
२२ मंसिर, पाटन (ललितपुर) । ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
महानगरका प्रतिनिधिसहित मुस्ताङ पुग्नुभएका नगरप्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् ।
घरपझोङ गाउँपालिकाको पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बताए ।
समझदारीपत्रमा हस्ताक्षरपछि मेयर महर्जनले सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए ।
‘प्रकृतिले यस पालिकालाई अमूल्य वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रूपमा जोडिने छौँ’, उनले भने ।
महानगरप्रमुख महर्जनले विना ‘टेन्डर’ महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने पनि बताए ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए ।
आफ्नो निमन्त्रणालाई स्वीकार गरेर महानगरप्रमुख सहितको प्रतिनिधिमण्डल पालिकामा आएर भगिनी सम्बन्ध स्थापित गर्न पाएकामा खुसी व्यक्त गरे ।
ललितपुर महानगरका प्रवक्ता एवं वडा नं ९ का वडाअध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरूपता रहेको बताए ।
विसं २०७३ को स्थानीय निर्वाचनअघि मुस्ताङ जिल्ला साबिकका मार्फा, टुकुचेको दुईवटा वडा र जोमसोस गाउँ समितिलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको थियोे ।
यो गाउँपालिकामा पाँचवटा वडा छन् । तथ्यांक अनुसार यहाँ तीन हजार एक सय ८४ जनसंख्या छ ।
प्रतिक्रिया 4