+
+

सेयर बजारमा सरकार ढल्ने हल्ला !

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते २०:२४

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजार उच्च दर १.६७ प्रतिशतले घट्यो । योसँगै बजार २७ सयमुनि झरेको छ । बजार घट्नुको मुख्य कारण – सरकार ढल्ने हल्ला हो ।

सेयर बजारसँग सम्बद्ध सामाजिक सञ्जालका ग्रुपमा पछिल्ला राजनीतिक घटनाक्रम लिएर अनेक विश्लेषण हुन थालेका छन् । यस्ता घटनाक्रमलाई लिएर लगानीकर्ता केही आत्तिएको ब्रोकर सञ्चालक बताउँछन् ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका नवनिर्वाचित अध्यक्ष सागर ढकालले ‘लगानीकर्तामा सरकार ढल्ने होहल्ला चलेकाले’ आइतबारको बजार केही ठूलो दरमा घटेको बताए ।

‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको विषयलाई लिएर लगानीकर्ताबीच केही होहल्ला सुनियो,’ उनले भने, ‘यसलाई कतिपयले सरकार ढल्ने संकेतका रूपमा बुझेको हुन सक्छ ।’

प्रधानमन्त्री ओली गृहजिल्ला झापा गएकाले उनको भेट लुसँग हुन नसकेको बालुवाटार स्रोतले बताइरहेको छ । तर, अमेरिकी दूतावासले सार्वजनिक गरेको लुको कार्यक्रमअनुसार प्रधानमन्त्रीसँग भेटवार्ता नै तय छैन । यही विषयलाई लिएर लगानीकर्तामा सरकार ढल्ने त्रास बढेको लगानीकर्ता नै बताउँछन् ।

‘केही मन्त्रीको कार्य असन्तुष्टिलाई लिएर मन्त्रिपरिषद् पुनर्संरचना हुने होहल्ला पनि चलेको छ, अर्कातिर सरकार नै ढल्ने त होइन भन्ने शंका बढेको छ,’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

त्यस्तै प्रधानमन्त्री ओली चीन भ्रमण जाँदा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) को मस्यौदामा भएको सम्झौतापछि भारत र अमेरिकाको असहयोग रहन सक्ने र त्यसले सरकारलाई अप्ठेरोमा पार्ने बुझाइ लगानीकर्तामा रहेको उनले बताए । लगानीकर्ताको मनोविज्ञान नै बजारमा देखापर्ने भएकाले आइतबारको बजार राताम्मे देखियो ।

यसअघि बीआरआईका विषयमा नेपाली कांग्रेस र एमालेबीच केही असमझदारी देखिँदा पनि बजारमा त्यस्तै प्रभाव परेको ढुंगानाले बताए ।

लगानीकर्तामा देखिएको यो डर भोलिका दिनमा चिरिँदै गए बजारले तुरुन्तै बढ्दो लय लिने लगानीकर्ता बताउँछन् । भोलिका दिनमा देखिने राजनीतिक घटनाक्रम अनुसार केही दिन बजार प्रभावित हुने अनुमान छ ।

‘भोलिका दिनमा विकास हुने राजनीतिक घटनाक्रमले केही दिन बजार प्रभाव पार्न सक्छ, तर त्यो प्रभाव निकै छोटो हुन्छ,’ ढुंगानाले भने ।

तर, यतिबेला पर्याप्त लगानीयोग्य रकम, घट्दो ब्याजदर, बलिया वाह्य सूचक रहेकाले बजारमा आत्तिनुपर्ने अवस्था नरहेको जानकार बताउँछन् । बैंकहरूले सम्भवतः पुस महिनाका लागि पनि ब्याजदर घटाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?