२३ मंसिर, काठमाडौं । गण्डकी प्रदेशले सुरुवाती दुई सेटमा उत्कृष्ट प्रदर्शन गरेपछि काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो खेलमा हार व्यहोरेको छ ।
शनिवार भएको दोस्रो खेलमा गण्डकी माल्दिभ्सको क्लब एचडिसीसँग ३-२ को सेटमा पराजित भयो । एचडिसीले दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो ।
गण्डकीले पहिलो सेट २५-१८ र दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो ।
त्यसपछि एचडिसीले पुनरागमन गर्दै बाँकी तीन सेट २५-२३, ३०-२८ र १५-१३ ले जित्दै खेल जितेको छ ।
जितपछि एचडिसीले २ अंक जोड्दा गण्डकीले पनि १ अंक जोड्यो । उद्घाटन खेल पनि पाँच सेटसम्म पुग्दा नेपालकै हेल्प नेपाल स्पोर्ट्स क्लबले भारतको क्यलिकट हिरोजलाई ३-२ सेटमा पराजित गरेको थियो ।
च्याम्पियनसिपमा आज पनि दुई खेल हुनेछ । दिउँसो हुने खेलमा नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै साँझ ५ बजे हुने खेलमा इरानको क्लब र माल्दिभ्सको क्लब एचडिसीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4