
होली खेल्ने उत्साहसँगै कतिपयलाई मौसम कस्तो रहला ? भन्ने जिज्ञासा पनि रहन्छ । किनकि, कतिपयको त्यही अनुसार होलीको लागि तयारी हुनसक्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार रंगहरुको पर्व होलीको दिन (भोलि) पनि राम्रोसँग घाम लाग्दैन । तर, चिन्ता लिनु पर्दैन । बादल लागे पनि मेघ गर्जन वर्षा भने नहुने देखिन्छ ।

काठमाडौं उपत्यका र उपत्यका आसपासका क्षेत्रमा भने छिटफुट मात्र पानी पर्ने सम्भावना छ । उपत्यकामा पानी परिहालेछ भने पनि हल्काभन्दा बढी नपर्ने मौसमविद प्रतिभा मानन्धर बताउछिन् ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अघिल्ला दिनहरुमा जस्तै आगामी तीन दिनसम्म बादल लाग्ने छ । तर ठूलो पानी पर्ने सम्भावना छैन ।

अहिलेको मौसमी प्रणाली कमजोर भएकाले टलक्क घाम लाग्ने अवस्था छैन । पानी परिहालेछ भने पनि अलि–अलि छिट्याउने जस्तो मात्र देखिन्छ, ठूलो पानी पर्दैन ।

आगामी तीन दिनसम्म बादल लाग्ने र आकाश धुम्म देखिने र अर्को हप्ताबाट भने मौसममा सुधार हुने सम्भावना रहने आँकलन गरिएकाे छ ।

अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ । जसको प्रभावले देशभर नै बादल लागेको हो ।