
२३ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मुलुकको साझा समस्या सुशासन कायम गर्नु रहेको बताएका छन् । तर, सुशासन भएन भनेर भन्न जाने ठाउँ कहाँ हो भन्नेमा सबै रनभुल्लमा रहेको उनको भनाइ छ ।
आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा जति पनि राजनीतिक परिवर्तन भए सुशासनको विषयमा कहिल्यै जनताले प्राप्त गर्न नसकेको बताए ।
‘जति पटक जुन किसिममा राजनीतिक परिवर्तन भए पनि हाम्रो साझा समस्याको रुपमा सुशासन रहँदै आएको छ । अब यो सुशासन भएन भन्ने ठाउँ कहाँ छ ? यो प्रश्नमा बहस र छलफल हुनुपर्छ,’ अध्यक्ष दाहालले भने ।
जसले सुशासन छैन भनिरहेको छ उही व्यक्तिहरू समेत त्यसको जिम्मेवार रहेको बुझ्न आवश्यक रहेको उनले बताए ।
‘हामी व्यवस्थापिकामा बसेका छौं, जिम्मा लिएका छौं । सभामुख हुनुहुन्छ, म छु । यो ठाउँबाट हेर्दा हामी नै सुशासन भएन भनिराख्छौं । कार्यपालिकातिर गयो प्रधानमन्त्रीदेखि मन्त्री सबैले सुशासनै समस्या भयो भनिराखेको सुन्छौं,’ अध्यक्ष दाहालले भने ।
सांसदले पनि सुशासन भएन भन्ने गरेको उलने स्मरण गरे । ‘हामी माननीय सदस्यहरु पनि जनतासँग एउटा विश्वास दिलाएर मत प्राप्त गरेर जितेर आएको । सुशासनकै निम्ति लड्ने हो भनेर प्रतिवद्धता जनाएर जितेर आएको हो,’ अध्यक्ष दाहालले भने ।
तर, कसैले पनि सुशासन भएन भन्ने समाधानको उपाय दिन नसक्ने वा समस्या अर्कोमा देखाउने प्रवृति अर्को समस्याको रुपमा रहेको उनले बताए ।
प्रतिक्रिया 4