+
+

फेसबुकबाट प्रेम, अमेरिकाको भिसा छ भन्दै नक्कली बिहे, टिकटकले खोल्यो पोल

जनक विष्ट जनक विष्ट
२०८१ पुष ५ गते ११:१८

५ पुस, धनगढी । कञ्चनपुरमा सामाजिक सञ्जाल फेसबुकबाट युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिसा लगाइदिने प्रलोभन देखाएर नक्कली विवाह गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेशराज जोशीले उनीहरू दुवै जनालाई २५ मंसिरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनकाअनुसार ती युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा पारेर ३१ वर्षीय मालीले २३ मंसिरमा महेन्द्रनगरमा विवाह गरेका थिए ।

नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरूको विवाह गराउन सहजकर्ताको भूमिका खेलेका थिए । तर अमेरिकाको भिसा रहेको र इन्जिनियर रहेको बताउँदै विवाह गरेका माली पेशाले सहचालक रहेको र घरमा श्रीमती रहेको थाहा पाएपछि पीडित युवतीका परिवारले उनीविरुद्ध बहुविवाहको उजुरी दिएको छ । अहिले मालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

फेसबुकले जोडेको सम्बन्ध टिकटकले टुटायो

डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरकी ३१ वर्षीया युवतीबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान हुन्छ । पेशाले सहचालक मालीले युवतीलाई प्रेमजालमा फसाउन आफू इन्जिनियर रहेको भन्दै ढाँट्छन् ।

युवकले आफू अविवाहित भएको बताउँछन् । कुरा यत्तिकै रोकिंदैन । उनले आफूसँग अमेरिकाको भिसा रहेको भन्दै छिटो विवाह गर्न दबाब दिन्छन् ।

युवती पक्षले सामाजिक सञ्जाल फेसबुक र टिकटमा दुवै जनाको विवाहका भिडियो अपलोड गर्दै बधाई दिइरहेका थिए । टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी श्रीमतीसम्म पुग्छ । प्रहरीका अनुसार उनकी श्रीमतीले टिकटकमै मालीको श्रीमती आफू भएको बताउँछिन् ।

अन्ततः करीब तीन महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न युवती तयार हुन्छिन् । तर घरपरिवारलाई पनि विश्वासमा लिएर विवाह गर्नुपर्ने प्रस्ताव राख्छिन् ।

यहीबीच युवकले नातामा भिनाजु पर्ने जनकबहादुर धामीको युवतीको परिवारसँग राम्रो सम्बन्ध भएको कुरा थाहा पाउँछन् । घरमा श्रीमती भएका कारण उनले यो कुरा परिवारका सदस्यलाई जानकारी गराएका हुँदैनन् ।

मालीले बुवा–आमासहित परिवारका अन्य सदस्य पनि नक्कली खडा गर्छन् । भिनाजु नाता पर्ने धामीलाई युवतीको परिवारसँग भेट गराएर हात माग्न पठाउँछन् ।

सो क्रममा धामीले पनि माली इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेकाले केही दिनमा उड्ने बताउँछन् । विवाह गरेर दुलहीलाई पनि उतै लैजाने बताएपछि युवतीका आमा–बुवा पनि तयार हुन्छन् ।

कतिसम्म भने परिवारका सीमित सदस्यलाई मात्रै जानकारी दिएर २३ मंसिरमा महेन्द्रनगरको चेतन होटलमा विवाह सम्पन्न हुन्छ । प्रहरीका अनुसार उनले आफ्नो काकाको स्वास्थ्य अवस्था निकै जटिल भएकाले दुःखद खबर आउने भन्दै हतारहतारमा विवाह गराएका थिए । विवाहमा मालीका तर्फबाट धामीसहित ५/७ जना साथीभाइ मात्र सहभागी भएका थिए ।

२३ मंसिरमा युवतीका परिवारलाई समेत विश्वासमा लिएर दोस्रो विवाह गरेका धामी विवाहित भएको कुरा कसैले चाल नै पाएका थिएनन् । विवाह सकेर दुलहीलाई लिएर धनगढी आएका माली २५ मंसिरमा डडेल्धुरा जाँदै थिए ।

त्यतिबेला युवती पक्षले सामाजिक सञ्जाल फेसबुक र टिकटमा दुवै जनाको विवाहका भिडियो अपलोड गर्दै बधाई दिइरहेका थिए । टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी श्रीमतीसम्म पुग्छ । प्रहरीका अनुसार उनकी श्रीमतीले टिकटकमै मालीको श्रीमती आफू भएको बताउँछिन् ।

मालीको पहिलो श्रीमती टिकटकमा आएपछि दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अचम्ममा पर्छन् । सोधीखोजी गर्दा माली साँच्चिकै विवाहित भएको थाहा पाएपछि उनीहरूले बल्ल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले मालीलाई डोटीको बुडरबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले यो प्रकरणमा मालीको नक्कली बुवा बनेर युवती पक्षसँग कुराकानी गर्ने व्यक्तिलाई समेत पक्राउ गरेर अनुसन्धान गरिने जानकारी दिए ।

माली र धामीविरुद्ध बहुविवाह मुद्दा दर्ता गरेर अदालतबाट दोस्रोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?