
काठमाडौं । नेपाली रक ब्याण्ड ‘अभया एण्ड स्टिम इन्जन्स’की गायिका अभया सुब्बाले संगीतबाट ‘ब्रेक’ लिने भएकी छन् । आफ्ना प्रशंसकलाई उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएकी छन् ।
उनले लेखेकी छन्, ‘मैले संगीतबाट ब्रेक लिंदैछु । कहिलेकाहीं एउटा जोश पनि आफैंलाई भारी पर्न सक्छ भनेर कहिल्यै सोचिनँ । यसबीचमा मैले यात्रा मात्र गर्नेछु र संगीतभन्दा बाहेकका अन्य संकल्प फेला पार्न प्रयत्न गर्नेछु ।’
अभयाले यसबारे जानकारी दिंदै पोखरा घुमघाममा निस्किएको आकर्षक तस्वीर पनि सेयर गरेकी छन् । उनको यो पोस्टमा प्रशंसकले प्रतिक्रिया जनाइरहेका छन् ।
अभया नेपाली रक ब्याण्ड जनरामा परिचित नाम हो । रकलाई नेपाली लोकलयसँग मिश्रण गरेर गाउने मिठास उनका गीतमा सुन्न पाइन्छ । उनको ब्याण्ड ‘अभया एण्ड स्टिम इन्जन्स’ले सन् २०२४ मा ‘बादल’ र ‘आत्तिन्छ किन’जस्ता गीत सार्वजनिक गरेको छ ।
उनी ‘वुमन इन कन्सर्ट’ नामक महिला सांगीतिक कार्यक्रमकी संस्थापक पनि हुन्, जसले नयाँ महिला संगीतकर्मीलाई सुरक्षित वातावरण सिर्जना गर्छ । पछिल्लो समय उनी ‘वुमन इन कन्सर्ट’मा पनि व्यस्त थिइन् । अभया भ्वाइस अफ नेपालको पहिलो सिजनको समेत जज थिइन् ।
प्रतिक्रिया 4