+
+

चिनियाँ नाकाबाट चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन तोकियो रुट

सरकारले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट तोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १८:२३
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । सरकारले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट तोकेको छ ।

भन्सार विभागका अनुसार रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट सिधै मालवस्तु चोभार ल्याउने गरी रुट तोकेको हो ।

अब रसुवा भन्सार कार्यालयबाट टिमुरे–स्याफ्रुबेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलंकी–बल्खु हुँदै सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म सवारी लैजान पाइने भएको छ ।

उता, तातोपानी भन्सार कार्यालयबाट लार्चा–बाह्रबिसे–लामोसाँघु–खाडीचौर–दोलालघाट–पाँचखाल–धुलिखेल–बनेपा–साँगा–सूर्यविनायक–कोटेश्वर–बल्खु हुँदै चोभारस्थित बन्दरगाहसम्म सवारी लैजान पाइने भएको छ ।

यसअघि २९ कात्तिकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चोभारस्थित सुक्खा बन्दरगाहलाई चिनियाँ नाकाबाट आउने सामानका लागि पनि खुला गर्ने निर्णय गरेको थियो । सोही सूचनामा विभागले आन्तरिक परिवहनका लागि सडक मार्ग तोक्न सक्ने गरी तोकेको थियो । नाकाबाट सवारीसाधन सिधै सुक्खा बन्दरगार ल्याउने क्रममा विभिन्न सर्त तोकिएको छ ।

सूचनामा उल्लेख भए अनुसार प्रचलित बैंकिङ प्रणाली मार्फत भुक्तानी हुने गरी पैठारी भएको हुनुपर्छ । चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी गर्नुपर्छ ।

प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारसम्म भूमण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित विद्युतीय ट्र्याकिङ प्रणाली भएको ताला लगाइएको हुनुपर्छ । तर, गुडाएर लैजाने नयाँ सवारीसाधनका हकमा जीपीएस आवश्यक छैन ।

काबुभन्दा बाहिरको परिस्थिति बाहेक आन्तरिक परिवहन लिएको ७२ घण्टाभित्र ढुवानी साधन काठमाडौं चोभार पुगिसक्नुपर्छ । यसरी आएको सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे भन्सार प्रमुखलाई जानकारी गराउनुपर्ने सर्त राखिएको छ । सवारीसाधनलाई बाटोमा खोल्न, हेर्न र जाँच गर्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?