नवविवाहित महिलालाई सबैभन्दा बढी सताउने समस्या हो पिसाब संक्रमण । यो समस्या लिएर अस्पतालको मूत्ररोग विभागको ओपीडी आउने प्रायजसो नवविवाहित महिला नै हुने गर्छन् ।
नेपालमा मात्र होइन, विश्वव्यापी रुपमै ५० प्रतिशत महिलामा यो समस्या हुने देखाउँछ । यो समस्यालाई विज्ञले हनिमुन सिस्टाइटिस नाम दिएका छन् । यो समस्या यौनक्रियाको कारण हुनसक्छ ।
कसरी ?
महिला पहिलेबाट नै पिसाब संक्रमणको जोखिममा हुन्छन् । किनकि महिलाको पिसाबनली तीनदेखि चार सेन्टिमिटरको एकदमै छोटो हुन्छ, जुन पुरुषको तुलनामा चार गुणा सानो हो ।
पिसाब संक्रमण गराउने किटाणु शरीरको छालामा टाँसिएर वा दिसामा रहेका हुन्छन् । मलद्वार र योनीको अन्तर पनि निकै कम भएका कारण ती कीटाणु सहजै पिसाबनलीमा जान सक्छन् । यस्तोमा भर्खरै विवाह गरेका दम्पतीलाई यौनक्रिया र त्यसपछिको सरसफाइमा ध्यान दिनुपर्छ भन्ने हेक्का नहुन सक्छ ।
ध्यान नदिंदा यौनक्रियाको समयमा मलद्वारको वरपरको छालामुनि रहनसक्ने इकोलाई कीटाणु मूत्रनली हुँदै पिसाबथैलीमा पुग्न सक्छ । यौन सम्बन्ध राखेपछि योनाङ्ग सफा नगर्ने र पिसाब नगरी सुत्ने महिलामा पिसाब संक्रमण हुनसक्छ । पहिला नै पिसाब संक्रमण भएका महिलामा यो जोखिम बढी हुन्छ ।
भर्खैरै यौनक्रिया सुरु गरेका मात्र नभई लामो अन्तरपछि पुनः यौन सम्बन्ध राख्दा पनि पिसाब संक्रमणको जोखिम बढी हुन्छ ।
कति साझा समस्या हनिमुन सिस्टाइटिस ?
यौन जीवनमा सक्रिय २० देखि ३० वर्षसम्मका ५० प्रतिशत महिलाले जीवनमा कम्तीमा पनि एकपटक हनिमुन सिस्टाइटिसको समस्या झेलेकी हुन्छिन् । यद्यपि चार प्रतिशत महिलामा मात्र मूत्रथैली संक्रमण हुन्छ । त्यस्तै, यौनमा सक्रिय नभएका महिलालाई पनि ५० वर्षको उमेरपछि पिसाब संक्रमण जोखिम हुनसक्छ ।
पिसाब संक्रमणको लक्षण
– तल्लो पेट दुख्ने
– पिसाब गर्दा पोल्ने
– पिसाब आएको जस्तो हुने तर अड्किएर थोरै आउने
– पिसाब गर्न बल लगाउनुपर्ने
– पिसाब चुहिने
– पिसाबको संक्रमण भएको अवस्थामा कहिलेकाहीं पिसाबमा रगत समेत देखिन सक्छ ।
पहिचान तथा उपचार
पिसाबको परीक्षणबाट संक्रमण भए नभएको पत्ता लाग्छ । पटक-पटक संक्रमण भए महिलाको अल्ट्रासाउन्ड परीक्षण गरिन्छ । यसमा मिर्गौला र मिर्गौलाको नली (युरेटर) ठीक छ कि छैन भनेर हेर्ने गरिन्छ । संक्रमण भए चिकित्सकको सल्लाहमा संक्रमणविरुद्ध औषधि खाएर निको हुन्छ ।
जटिलता
पिसाब संक्रमणको उपचार बेलैमा नगरे पेटसम्बन्धी धेरै रोग उब्जिन सक्छन् । पिसाबथैली संक्रमण भइसकेपछि यसबाट संक्रमण फैलिएर पिसाबनली हुँदै मिर्गौलासम्म पुग्छ । पिसाबथैलीको संक्रमणले मिर्गौलासम्म असर गर्दा मिर्गौला सुन्निन्छ । मिर्गौला पनि संक्रमण हुन्छ ।
मिर्गौला संक्रमण भएमा अत्यधिक ज्वरो पनि आउन सक्छ । पिसाब पोल्नु, छिनछिनमा पिसाब लाग्ने, थोरै पिसाब आउने, तल्लो पेट भारी हुने, दुख्ने वाकवाक लाग्ने, बान्ता हुने ज्वरो आउने खुलेर पिसाब नआउने, अलिअलि गर्दै पिसाब आउने गर्न सक्छ ।
कसरी बच्ने ?
– पर्याप्त पानी खाने
– पिसाब आउने बित्तिकै गर्ने
– यौन सम्बन्ध राखेपछि पिसाब गर्ने । यसो गर्दा पिसाबनलीमा कीटाणु पुगेमा पिसाबमार्फत बाहिरिन्छ ।
– दिसा पिसाब गरेपछि सफा गर्ने । सफा गर्दा योनीतर्फबाट सफा गरी मलद्वारतर्फ लगेर पखाल्ने वा पुछ्ने ।
प्रतिक्रिया 4