+
+
सुमेरु सहकारीबारे प्रहरी निष्कर्ष :

महर्जनले बचतकर्ताको झन्डै ४ अर्ब निजी कम्पनीमा लगेर डुबाए

बेलायतमा रहेका भरत महर्जनविरुद्ध अदालतमा मुद्दा दर्ता

ललितपुरको सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जनले ८ निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते २०:०९

२ पुस, काठमाडौं । ललितपुरको सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जनले ८ निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर ३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

महर्जनले निजी स्वामित्वको कम्पनी र हुँदै नभएका व्यक्तिको नाममा ऋण प्रवाह गरेको देखाएर अनियमितता गरेको निष्कर्षसहित प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत, ललितपुरमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

अदालतमा दायर अभियोग–पत्र अनुसार उनले सहकारीको रकम एकल स्वामित्वको निजी कम्पनीमा लगानी गरेर सहकारी डुबाएको निष्कर्षसहित सहकारी ठगीको कसुरमा सजायको मागदाबी गरिएको छ ।

सहकारी डुबेपछि भागेर बेलायत पुगेका महर्जनलाई फिर्ता ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा १९ माघ २०८० मा रेड नोटिस जारी गरेको थियो । उनलाई फिर्ता ल्याउने सन्दर्भमा इन्टरपोलको म्यान्चेस्टरस्थित नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) सँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार महर्जन २०५७ साउनदेखि २०७५ पुससम्म सहकारीमा कार्यकारी अध्यक्ष थिए । समितिको जिम्मेवारीमा हुँदा उनले अन्य सदस्यहरूलाई विश्वासमा पारेर एकल निर्णय गर्ने गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

‘उनी सहकारीबाट बाहिरिएपछि नयाँ पदाधिकारी जाँदा मात्र अनियमितता थाहा भएको थियो’, बोगटी भन्छन्, ‘त्यसपछि अनुसन्धानका लागि सीआईबीसमक्ष लेखी आएको थियो ।’

अधिकृतहरूका अनुसार सहकारीको रकम अपचलन गरेर हिसाबकिताब फर्स्यौट नगरी उनले संस्था छाडेका थिए । त्यसक्रममा उनले अनियमितता भएका रकम सुमेरु बचत तथा ऋण सहकारी संस्थाबाट सुमेरु ग्रुपका अन्य विभिन्न संस्थामा प्रवाह भएको देखाएका थिए ।

कम्पनी र व्यक्तिका नाममा फर्जी ऋण

प्रहरीका अनुसार महर्जनले सहकारी छाड्ने बेला सुमेरु सामुदायिक अस्पताललाई १ अर्ब ५५ करोड ७९ लाख ४३ हजार ३६९ रुपैयाँ ऋण देखाएका थिए । तर, अस्पतालले १२ करोड रुपैयाँ ऋण मात्र खुलाएको छ ।

सुमेरु सिटी अस्पताललाई पनि उनले ९८ करोड रुपैयाँ ऋण देखाएपनि अस्पतालले ७ करोड ९९ लाख ५२ हजार ९२९ रुपैयाँ ऋण रहेको विवरण दिएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार महर्जनले एसियन कलेजलाई ५७ करोड ५३ लाख २९ हजार रुपैयाँ ऋण देखाएका थिए ।

तर, कलेजमा ऋण लगानी नै नभएको अनुसन्धानबाट खुलेको छ । उनले सुमेरु हाउजिङ एण्ड डेभलोप्मेन्ट (सुमेरु मार्ट), सुमेरु किड्नी अस्पताल, सुमेरु डाइगोनस्टिक, पीएफ नेपाल लगायतमा पनि ऋण रहेको देखाएका थिए । तर, तीमध्ये कतिपय बन्द अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

उनले सातदोबाटो चोक कन्स्ट्रक्सनलाई ५ करोड १३ लाख ६२ हजार ५६६ रुपैयाँ ऋण देखाएकोमा यो कम्पनी पनि बन्द भइसकेको छ । उनले विवेक मानन्धरले लिँदै नलिएको अवस्थामा ५२ करोड ९३ लाख २६ हजार १९ रुपैयाँ ऋण लगेको देखाएको भनिएको छ ।

उनले अमृतराज उपाध्यक्ष र विश्वास भट्टराईको नाममा पनि ऋण लिएको देखाएका छन् । तर, ती नामका व्यक्तिहरू नै फेला नपरेको प्रहरीको भनाइ छ । ‘व्यक्तिको नाममा झुठ्ठा विवरण बनाएर उनी आफैंले ती रकम अपचलन गरेको देखिएको छ’, ती अधिकृत भन्छन् ।

प्रहरीका अनुसार, सहकारीको रकम लगानी गरिएका अधिकांश कम्पनीहरू उनी बेलायत भाग्नु केही महिनाअघिसम्म उनको एकल शेयर स्वामित्वमा थिए ।

‘उनले आफ्नो निजी आम्दानीको स्रोत बनाउन सहकारीको नगद दोहन गरेर वर्षौंदेखि एकल नाममा कम्पनी खडा गरेर आम्दानी उपभोग गरिरहेको देखिन्छ’, एक अधिकृत भन्छन्, ‘पलायन हुने मनस्थिति भएपछि वर्तमान सञ्चालक समितिलाई शेयर लिनु भन्दै बाँडिएको देखिन्छ ।’

दुई दशकदेखि सहकारीमा एकल रजगज

झण्डै दुई दशक सुमेरु सहकारीमा अध्यक्ष बसेका महर्जनले पदाधिकारीमा आफ्नै विश्वास पात्र र आफन्तलाई राख्ने गरेका थिए ।

एमाले सांसद् सूर्य थापा नेतृत्वको सहकारीमा बचतकर्ताको लगानी अनियमितता भएको विषयमा छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन अनुसार, २०६६ मा सञ्चालक समितिका अध्यक्षमा महर्जन हुँदा सचिवमा प्रेमनारायण घिमिरे र कोषाध्यक्षमा आफन्त आफन्त विकास महर्जनलाई राखेका थिए । त्यसबेला सदस्यमा श्रीमती राजमाया महर्जन थिइन् ।

पछिल्लो पटक पूर्वकर्मचारी हेमराज दाहाललाई अध्यक्ष र भतिज बीरु महर्जनलाई उपाध्यक्ष बनाएका थिए । अध्यक्ष दाहाल र सचिव विनोद आचार्यबाहेक बाँकी सञ्चालकहरू भरतकै परिवारभित्रका सदस्य थिए ।

उनले कालीमाटीस्थित सुमेरु सहकारीमा पनि सुरुमा श्रीमती राजमायालाई अध्यक्ष बनाएका थिए भने पछि भान्जा विकास महर्जन र छोरा सचिन महर्जनलाई अध्यक्ष बनाए ।

सञ्चालक समितिका उपाध्यक्ष तथा सुमेरु साकोसका कार्यकारी प्रमुख बीरु महर्जन पनि भरत महर्जनका भतिज हुन् । सञ्चालकहरू दिलीप डंगोल र सुनिल डंगोल नाताले उनका भान्जा थिए ।

संसदीय समितिको प्रतिवेदन अनुसार, सुमेरु सहकारीमा हालै पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह नेतृत्वको समूह प्रवेश गरेको छ ।

सहकारीको अध्यक्षमा वीरेन्द्र महर्जन चयन भएका छन् भने उपाध्यक्षमा हरिश चन्द, सचिवमा ओभिल गुरुङ मनाङ्थेन, कोषाध्यक्षमा राजन राई, सदस्यहरूमा गोकुलबहादुर रोकाय, ध्रुवबहादुर शाह र अनिल मल्ल छन् ।

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?