
६ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूहरू मूल काममा केन्द्रित रहेको बताएका छन् ।
लेखा समितिको बैठक लामो समयदेखि बस्न नसकेको भनेर भएको सार्वजनिक टिकाटिप्पणीबारे अनलाइनखबरसँग कुरा गर्दै सभापति पोखरेलले बेरुजुबारे हरेकदिन जसो छलफल चलिरहेको बताए ।
लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति रहेका छन् । उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम गरिरहेको सभापति पोखरेलले बताएका हुन् ।
‘सिंहदरबारस्थित लेखा समितिको सभाकक्षमा जानुभयो भने हरेक दिन कुनै न कुनै उपसमितिको बैठक बसिरहेको हुन्छ । सम्बन्धित मन्त्रालयको सचिवले, सहसचिवले समय दिन नभ्याएको दिन बाहेक हरेक दिन जसो बैठक बसिरहेको छ,’ सभापति पोखरेलले भने ।
लेखा समितिको बैठक किन बसेन भन्नु भन्दा पहिले लेखा समितिको कार्यक्षेत्र र जिम्मेवारी बुझ्न उनको आग्रह छ । सभापति पोखरेल दोहो¥याउँछन्, ‘लेखा समितिमा विधेयक आउँदैन । यसको मुख्य काम बेरुजु सम्परीक्षण गर्ने हो जो हरेकदिनजसो चलिरहेकै छ ।’
सभापति पोखरेलले अब बस्ने अधिवेशनमा महालेखापरीक्षकको ६० औं प्रतिवेदनउपर छलफल गरेर त्यसको प्रतिवेदन पेस गर्ने आफूहरुको तयारी रहेको बताए । यो लक्ष्यका साथ काम गरिरहेको उनले जानकारी दिए ।
महालेखापरीक्षकको कार्यालयले फछ्र्योट हुन नसक्ने भनेर लेखी पठाएको अवस्थामा लेखा समितिले सम्परीक्षण गरेर असुल उपर गर्ने विषयमा उपसमितिहरूले अध्ययन गर्नेछन् ।
सार्वजनिक महत्वको विषयमा छलफल गर्नका लागि मूल समितिको बैठक राख्न सकिने तर यसका लागि सांसदहरूको व्यवस्ता ख्याल गरिनुपर्ने उनको भनाइ छ ।
उनी भन्छन्, ‘बेरुजुको विषय बाहेक सार्वजनिक महत्त्वको विषयमा बैठक बस्न सक्छ । यसका लागि माननीयहरु निर्वाचन क्षेत्रमा, निजी काममा हुनुहुन्छ । यो बीचमा चाडपर्व पनि परे ।’
समितिमा रहेका उजुरीहरूबारे अध्ययन गर्न र अगाडि बढाउने विषयमा राय दिन उजुरी समिति रहेको पनि उनले जानकारी दिए । ‘हाम्रोमा एजेण्डा सभापतिले छान्ने चलन छैन । पाँच जना रहेको उजुरी समिति छ । त्यसले आएका उजुरी हेरेर एजेण्डा बनाउने कि नबनाउने भन्ने तय गर्छ,’ उनले भने ।
हालै उजुरी समितिको बैठक बसेको र उक्त बैठकले संसदको अब बस्ने अधिवेशनमा महालेखाको ६० औं प्रतिवेदनमाथिको छलफल प्रतिवेदन पेस गर्ने र त्यसपछि उजुरीका विषयमाथि थप अध्ययन गरेर अगाडि बढाउने तय गरेको सभापति पोखरेल बताउँछन् ।
‘उजुरी समतिको बैठक एक हप्ता पनि भएको छैन । उक्त समितिले बेरुजुको छलफलमा केन्द्रित हुने निर्णय गरेको छ । त्यसपछि सार्वजनिक महतवको विषयमाथि छलफल गर्ने निर्णय गरेको छ’ सभापति पोखरेलले भने ।
बैठक राख्नका लागि भने आफु जहिल्यै तयार रहेको उनले दोहोर्याए ।
‘माग र आवश्यकता भए जति खेर पनि बैठक राख्न सभापति तयार नै छ । यसमा कुनै कन्फ्युजन नै छैन’ सभापति पोखरेलले भने ।
प्रतिक्रिया 4