+

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

२०८१ पुष  ५ गते १७:२८ २०८१ पुष ५ गते १७:२८

‘अरूको बिरामीलाई आफन्तहरू भेट्न आउँछन्, हाम्रो त यहाँ कोही छैन । त्यसैले कोही भेट्न पनि आउँदैन । अहिले हामीसँग एक रुपैयाँ पनि छैन’ लक्ष्मी भन्छिन्, ‘अस्पतालले डिस्चार्ज गरिदियो भने कहाँ जाने होला । बस्ने ठेगाना छैन र डोल्पा फर्किहाल्ने अवस्था पनि छैन ।’

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

काठमाडौं । वीर अस्पतालको ज्येष्ठ नागरिक कक्षको कुनापट्टि बेड नम्बर २१४ मा ७० वर्षीया सीताकुमारी शाही सुतिरहेकी थिइन् । ६० वर्षीया उनकी ‘छोरी’ लक्ष्मीकुमारी सिंह ठकुरी त्यही बेडको खुट्टामा अडेस लागेर बसेकी थिइन् । लक्ष्मीको अनुहार मलिन थियो र आँखामा आँसु टिलपिल ।

७० वर्षीया सीता र ६० वर्षीया लक्ष्मी दुवै अविवाहित रहेछन् । सीता अविवाहित हुन् भने लक्ष्मी कसरी उनकी छोरी भइन् भन्ने प्रश्न मनमा उठ्न सक्छ । खासमा लक्ष्मी सीताकी दिदीकी छोरी हुन् । छोरी जन्मिने क्रममा नै गम्भीर स्वास्थ्य समस्या भएर उनकी दिदीको मृत्यु भयो । भिनाजु पनि पल्टनमा भएको हुँदा लक्ष्मीको हेरचाह गर्ने कोही नभएपछि उनलाई मामाघरमा नै राखियो । सीताले विवाह नगरी बसेको हुनाले दिदीकी छोरीको हेरचाह उनले नै गरिन् ।

लक्ष्मी हुर्किंदै गइन्, उनीहरू एकअर्काको सहारा बने । एउटा सानो चिया पसल चलाएर उनीहरू जीविकोपार्जन गर्दै थिए । लक्ष्मीको विवाह गर्ने उमेर भयो तर उनलाई पनि विवाह गर्न मन लागेन । ‘मैले विवाह गरेर गएँ भने सानीमाको हेरचाह कसले गर्छ ? त्यही सोचेर मैले पनि विवाह गरिनँ’ लक्ष्मीले सुनाइन् ।

सीता अविवाहित अनि उनकी छोरी पनि अविवाहित । त्यसैले उनीहरूको एकअर्काबाहेक कोही छैन यो संसारमा ।

सात वर्षअघि सीतालाई एक्कासि पेट दुख्न थाल्यो । पेटमा केही डल्लो जस्तो पनि महसुस भयो । पेट दुख्ने समस्या झन्-झन् बढ्दै गएपछि उनी नजिकैको स्वास्थ्य संस्थामा जँचाउन गइन् । ग्यास्ट्रिकको समस्या भनेर उनलाई औषधि दिएर पठाइयो । तर औषधि सेवन गर्दा पनि उनको समस्या कम भएन उल्टै बढ्न थाल्यो । दुखाइले गर्दा उनलाई राति निद्रा लाग्न छाड्यो, खाना खान मन लाग्न छाड्यो । उनको शरीर एकदमै गल्दै गइरहेको थियो । पेटसँगै पूरै शरीर दुख्न थाल्यो । शरीरमा मांसपेशी कम हुँदै गएर हड्डी मात्र बाँकी भयो ।

उनी फेरि स्वास्थ्य संस्थामा गइन् । फेरि विभिन्न औषधि सेवन गर्दा पनि उनको समस्या कम भएन । त्यसपछि त्यहाँको चिकित्सकले उपचारका लागि काठमाडौं रिफर भएपछि उनीहरूलाई आपत् पर्‍यो । कसरी जाने काठमाडौं ?

डोल्पाबाट बसमा काठमाडौं आउने सक्ने स्वास्थ्य अवस्था छैन । आर्थिक अवस्था निकै कमजोर भएकाले प्लेनमा जाने पैसा पनि छैन । समस्या बढ्दै गएपछि उनीहरूले छिमेकीहरूसँग सहयोग मागे । छिमेकीहरूले चन्दा उठाएर प्लेन खर्च जुटाइदिए ।

डोल्पाबाट दुई हप्ताअघि उनीहरू वीर अस्पताल आइपुगेका हुन् । वीर अस्पतालमा भर्ना भएर बसेको तीन हप्ता बितिसक्दा उनलाई ‘क्रोनिक प्यान्क्रियाटाइटिस’ प्यान्क्रियाजको दीर्घकालीन समस्या भएको पत्ता लाग्यो ।

लामो समयदेखि समस्या भइरहेको भए पनि उपचारको राम्रो पहुँच नभएका कारण सीताको रोग छिटो पत्ता लागेन र उपचार पनि हुन पाएन ।

सीता भन्छिन्, ‘बाहिरको घाउ चोट भए त अरूले देख्थे । पेटभित्रको समस्या आफूलाई दुख्छ, पोल्छ अरूलाई के भएको छ र भन्ने लाग्छ होला ।’

काठमाडौंमा कोही आफन्त नभएकाले लक्ष्मी नै सीताको कुरुवा लगातार बसिरहेकी छिन् । एउटै बेडमा उनीहरू आधा-आधा सुत्छन् । बिरामीलाई अस्पतालले दिने एउटा खाना नै उनीहरू दुई जनाले बाँडेर खान्छन् ।

‘अरूको बिरामीलाई आफन्तहरू भेट्न आउँछन्, हाम्रो त यहाँ कोही छैन । त्यसैले कोही भेट्न पनि आउँदैन । अहिले हामीसँग एक रुपैयाँ पनि छैन’ लक्ष्मी भन्छिन्, ‘अस्पतालले डिस्चार्ज गरिदियो भने कहाँ जाने होला । बस्ने ठेगाना छैन र डोल्पा फर्किहाल्ने अवस्था पनि छैन ।’

सीता थप्छिन्, ‘दुई-तीन महिना जति मात्र पनि कतै बस्न पाइयो, खान पाइयो भने अलि निको भएपछि डोल्पा फर्किन सकिन्थ्यो कि भन्ने लाग्छ ।’

बिरामीलाई ‘क्रोनिक प्यान्क्रियाटाइटिस’ देखियो

डा. विकास बराल

डोल्पाको दुनै अस्पतालबाट रिफर भएर इमर्जेन्सीमा मङ्सिर ६ गते उहाँहरू यहाँ आउनुभयो । पेट दुख्ने समस्या लिएर आउनु भएको हुँदा पेटको सम्पूर्ण जाँच गरियो । तैपनि उहाँको रोग पत्ता लागेन ।

त्यसैले अन्य परीक्षण गर्नुपर्ने भयो, सिटी स्क्यान पनि गर्नुपर्ने भयो । उहाँहरूसँग उपचार खर्च नभएकोले अस्पतालबाट नै परीक्षण र  सिटी स्क्यान फ्रि गराइयो । त्यसको लागि औषधिको व्यवस्था पनि एउटा संस्थाको सहयोगमा हामीले नै गरिदियौं । सिट स्क्यानको रिपोर्टमा ‘क्रोनिक प्यान्क्रियाटाइटिस’को समस्या देखिएको छ । उपचार जारी छ ।

बिरामीको आर्थिक अवस्था निकै कमजोर भएकाले चन्दा उठाएर उहाँहरू यहाँसम्म आइपुग्नुभएको रहेछ । यहाँ सके जति सहयोग हामीले गरिरहेकै छौं । तर अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने ठाउँ छैन उहाँहरूसँग । डोल्पा नै फर्किने हो भने फर्किने खर्च पनि छैन । त्यसैले केही सहयोग गर्न सकिन्छ भनेर हामीले पनि कोसिस गरिरहेका छौं ।

बिरामी वीर अस्पताल स्वास्थ्य समस्या

धेरै कमेन्ट गरिएका

लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

मिर्गौलाको समस्या भएकालाई कस्तो डाइट चार्ट ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?