
काठमाडौं । नेटफ्लिक्सको बहुप्रतीक्षित र लोकप्रिय शो ‘स्क्विड गेम’लाई सोमबार दक्षिण कोरियाली राजधानी सियोलमा भव्य प्रिमियर गरिएको छ । राष्ट्रपति युन सुक येओलले सैनिक शासन लागू गर्न गरेको असफल प्रयासको घटनालगत्तै यो प्रतीक्षित शोलाई प्रिमियर गरियो ।
‘स्क्विड गेम’ दोस्रो सिजनको कथा पनि डिस्टोपियन कथामा आधारित छ जसले विभाजित समाजप्रति दक्षिण कोरियाली दृष्टिकोणलाई प्रस्तुत गर्छ । यो शो विभाजित र असमानताको कथा दर्शाउने हिंस्रक कथावस्तुमा आधारित छ । ‘प्यारासाइट’ र ‘के–पप’पछि ‘स्क्विड गेम’लाई दक्षिण कोरियाको सांस्कृतिक पावर फैलाउने एक माध्यमको रुपमा लिइन्छ ।
शोका दुवै सिजनका लेखक र निर्देशक ह्वाङ डोङ–ह्युकले प्रिमियर समारोहमा बोल्दै मुलुकमा भएको घटनाले आफू स्तब्ध भएको बताए । ‘मेरो देशमा जे भयो त्यसले मेरो हृदय भारी बनाएको छ’, उनले भने, ‘यो अत्यन्तै दुर्भाग्यपूर्ण र डरलाग्दो छ । यस्तो बेतुकको परिस्थितिले सिंगो राष्ट्र सुत्न सक्दैन ।’
राजनीतिक अराजकताका कारण दक्षिण कोरियालीले सडकमा उत्रिनु परेको बताए । ‘कोरियालीले चिन्ता, डर र उदासीनताले भरिएको वर्षको अन्त्य बिताउनुपरेको छ’ उनले भने, ‘मैले समेत सैनिक शासन लागू गर्न भएका प्रयासको समाचार रातभर टिभी अघि बसेर हेरिरहें ।’
‘स्क्विड गेम’को सिजन २ मा प्रशस्तै नयाँ कलाकार हेर्न पाइनेछ । एक ‘क्रिप्टो विशेषज्ञ’ जो ऋणको भारले थिचिएको छ र एक ट्रान्सजेन्डर पात्र जोसँग शल्यक्रियाका लागि खर्च जुटाउने क्षमता छैन । अभिनेता लि–जङ जेले शोका मुख्य पात्र सियोङ–गी हुन पात्रको भूमिका निर्वाह गरेका छन् र उनी खेलमा फर्किएका छन् ।
गी–हुनले खेल जितेको तीन वर्षपछि पुनः खेलमा फर्किएको कथाबाट दोस्रो सिजन सुरु हुन्छ । जीवन र मृत्युको खेल आयोजना गर्ने संस्थालाई उत्तरदायी बनाउन उनले गर्ने संघर्ष यसको कथावस्तु हुन्छ । सन् २०२१ मा रिलिज भएको पहिलो भाग दक्षिण कोरियाली लहर भनिने ‘हाल्यू’को लागि एक महत्वपूर्ण पक्ष थियो ।
स्क्विड गेमको दोस्रो सिजन २६ डिसेम्बरबाट नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछ ।
तस्वीरहरु
प्रतिक्रिया 4