
२३ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भ्रष्टाचार रोक्ने भए मृत्युदण्डको व्यवस्था गरिनुपर्ने बताएका छन् । आइतबार संसद सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान कानुन निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।
‘परिस्थितिले हामीलाई लोकतान्त्रिक कानुनको अवश्यकता छ । संविधानले बर्जित गर्छ तर मृत्युदण्डको कानुन अब नेपालमा आवश्यकता छ । यदि यो (भ्रष्टाचार) बदल्ने (रोक्ने) हो भने । गम्भीर खाले जोडिएको विषयवस्तुमा मृत्युदण्डको कानुन आवश्यक छ,’ सभापति पोखरेलले भने ।
जे मन लाग्यो भन्न पाउने वा आरोप लगाएको विषयमा कहिले पनि पुष्टि गर्नु नपर्ने परिवेशको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले थपे, ‘जसले भन्छ, गैरजवाफदेही जसले बोल्छ उसले पुष्टि गर्नुपर्ने अन्यथा क्षतिपुर्तिसहितको दण्डको व्यवस्था गर्नुपर्छ ।’
यी दुईवटा कानुनी व्यवस्था गर्न सक्दा भ्रष्टाचार रोक्न वा न्युनीकरण गर्न सकिने सभापति पोखरेलको विश्वास छ । तर, सोही कार्यक्रममा उपसभामुख इन्दिरा रानाले लेखा समिति सभापति पोखरेलको अभिव्यक्तिको खण्डन गरिन् ।
‘सभापतिज्युलु भन्नुभयो । सभापतिज्युलाई कहाँ आक्रोश भइराखेको होला । मन दुखिरहेको होला, पीडा भइरहेको होला । त्यो पीडा स्वीकार्दै खण्डन गर्न चाहन्छु– हाम्रा पुर्खाहरुले बनाएको यस्तो राम्रो क्रिमिनल जस्टिस छ । मृत्युदण्ड दिनु हुँदैन है,’ उनले भनिन् ।
पञ्चायतको समयमा पनि भित्रभित्रै शासकले मान्छे मारेको हुन सक्ने तर कानुन नै बनाएर मृत्युदण्डको सजायको व्यवस्था नगरिएको उनले बताइन् । ‘यसकारण मृत्युदण्ड भन्ने शब्द नल्याउँ । मेरो अनुरोध यहाँलाई । यो भनेको मानव अधिकारको विरुद्धमा छ,’ उनले भने ।
मानव अधिकारका लागि आफूले तीन दशक भन्दा बढी समय बिताएको उल्लेख गर्दै उनले भनिन्, ‘आई फिल पेन । हामी जस्तो जनताको प्रतिनिधिहरूले बिरक्तिएर, केही कुरामा मन दुखेर यसलाई म मारि नै दिन्छु, यसलाई खर्लप्पै म झुण्ड्याइ दिन्छु भन्ने कुरा नसोच्नुस् । यो सोच्नु पनि अपराध हो ।’
बिग्रेकै मानिसलाई पनि कसरी सपार्ने भनेर ध्यान दिनुपर्ने उनले बताए ।
बिग्रेको मानिसलाई कस्तो वातावरण दिएर राम्रो बनाउने, बालबालिकालाई कस्तो वातावरण दिएर सभ्य नागरिक बनाउने भनेर सोच्नुपर्ने हाफूहरुको दायीत्व रहेको उनले बताइन् ।
बालबालिकालाई दिने शिक्षाले देशको भविष्य तय गने भएकाले यी लगायतका विषयमा गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिइन् । यसका लागि सांसदका अभिव्यक्ति समेत सभ्य र लोकतान्त्रिक र मानवअधिकारमैत्री हुनुपर्ने उपसभामुख रानाको आग्रह छ ।
प्रतिक्रिया 4