८ माघ, काठमाडौं । संविधानसभाको बैठक कक्षमा खुर्सानीको धुलोका पोकाहरु भेटिएको छ ।
संविधानसभाको बैठक बस्नुअघि सुरक्षा जाँच गर्नेक्रममा विभिन्न स्थानमा खुर्सानीका धुलोका १० पोका फेला परेको हो ।
संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सञ्चारकर्मीहरुसँग भने-‘यो ज्यादै संवेदनशील र दुःखत हो । यसले गर्दा आज सुरक्षा व्यवस्था कडा पारिएको छ ।’
बैठक कक्षभित्र सीसीटीभीको व्यवस्था नभएकाले खुर्सानीको धुलो कसले लगेको भन्ने पत्ता लगाउन केही कठिनाइ भएको छ । यद्यपी अनुसन्धान भइरहेको प्रवक्ता शर्माले बताए ।
संविधानसभा भवन प्रवेशका लागि आज सभासदहरुलाई समेत चेकजाँच गरिएको छ । तीन नम्बर गेट बन्द गरिएको छ भने दुई नम्बरको मूल गेटबाट प्रवेश गराई सभासदसहित सबैलाई गाडीबाट ओरालेर शरीर खानतलासि गरिएको छ ।
सभासद्ले बैठक स्थलमा पुग्न तीन ठाउँमा सुरक्षाजाँच पास गर्नुपरेको छ । उनीहरुको गोजी खानतलासी गरिएको छ भने धुम्रपान गर्ने सभासदहरुले लाइटर, चुरोट बोकेको भए त्यसलाई समेत सुरक्षाकर्मीले बाहिरै राख्ने गरेका छन् ।
प्रतिक्रिया 4