+
+

यति धेरै प्रविधि चलाएर पनि एक्लो मानिस (भिडियो)

प्रविधिले दिएको वरदान र अभिशापबारे छलफल छ । र प्रश्न अझै बाँकी छ, यति धेरै प्रविधि चलाएर पनि किन व्यक्ति एक्लिँदै गएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते २२:३०

५ पुस, काठमाडौं । फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, ह्वाट्सअप, पिन्ट्रेस्ट, ब्लुस्काई वा अनेकौं सोसल मिडिया प्लाटफर्महरु । थुप्रै देशीय अन्तरदेशीय भर्चुअल स्पेस, जहाँबाट लुगा, किताब, खानेकुरा वा जुनसुकै सामान मगाउन सकिन्छ ।

हामी यी सबै प्लाटफर्म एउटै फोन अर्थात् औंलाले स्वाइप गरेको भरमा संसारका कुनाकुना चहार्न पाइरहेका छौं । ती स्पेसमार्फत् हामी ठान्छौं-अझै बलियो भइरहेका छौं ।

खासमा हामी बलियो भएका छौं कि ती प्लाटफर्म सञ्चालकले हामीलाई उपयोग गर्दै उनीहरु बलियो बनिरहेका छन् ?

कम्प्युटर वैज्ञानिक डा. दोभान राईले यो भिडियो वार्तामा प्रविधिले दिएको अभूतपूर्व देन, अनि सताएका निरीह उपभोक्ताउपर विवेचना गर्ने प्रयास गरेकी छन् ।

व्यक्ति जति आफ्नो देश र राज्यबाट शासित छ, त्यतिकै वा धेरै हदसम्म सिलिकन भ्यालीदेखि साना ठूला प्रविधि–राज्यबाट शासित भइरहेको छ । हामीले विज्ञान र प्रविधिलाई एउटै बुझ्यौं । अनि प्रविधिलाई मानव सभ्यताकै वरदान मान्यौं । हामीले जेलाई बनायौं, त्यसैले हामीलाई ‘बनाइरहेको’ विचित्र दृश्य देखिइरहेको छ, यतिबेला ।

दोभानसँग यो एक घन्टा लामो कुराकानीमा थुप्रै सन्दर्भ उठेका छन्, तर तिनको केन्द्रमा यही प्रविधिले दिएको वरदान र अभिशापबारे छलफल छ । र प्रश्न अझै बाँकी छ, यति धेरै प्रविधि चलाएर पनि किन व्यक्ति एक्लिँदै गएको छ ?

दोभानले केही वर्षअघिसम्म उछालिँदो टेक अप्टिमिज्म अर्थात् प्रविधिले दिलाएको आशावादको समय सकिँदै गएको बताएकी छन् । यस्तो टेक अप्टिमिजम्‌मा उतारचढाव आइराख्ने, एउटा माहोल घटेर फेरि अर्को माहोल आउन सक्ने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘विज्ञान र प्रविधि भन्नु एउटै कुरा होइन । विज्ञानले तथ्य प्रमाणको आधारमा नयाँ कुरा खोज गर्छ, प्रविधिले त्यो विज्ञानको प्रयोग गर्छ । प्रविधि सधैं सही हुन्छ भन्ने होइन ।’

समाजशास्त्र, आदिवासी ज्ञान आदिमा समेत रुचि राख्ने दोभानले नेपालजस्तो तेस्रो विश्वमा प्रविधिले कसरी व्यक्तिको स्वतन्त्र छनोट गर्ने क्षमतालाई सीमित गरिदिएको छ भन्ने सवालमा घोत्लिएकी छन् ।

अनि कुनै सामान किन्दा होस् या नेता चुन्दा, प्रविधिले रनभुल्ल भएको व्यक्तिलाई कसरी सही बाटो लगाउने भन्ने उपाय पनि देखाउने प्रयास गरेकी छन् ।

हाम्रा क्रियाकलाप हेर्दा लाग्छ, कम्प्युटर हाम्रो शरीरकै अंग बराबर भइसकेको छ । तर योसँग जति नै घुलनशील देखिए पनि हामी पहिले घरपालुवा जनावर, छिमेकी आदिसँग घुलमिल थियौं । हामी आगो बालेर, मासु पोलेर समूहमा खाँदै उद्‌विकास भइआएका थियौं ।

अहिले यति धेरै प्राविधिक देन प्राप्त भए पनि हामीमा कुन खालीपनले बास गरेको छ ? नभेट्दा पनि कम्तीमा फोन, भिडियो कलआदिले चित्त बुझाउने हाम्रो आदतमा गहिरोगरी खड्किइरहेको अनि नमज्जाले छुटिरहेको विषय के हो ?

यसमा दोभानले दिएका जवाफहरु सोचनीय छन् । प्रविधिले गफ गर्ने स्पेस पर्याप्त दिँदा पनि हामीले किन बह पोख्न सकेनौं ? अनि ‘जेन–जी’ पुस्ताभन्दा अझै अगाडिको समय कस्तो हुँदै जाला ?

अर्को प्रश्न त्यत्तिकै याद गर्नुपर्ने खालको छ – मानिसहरु सामान्य अवस्थामा भेटिँदा जुन विनम्रता र सज्जनता पोख्छन्, तर फेसबुकमा किन उनीहरु नै ट्रोलको हिस्सा बन्छन् ? के इन्टरनेट दुनियाँमा जोकोही व्यक्ति आ–आफ्नो गच्छेअनुसारको शिकारी हो, जो अर्काको व्यक्त्विमाथि येनकेन धावा बोल्न चाहन्छ ?

हाम्रो राजनीतिक निर्णयको सहीपना किन भर्चुअल स्पेसमा बस्दैमा प्रमाणित हुँदैन, अनि हामी कुनै सामान मगाएर किन्छौं, तर सही सामान किन्यौं कि किनेनौं छुट्याउन सक्दैनौं ? वा भनौं कहिलेकाहीं त अपराधकै घानमा पनि परिसक्छौं ?

हामी सधैं विवेकको कुरा गर्छौं, तर निर्णय लिने बेलामा किन विवेक प्रयोग गर्दैनौं ? दोभानले यसमा जवाफ दिएकी छन् । र यी सबै कुराको रचनात्मक निचोडमा नयाँ समयको अध्यात्मको खोजी गर्नुपर्ने खाँचो औंल्याउँछिन् ।

वैज्ञानिक दोभानले प्रस्ताव राखेको अध्यात्म कस्तो खालको हो ?

उनीसँग बसन्त बस्नेतले गरेको यो कुराकानी सुन्नुहोस् ।

भिडियो तथा तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?