+

लगातार तीन खेल जितेर लयमा जनकपुर बोल्ट्स, के हो सफलताको राज ?

२०८१ मंसिर  २० गते २०:४७ २०८१ मंसिर २० गते २०:४७
लगातार तीन खेल जितेर लयमा जनकपुर बोल्ट्स, के हो सफलताको राज ?

२० मंसिर, काठमाडौं । तीन खेल, तीन जित, अपराजित अनि ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा । जनकपुर बोल्ट्सको नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिलेसम्मको खेलको र नतिजाको विवरण हो यो ।

जनकपुरले खेलेको तीनवटै खेलमा एकपक्षीय रूपमै जित हासिल गर्दै लय कायम राखेको छ । उद्घाटन खेलमै विराटनगरलाई ८ विकेटले पराजित गर्दै सुखद सुरूवात गरेको जनकपुरले त्यसलाई तेस्रो खेलसम्म कायम राखेको छ ।

दोस्रो खेलमा पनि कर्णाली याक्सलाई ८ विकेटले नै पराजित गरेको जनकपुरले बिहीबार तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो ।

जनकपुरले बलिङमा राम्रो प्रदर्शन गरिरहेको छ भने ब्याटिङमा ओपनर र टप अर्डरले राम्रो खेल्दा जित सहज बनिरहेको छ ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरको कप्तानी अनिल शाहले गरिरहेका छन् । मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके छन् ।

सिनियर टिमसँग सँगै खेलिरहेका अनिल र आसिफसहित स्पीनर ललित राजवंशी अनी अष्ट्रेलियाबाट एनपीएल खेल्न आएका मिडियम पेसर किशोर महतोले राम्रो खेलिरहेका छन् ।

त्यसबाहेक विकेटकिपर ब्याटर लाहिरु मिलान्थाले विकेट र टप अर्डर सम्हालिरहेका छन् भने मिडल अर्डरमा पनि विदेशी खेलाडीहरु हर्श थाकर देखि टेष्ट राष्ट्रिय न्युजिल्यण्डका चर्चित अलराउण्डर जिम्मी नीशमले योगदान गरिरहेका छन् ।

यस बाहेक अर्का विदेशी खेलाडी मोहम्मद मोहसिनले स्पीनमा ललितलाई राम्रो साथ दिएका छन् । समग्रमा टिम इफोर्ट राम्रो देखिएको छ । लिग अघि ठिकठाक टिम देखिएपनि अहिलेसम्म जनकपुरले सबैलाई पछि पारेको छ । जनकपुरबाहेक सुदूरपश्चिम रोएल्स र चितवन राइनोजले पनि लगातार दुई खेल जितेर अपराजित छन् ।

लगातार तेस्रो खेल जितेपछि पोष्ट म्याच कन्फ्रेन्समा आएका जनकपुरका बलर ललित राजवंशीले टिममा सबै जना एक आपसमा घुलमिल हुने र सबैले मोटिभेट गरेकोले राम्रो नतिजा आएको बताए ।

‘सबै युवा छन् । मैदान भित्र र बाहिर पनि सहयोग गरिरहेकोको हुन्छ । विदेशी खेलाडीले पनि एक अर्कालाई मोटिभेट गरिरहेको छ । त्यसले गर्दा पनि नतिजाहरू राम्रो आइराछ’ उनले भने ।

यस्तै प्रशिक्षक पुबुदु दासानायकेले पहिले पनि नेपालमा काम गरिसकेको र उनलाई टिमको विदेशी र स्वदेशी सबै खेलाडीबारे जानकारी रहेकोले फाइदा भएको ललितले बताए । ‘पुबुदले  पहिला पनि हामीसँग काम गरिसक्नुभाछ । उहाँलाई विदेशीदेखि नेपालको लगभग सबै खेलको बारेमा नलेज छ । र उहाँले त्यही अनुसार योजना बनाउनु हुन्छ । त्यसले गर्दा हामीलाई सजिलो हुन्छ ।’ सफलताको अर्को कारण ललितले खुलाए ।

जनकपुरका कप्तान अनिल शाहले बिहानको कन्डिसनमा टस जित्नु महत्वपूर्ण रहेको बताए । अनिलले नेपाली खेलाडी र विदेशीहरू सबैले राम्रो प्रदर्शन गरिरहेको बताए ।

नीशमको अलराउण्ड प्रदर्शन

न्युजिल्याण्डका चर्चित अलराउण्डर नीशमले काठमाडौं आएपछि खेलेका दुवै खेलमा राम्रो प्रदर्शन गरेका छन् । ब्याटिङ र बलिङ दुवैमा उनको उत्तिकै योगदान छ ।

बिहीबार पोखरा विरूद्ध उनै नीशमले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गर्द जनकपुरलाई जित दिलाउन सहयोग गरे ।

पाचौँ नम्बरमा आएका नीशमले आफ्नो नाम अनुसार काम गरे । उनले २० बल खेल्दै अविजित ४० रन बनाए । त्यमसा ५ छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि हर्श थाकरसँग अविजित ४९ रनको साझेदारी गरे । चौथो नम्बरमा आएका हर्शले १४ बलमा अविजित १३ रन जोडे ।

यसअघि कर्णाली विरुद्ध दोस्रो खेलमा नीशम चौथो नम्बरमा आएर अविजित १६ रनको योगदान गरेका थिए । जहाँ हर्शले ब्यटिङ नै गर्नुपरेन ।

पोखरा विरुद्ध भने फेरि हर्श चौथो नम्बरमा आउँदा नीशम पाँचौ नम्बरमा क्रिजमा आए ।

त्यसअघि पोखराविरुद्ध बलिङमा पनि नीशमले चार ओभर कोटा नै गरेका थिए । किशोर महतोसँगै नयाँ बल बलिङ गरेका उनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अघिल्लो खेलमा कर्णाली विरुद्ध पनि ४ ओभर बलिङ गर्दा उनले १ विकेट लिएका थिए भने ३७ रन खर्चेका थिए ।

भारतीय स्टार शीखर भवन देखि न्युजिल्याण्डकै मार्टिन गप्टिल पाकिस्तानका भेट्रान सोहेल तनविर जस्ता खेलाडीहरू नेपाल आएर एनपीएल खेलिरहेका छन्  ।बलिऽमा तनविरले जादु देखाइरहेका छन् । यसैगरी नीशमले अलराउण्डर प्रदर्शन गरिरहेका छन् । त्यसैको नतिजा उनी पोखरा विरुद्ध बिहीआर प्लेअर अफ दि म्याच नै बने । तनविर र नीशम बाहेक अन्य केही विदेशी स्टारले पनि राम्रो खेलिरहेका छन् । टेष्ट बाहेक एसोसिएट राष्ट्र स्कटल्याण्डका अलराउण्डर ब्राण्डन म्याकमुलेन पनि सुदूरपश्चिमका लागि राम्रो योगदान गरिरहेका छन् ।

अगाडि मिलान्था र ललित

जनकपुर टिम मात्रै अंकतालिकामा शीर्ष स्थानमा छैन उसका खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । खेलाडी, कोचिङ स्टाफ देखि टिम म्यानेजमेन्ट सबैले एकजुट भएर ‘टिम वर्क’ मा गर्दा जनकपुरले राम्रो नतिजा निकालिरहेको छ ।

जनकपुरका ओपनर ब्याटर तथा विकेटकिपर लाहिरु मिलान्था सर्वाधिक रन बनाउनेमा अगाडि छन् । उनले ३ खेलमा एक अर्धशतकसहित १४४ रन बनाइसकेका छन् । पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ७५ रन बनाएर प्लेअर अफ दि म्याच बनेका उनले दोस्रो र तेस्रो खेलमा पनि राम्रो प्रदर्शन गरे । दोस्रो खेलमा कर्णाली विरुद्ध २४ रन बनाएका उनले तस्रो खेलमा पनि टिमका लागि सर्वाधिक ४५ रन बनाए । तर अर्शधतक बनाउनबाट भने थोरैले चुके ।

मिलान्था तेस्रो खेलमामाइकल लिस्कको बलमा सागर ढकाबाट क्याचआउट भएका थिए । यसबाहेक जनकपुरका कप्तान अनिल शाहले पनि अर्धशतक प्रहार गरेका छन् । अनिलले ३ खेलमा ६८ रन बनाएका छन् । आसिफ शेखले ६९ रन बनाएका छन् । आसिफको उच्चको स्कोर ३६ रन हो । जुन उनले दोस्रो खेलमा कर्णाली विरुद्ध बनाएका थिए । पहिलो खेलमा शुन्यमा आउट भए आसिफले तेस्रो खेलमा पोखरा विरुद्ध ३३ रन जोडेका थिए ।

यस्तै बलिङतर्फ ललित राजवंशीले ३ खेलमा ७ विकेट लिएका छन् । हरेक खेलमा ललितले महत्वपूर्ण विकेट लिँदै आएका छन् । ललितले पहिलो खेलम विराटनगर विरुद्ध ३ विकेट लिएका थिए भने तेस्रो खेलमा पोखरा विरुद्ध पनि ३ विकेट नै लिए । दोस्रो खेलमा कर्णाद्यी विरुद्ध भने १ विकेट लिएका थिए ।

सर्वाधिक विकेट लिने सूचीमा ललित चितवन राइनोजमा भेट्रान लेफ्ट आर्म मिडियम पेसर सोहेल तनविर भन्दा १ विकेटले मात्र पछि छन् । तनविरले दुई खेलमा ८ विकेट लिइसकेका छन् । उनी एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर समेत हुन् । तनविरले एक खेल कम खेलेका छन् ।

अब ललितको नजर आफ्नो टिमलाई जिताउने अनी व्यक्तिगत रूपमा पनि सर्वाधिक विकेट लिनेमा छ । तर उनले टिमको प्रदर्शनलाई जोड दिने बताएका छन् । ‘विश्वास छ, उच्च विकेटकर्ताको सूचीमा हुन्छु भनेर । तर, आगामी खेल कस्तो हुन्छ त्यसमा भर पर्नेछ ।’

यस्तै जनकपुरका अन्य बलरहरूमा मोहम्मद मोहसिनले ४ तथा किशोर महतो र जिम्मी नीशमले समान ३ विकेट लिएका छन् ।

जनकपुरले अब आउने आइतबार राप्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्ससँग आफ्नो चौथो खेल खेल्नेछ । त्यसपछि बुधबार सुदूरपश्चिम रोएल्स र बिहीबार काठमान्डु गुर्खाजसँग प्रतिस्पर्धा गर्नेछ भने र अर्को साता शनिवार चितवन राइनोजसँग लिगको अन्तिम खेल खेल्नेछ ।

नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय