+
+

‘फिल्म कार्साङ शेर्पा समुदायलाई बुझ्न सकिने आँखीझ्याल’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १४:४०

काठमाडौं । पछिल्लो ६ महिनायता दर्शकले दयाहाङ राईलाई ठूलो पर्दामा हेर्न पाएका छैनन् । ‘गाउँ आएको बाटो’ रिलिजपछि दयाहाङ फिल्मभन्दा नाटक निर्माणमा व्यस्त छन् ।

उनको आगामी फिल्म ‘कार्साङ’ २६ पुसमा देशव्यापी प्रदर्शन तयारीमा छ । यसअघि ‘गाउँ आएको बाटो’मा राई, ‘घरज्वाइँ’मा मगर र ‘जारी’मा लिम्बू चरित्रमा देखिएका उनी ‘कार्साङ’मा भने शेर्पा समुदायको व्यक्तिको भूमिकामा छन् ।

दयाहाङको चरित्रमार्फत उक्त समुदायको संस्कृति, आञ्चकलिता र परिवेशलाई बुझ्न सजिलो हुने अपेक्षा दर्शकको छ । सार्वजनिक टिजरले पनि चरित्र चित्रण र सन्दर्भलाई गजबले प्रस्तुत गरेको छ ।

फिल्ममा दयाहाङले शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन् । आर्थिक रुपमा विपन्न पात्र जसको सपना परिवारको सपना पूरा गर्नु हुन्छ । विपन्नताका कारण उसले परिवार र समाजसँग संघर्ष गर्नुपर्छ ।

डेब्यु निर्देशक याम शेर्पाले टिजरबाट फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको बताए । फिल्मले उठान गरेको संस्कृति र सम्बन्धको पाटोलाई टिजरमार्फत दर्शकले रुचाएको उनले बताए ।

‘विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौं । त्यसलाई दर्शकले मन पराइरहनुभएको छ । कमै मात्रै फिल्ममा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ’ निर्देशक शेर्पाले भने ।

टिजरमा दयाहाङ राई मात्र होइन, जितु नेपालको चरित्र चित्रणलाई पनि दर्शाइएको छ । फिल्ममा जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ । सरसापटीले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगा लगाउन चाहने सन्तानको सपना पुरा गर्न नसक्ने चरम गरिबीको कथा यसमा छ ।

शेर्पाको डेब्यु निर्देशन रहेको ‘कार्साङ’मा कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । फिल्ममा डेब्यु अभिनेत्री सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङको शीर्ष भूमिका छ । सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्यदीप गौतम, विमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पाको पनि अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । पुरुषोत्तम चर्चित छायाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?