
काठमाडौं । १२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत ‘अवशेष’ले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटेले यस फिल्मको निर्देशन गरेका हुन् ।
विहिबार सम्पन्न महोत्सवमा ‘देवी’ वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन् । ‘ब्ल्याक रेन इन माई आइज’ले उत्कृष्ट सर्ट डकुमेन्ट्रीको अवार्ड जित्यो । सर्ट फिक्सनजतर्फ ‘द फस्र्ट फिल्म’ जित्यो ।
फिचर डकुमेन्टी अवार्ड ‘ह्वेयर वी युज्ड टु स्लिप बाई’ले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित ‘अल वि इम्याजिन एज लाइट’ले जितेको छ ।
अवार्ड विजेतालाई प्रतिनिधिसभा सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरे ।
‘सामूहिक अधिकार’ नारासहित मंसिर २४ गतेदेखि चलचित्र विकास बोर्ड र पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो । महोत्सवमा विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरियो ।
महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चार दिने वर्कसप समेत सञ्चालन गरेका थिए । जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए ।
महोत्सवको सुरुवातमा ‘अल वि इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभल अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया 4