
५ पुस, काभ्रे । नेपाल पुलिस स्कुल साँगामा संचालित ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८१ को उपाधी सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले जितेको छ ।
फाइनलमा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिमले नेपाल पुलिस स्कुल साँगा (रातो) टिमलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा सशस्त्र प्रहरी विद्यालय कीर्तिपुर टिम प्रथम, नेपाल पुलिस स्कुल साँगा (रातो) टिम द्वितीय र नेपाल पुलिस स्कुल धरान टिम तृतीय भएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताए। गुणस्तरीय शिक्षा र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको माध्यमबाट विद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधार विद्यालयको प्राथमिकता रहने उनको विश्वास छ ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा, बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, अखिल नेपाल फुटबल संघका उपमहासचिव बद्री भट्टराई, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेल लगायतको सहभागिता रहेको थियो।
मंसिर १८ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको थियो।
प्रतिक्रिया 4