२७ माघ, काठमाडौं । एमाओवादी नेताहरुले ल्यारक्याल लामाबारे मंगलबार तीन किसिमका विम्ब र उपमा सार्वजनिक गरे । कसैले यो विवादलाई जुम्रोसँग तुलना गरे भने कसैले उनलाई ‘विज्ञ’को संज्ञा दिए ।

एमाओवादी नेता डा. बाबुराम भट्टराईले सभासदमा ल्यारक्याल लामाको नियुक्तिसम्बन्धी विवादलाई ‘जुम्रा’को संज्ञा दिए भने पार्टी प्रवक्ता दीनानाथ शर्माले उनी विज्ञ भएकाले सभासद बनाइएको भन्दै विज्ञप्ति निकाले । अर्का नेता प्रभु साहले चाँहि लामालाई ‘मालदार’ व्यक्तिको संज्ञा दिए ।
विवादास्पद छविका लामालाई पार्टीले अकस्मात् मधेसी दलितको सीटमा सभासद बनाएपछि यो निर्णयलाई लिएर एमाओवादीभित्र अन्तरविरोध चर्किएको छ ।
तर, कांग्रेस र एमालेले सिंगै संविधानसभामा अपहरण गर्दा पनि ध्यान नजानु तर, एमाओवादीले गरेको एक सभासदको नियुक्तिलाई लिएर बढी चर्चा गर्नु सही नभएको तर्क एमाओवादी नेता डा. बाबुराम भट्टराईको छ ।
कागको पछि नदौडौं : डा. भट्टराई
नेता डा. भट्टराईले यो प्रकरणमा कागको पछि नदौडिन आग्रह गर्दै कांग्रेस र एमालेले संविधासनभाकै अपरण गर्न लागेका बेला एक सभासदको नियुक्ति ठूलो कुरा नभएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले भनेका छन्-‘एउटा सभासद नियुक्तिको प्रश्न संविधानसभाकै अपहरण गरेर ०४७ को संविधान नयाँ गातासहित जारी गर्ने प्रतिगामी हर्कतभन्दा ठूलो हो त ? कागको पछि नदौडौं ।’
एउटा सभासद् नियुक्तिको प्रश्न संविधानसभाकै अपहरण गरेर०४७ को संविधान नयाँगाता सहित जारीगर्ने प्रतिगामी हर्कतभन्दा ठुलो हो त?कागको पछि नदौडौं!
— Baburam Bhattarai (@brb_laaldhwoj) February 9, 2015
ल्हारक्याल प्रकरणलाई नै संकेत गर्दै डा. भट्टराईले धनगढीबाटै अर्को ट्वीट पनि गरेका छन् । उनले एमाओवादीको आङको जुम्रो खोज्नेहरुले कांग्रेस एमालेको आङको भैंसी देख्न नचाहेको गुनासो गरेका छन् ।
एमाओवादीको आंगको जुम्रो खोज्नेहरुले संयुक्तरुपमा देशको ब्रह्मलुट गरिरहेका कांग्रेस/एमालेको आंगको भैंसी किन नदेखेका वा नदेखे झैं गरेकाहोलान्?
— Baburam Bhattarai (@brb_laaldhwoj) February 9, 2015
‘एमाओवादीको आङको जुम्रो खोज्नेहरुले संयुक्तरुपमा देशको ब्रम्हलुट गरिरहेका कांग्रेस र एमालेको आङको भैंसी किन नदेखेका वा नदेखे झैं गरेका होलान् ?’ डा.भट्टराईको प्रश्न छ ।
प्रभु साहको आपत्ति
डा. बाबुराम भट्टराई समूहकै नेता प्रभु साहले पत्रकार सम्मेलन नै गरेर ल्हारक्यालका बारेमा पार्टीले गरेको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
मधेसी दलितको कोटा खोसेर मालदार व्यक्तिलाई सभासद बनाइएको साहको आरोप छ । केन्द्रीय समितिमा छलफल नै नगरी हस्ताक्षर कीर्ते गरेर उनलाई नियुक्त गरिएको साहको आरोप छ ।
मधेसमा एमाओवादीप्रति आकर्षण घटिरहेका बेला गरिएको यस्तो निर्णयले मधेसमा पार्टी कमजोर हुने भन्दै साहले मधेसी, गरीब र दलितहरु यो निर्णयबाट मर्माहत भएको गुनासो सहित वक्तव्य जारी गरेका छन् ।
प्रवक्ता भन्छन् : ल्यारक्याल विज्ञ हुन्
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले मंगलबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै ल्यारक्याल लामा बुद्धिष्ट समुदायका विज्ञ भएकाले उनलाई सभासद बनाइएको जिकिर गरेका छन् ।
ल्यारक्यालमाथि लागेको आरोपमा उनले सफाइ पाइसकेका उनलाई विवादास्पद व्यक्ति भन्न नमिल्ने प्रवक्ता शर्माको तर्क छ ।
‘पोष्टबहादुर पनि छक्क, हामी पनि छक्क’
उता एमाओवादीका अर्का नेता आहुतीले फेसबुकमा स्टाटस लेख्दै ल्यारक्याललाई सभासद बनाइएकोमा आफू छक्क परेको बताएका छन् ।
आहुतीले दिवंगत भइसकेका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी दिवाकरलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्-‘प्रिय पोष्टबहादुर दिवाकर, दुईवटा हात्ती मिले पनि नमिले पनि तोरीबारी ध्वस्त पार्छन् । तर, यसपालि तिम्रो यो आरोपलाई छल्न होला, सायद हात्तीहरुले मिलेर तोरीबारीतिर ध्यानै दिएनन् । बरु मिस्टर माननीय ल्यारक्याललाई पो जन्म दिए । तिमी पनि छक्क, हामी पनि छक्क ।’
प्रतिक्रिया 4