+

गौसको शतकमा पोखराको पहिलो जित, कीर्तिमानको वर्षा

२०८१ मंसिर  २१ गते १६:०० २०८१ मंसिर २१ गते १६:००
गौसको शतकमा पोखराको पहिलो जित, कीर्तिमानको वर्षा

२१ मंसिर, काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो । पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो ।

एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतक बनाएका हुन् ।उनले अविजित १०४ रन जोडे ।

यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

पोखराका अमेरिकन विकेट किपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीमा पनि आफ्नो नाम दर्ज गरे । उनले २० बलमै ५ चौका  र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी हो भने समग्रमा तेस्रो शतकीय साझेदारी हो । यसअघि पहिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्सविरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

यसैगरी गौस र दिनशले पहिलो विकेटका लागि गरेको साझेदारी एनपीएलकै उच्च साझेदारी समेत हो । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र  हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।

गौस र दिनेशले त्यो साझेदारीको कीर्तिमान तोडेका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।

अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके । अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए ।

यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे । रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे ।

दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट भएपछि रोहित र मुर्सले इनिङ्स सम्हालेका थिए । सन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए ।

पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिए ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय