकर्ड राखिसकेको छ । उपासना अभिनित गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा परेको यो दोस्रोपटक हो ।
प्रतिक्रिया 4