
काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको १२ औं संस्करण सोमबारदेखि सुरु भएको छ । ‘सामाजिक न्याय’को नारासहित चलचित्र विकास बोर्डको हलमा महोत्सव सुरु भएको हो । विहिबारसम्म फेस्टिभल संचालन हुनेछ ।
चलचित्र विकास बोर्ड र पर्यटन बोर्डका हलमा फेस्टिभल आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म सेन्टरका अध्यक्ष पाण्डव खत्रीले बताए । फेस्टिभलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले गरे ।
कान्स र बर्लिनजस्ता विश्व प्रसिद्ध फेस्टिभलमा प्रदर्शन भएका र पुरस्कार जितेका फिल्मलाई यहाँ पनि स्क्रिनिङ गरिने भएको छ । चार दिनसम्म नेपालसहित २३ देशका ५३ फिल्म प्रदर्शन हुने जनाइएको छ ।
ओपनिङ फिल्मको रुपमा ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’ छ । यो फिल्मले कान्सको छोटो फिल्म विधाको प्रतिस्पर्धामा पुरस्कार जितेको थियो । कान्समा अवार्ड जितेको ‘अल वी इम्याजिन एज लाइट’ डिसेम्बर १० मा स्क्रिनिङ हुने जनाइएको छ ।
डकुमेन्ट्री फिल्म निर्माता तथा दृश्य सम्पादक निलोतपल मजुमदारले ‘को-प्रोडक्सन, ल्यान्डस्केप, विश्व दर्शकका लागि स्थानीय कथा’ विषयमा मास्टर क्लास संचालन गर्नेछन् । नेपालसहित पाकिस्तान, बंगलादेश, भारत, अन्य मुलुकका फिल्ममेकर पनि फेस्टिभलमा आइपुगेको जनाइएको छ ।
फेस्टिभल अवधिभर फिल्मका विभिन्न विषयमा छलफल सत्रदेखि र तस्वीर प्रदर्शनी समेत आयोजना गरिने भएको छ । मानवअधिकार संरक्षणको लागि वकालत गर्दै १५ वर्षदेखि फेस्टिभल आयोजना भैरहेको आयोजक संस्थाका अध्यक्ष खत्रीले बताए ।
प्रतिक्रिया 4