
३ पुस, बुटवल। ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा बुधबारदेखि २४ औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा सुरु मेलामा पाँच सय स्टल रहेका छन् ।
दर्शकलाई सहजरुपमा अवलोकनका लागि मेलामा सहभागी स्टलहरुहरुलाई वस्तु तथा सेवाको प्रकृति अनुसार औद्योगिक उत्पादन, कृषि, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, गार्मेन्ट, जुत्ता, फूड एण्ड वेभरेज, अटोमोवाईल्स र होटलका छुट्टाछुट्टै १० वटा पेभिलियन बनाइएका छन् ।
पुस ३ गतेदेखि १६ दिनसम्म सञ्चालन हुने मेलाको ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार हुने आयोजकको अपेक्षा छ ।
मेला अवधिमा उद्योग, बाणिज्य, पर्यटन क्षेत्रका समस्या,सम्भावना र चुनौतिका विषयमा विषयविज्ञहरुको सहभागितामा गोष्ठी हुने आयोजकले संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हाँस्यव्यग्य प्रतियोगिता, बाल उद्यान, वाटर टनेल, व्यूटि शो र टिकटक प्रतियोगिता र राष्ट्रियस्तरका तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति आकर्षणका रुपमा रहेका छन् ।
मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
प्रतिक्रिया 4