
काठमाडौँ । सर्वाधिक धनराशिको पुरस्कार राखिएको टिभी गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को दोस्रो श्रृंखलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले भने, ‘हामीले यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्धन गर्न खोजेका हौं । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतिलाई अनिवार्य गरेका छौँ । यसपटक अघिल्लो श्रृंखलाको तुलनामा यो झनै भव्य हुनेछ ।’
उनले दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्ने बताए । समारोहमा ‘मेरो भ्वाइस युनिर्भस’मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, गायक शिव परियार, पुष्पण प्रधान र गायिका तृष्णा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्ने जानकारी गराइयो ।
‘मेरो डान्स युनिर्भस’मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के छन् । कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ रहनेछन् ।
‘मेरो भ्वाइस युनिभर्स’लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिभर्स’लाई मौसमी गुरुङले निर्देशन गर्ने जानकारी गराइयो । नेपाल टेलिभिजनमार्फत प्रसारण हुने दुवै प्रतियोगिताको अडिसन सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ । अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ ।
फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ । मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुढी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौंमा अडिसन हुँदैछ । निर्णायकमध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिने काम गरेको बताइन् ।
प्रतिक्रिया 4