+
+

हेटौंडा उपमहानगरले बागमती प्रदेश विश्वविद्यालयलाई जग्गा दिने

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८१ मंसिर २३ गते १४:०५

२३ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बागमती प्रदेश विश्वविद्यालयको भवन निर्माणका लागि बजार क्षेत्रबाट पूर्वतर्फ हटियामा जग्गा उपलब्ध गराउने भएको छ ।

प्रशासनिक भवन निर्माण गर्न जग्गा खोजिरहेको विश्वविद्यालयलाई उपमहानगरले १७ नम्बर वडाको हटियामा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

हेटौंडा उपमहानगरको ५७ औं कार्यपालिका बैठकले विश्वविद्यालयलाई बालबोध माविको नाममा दर्ता रहेको कित्ता नं. ५१० को जमिन उपभोग गर्न दिने निर्णय गरेको उपमहानरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्धगराउने सम्बन्धी कार्यनीति, २०७९ को दफा (४) बमोजिम हेटौंडा–१७ स्थित बालबोध माविको जग्गामा विश्वविद्यालयको भवन निर्माण कार्य अगाडि बढाउन सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र सम्बन्धित वडा कार्यालयले कार्यपालिकामा सिफारिस गरेको थियो ।

हेटौंडाको बजार क्षेत्रबाट करिब २० किलोमिटर पूर्वतर्फ रहेको बालबोध मावि हेटौंडा–धरान–चतरा सडकसँग जोडिएको छ ।

धरान–चतरा र निजगढ–काठमाडौं दु्रतमार्गको पहुँच आदि कुराले हटिया उपयुक्त हुने भएकोले विश्वविद्यालयको भवन निर्माणका लागि उपमहानगरसँग पत्राचार भएको थियो । यसअघि प्रादेशिक विश्वविद्यालयका लागि हेटौंडा–११ को राप्ती नदीउकास क्षेत्रमा जग्गा खोजी गरिएको थियो ।

गतवर्ष पुस २०८० मा बागमती सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको थियो । प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा मकवानपुर बहुमुखी क्याम्पसलाई विकास गरी प्रादेशिक विश्वविद्यालय बनाउने निर्णय गरेको तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका थिए ।

नेपालको संविधान–२०७२ को अनुसूची–६.८ मा प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन, स्थापना र सञ्चालन गर्न पाउने व्यवस्था छ । सोही संविधानको जगमा निर्माण भएको ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ अनुसार प्रादेशिक विश्वविद्यालय स्थापनाको नीतिगत छलफल अगाडि बढेको थियो ।

यस्तै, उपमहानगरपालिकाको कार्यपालिकाले हेटौंडा–१०, स्थित खाली जग्गा सम्बन्धित वडा कार्यालयको सिफारिसमा बायोमेडिकल वर्कसपका लागि उपलब्ध गराउने उपमहानगरले निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकारको च.नं. ३१ को पत्रबाट खोप भन्डारगृह निर्माण र थप औषधि एवम् औषधिजन्य सामग्री भण्डारण तथा प्रादेशिक बायोमेडिकल वर्कसप सञ्चालन गर्नका लागि ३ कठ्ठा जग्गा माग गरेको थियो । उपमहानगरको यो निर्णयले प्रादेशिक बायोमेडिकल वर्कसप हेटौंडा–१० मा संचालन हुने भएको छ ।

उपमहानगरसँग भएको पुरानो बारुणयन्त्र बागमती गाउँपालिका झुरझुरेलाई दिने निर्णय गनि उपमहानगरले गरेको छ । उपमहानगरसँग भएको दमकल १ थान, पिकअप भ्यान १ थान, टाटासुमो १ थान माग गरेकोले सवारीसाधन नियमानुसार बागमती गाउँपालिकालाई निःशुल्क हस्तान्तरण गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए ।

हेटौंडा उपमहानगरपालिकाबाट जारी भएको कृषिएम्बुलेन्स सेवा सञ्चालन कार्यविधि, २०८१ को व्यवस्था अनुसार हेटौंडा–१३ स्थित आधामार कृषक समूहलाई कृषिएम्बुलेन्स सञ्चालन गर्न दिने निर्णय गरिएको छ । उपमहानगरले खरिद गरेको कृषि एम्बुलेन्स सञ्चालनका लागि प्रस्ताव पेश गर्नका लागि गत कात्तिक २७ मा सूचना प्रकाशित भएको थियो ।

भविष्य कृषि सहकारी संस्था लि. हेटौंडा–१४ र आधामार कृषक समूह हेटौंडा–१३ को दुईवटा प्रस्ताव प्राप्त भएकोमा कार्यविधिको व्यवस्थाबमोजिम गठन भएको पालिकास्तरीय कृषिएम्बुलेन्स सेवा सञ्चालक समितिको निर्णयानुसार आधामार कृषक समूहलाई दिन उपयुक्त देखिएको जनाइएको छ ।

यसैगरी, उपमहानगरको चालु आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगरसभाको १६ औं अधिवेशन आगामी ५ पुस शुक्रबार आव्हान गर्ने निर्णय गरेको पनि प्रवक्ता न्यौपानेले बताए ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?