१६ मंसिर, काठमाडौं । भौतिक पूर्वाधारको विकास र स्रोत साधनको अवस्था जे भए पनि अब नेपालको कुल जनसंख्याको करीव ३७ प्रतिशत जनता ‘शहरबासी’ भएका छन् ।
नेपालको विकास योजना बनाउनेहरुले नगरपालिकाभित्रका बासिन्दालाई शहरबासीको दर्जा दिने गरेका छन् । मंगलबार ६१ नगरपालिका थपिएपछि ३६ दशमलव ८ प्रतिशत जनता नाममात्रैको भए पनि शहरबासी भएका हुन् ।
पछिल्लोपटक थपिएका ६१ नगरपालिकामा २ सय ५८ गाविसका २२ लाख ३६ हजार ७ सय ७९ जनसंख्या नगरका बासिन्दामा परिणत भएका हुन् ।
पछिल्लोपटक नगरपालिका घोषणा हुँदा २५८ गाविस मासिएका छन् । अब देशभर गाविसको संख्या ३ हजार २ सय ७६ बाँकी रहेको स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।
यसैपालि २३ नगरपालिकाको क्षेत्रफल बिस्तार गर्दा थप ९१ गाविस नगरमा गाभिएकाले गाविसको संख्या घटेको हो ।
बूढानीलकण्ठ ठूलो, देउमाई सानो
पछिल्लोपटक थपिएका ६१ नगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा छ ।
स्थानीय विकास मन्त्रालयले दिएको विवरण अनुसार कपनसमेत जोडिएको यस नगरपालिकाको जनसंख्या १ लाख ७ हजार ९ सय १८ छ ।
त्यसपछिको दोस्रो जनसंख्या काठमाडौंको चन्द्रागिरी नगरपालिका छ, जहाँ ८५ हजार १९८ जनताको बसोबास छ ।
सबैभन्दा कम जनसंख्या इलामको देउमाई नगरपालिकामा छ । देउमाइको जनसंख्या १० हजार ९ सय ६४ छ ।
प्रतिक्रिया 4