१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विभिन्न राजनीतिक दलका मधेसवादी नेताहरुबीच भेटवार्ता भएको छ । मोदीसँगको भेटपछि नेपालका मधेसवादी नेताहरुको ‘बडी ल्याङ्वेज’ केही निराशाजनक देखिएको छ ।
मोदीलाई भेट्न कांग्रेस र एमाओवादीका मधेसी नेतासहित मधेसवादी दलका नेताहरु होटल हायात पुगेका थिए । तर, मोदीसँगको भेटपछि मधेसवादी दलका नेताहरु निराश बनेका छन् ।
भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफूहरुमाथि विभेद भएको गुनासो गरेका थिए । ‘केही नेताले हामीमाथि विभेद भो भन्दा उहाँ -मोदी)ले राम्रो मान्नुभएन’ मधेस समता पार्टीका अध्यक्ष मेघराज नेपाली निषाधले मोदीलाई उधृत गर्दै अनलाइनखबरसँग भने- ‘तपाईहरु हिमाल, पहाड र तराईलाई जोड्ने चेष्टा गर्नुस् ।’
भेटमा कांग्रेस नेता अमरेशकुमार सिंहले संसदमा मोदीले सम्बोधनका क्रममा ‘मधेस’ को सट्टा ‘तराई’ शब्द प्रयोग गरेको तथा माथिल्लो कर्णालीसहितका पहाडी परियोजनाको मात्र चर्चा गरेको भन्दै गुनासो गरेका थिए । भेटपछि सिंहले अनलाइनखबरसँग भने-‘मधेसमा अहिले पनि गरीबी छ, विकासमा असमानता छ । मैले मधेसको विकासको कुरा गरेको हुँ ।’
आइतबार संसदमा मोदीले पहाड र हिमालको चर्चा गरेका थिए । उनले गोर्खालीको प्रशंसा गरेका थिए । जवकि नेपालका मधेसी नेताहरुले गोर्खालीको नाम सुन्न रुचाउने गरेका छैनन् । यही कारणले कांग्रेस नेता सिंहले मोदीसमक्ष पहाडको मात्रै कुरो गरेको, तर मधेशको कुरो नगरेको भन्दै गुनासो पोखेका हुन् ।
सिंहको जवाफमा मोदीले ‘तराई-मधेस’ भन्न आफू सकारात्मक रहेको भन्दै ‘पहाडबिरोधी’ मनोदशाबाट माथि उठ्न मधेसी नेताहरुलाई आग्रह गरेका छन् । भेटमा सहभागी एक नेताले भने-‘मधेसले भनेको विकासमा सहयोग गर्छाैैं तर, एन्टी पहाडी भावनाबाट माथि उठ्नुस् भन्ने मोदीको आग्रह थियो ।’
मधेसलाई विशेष सम्बोधन गर्नुपर्ने मधेसी नेताहरुको जवाफमा मोदीले संसदमा सम्बोधनका क्रममा मधेसलाई मात्र नभई सिंगो नेपाललाई सम्बोधन गरिसकेको जवाफ दिएका छन् । ‘तपाईहरु पनि मधेस होइन, देश सोच्नुस्’ मोदीको भनाइ उदृत गर्दै स्रोतले भन्यो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अबवरुद्दिनले पनि मोदीले दलहरुलाई पार्टी होइन, देशलाई केन्द्रमा राख्न भनेको भन्दै यसको संकेत गरेका छन् ।
मोदीसँगको भेटमा मधेसी नेताहरुले मधेसको पहिचानलाई मान्यता दिने संघीयता भएमात्रै मधेसीहरुको राजनीतिक अपेक्षा पूरा हुने बताएका छन् । जवाफमा मोदीले संसदलाई सम्बोधन गर्ने क्रममा पनि सबै फूलको सुगन्ध भएको पुष्पगुच्छा बनाउन आफूले आग्रह गरेको मधेसी नेताहरुलाई स्मरण गराएका छन् ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4