+
+

बाबुरामले अब नयाँ पार्टी किन नबनाउने ?

एमाओवादीका नेता डा. बाबुराम भटराईलाई सधैँ अरुभन्दा फरक देखिन मन लाग्छ । खुल्ला राजनीतिमा अवतरण भएयताका उहाँका सम्पूर्ण क्रियाकलापहरु अरु नेताभन्दा कसरी फरक देखिने भन्नेमै केन्द्रित देखिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १० गते १९:५०

विष्णु रिजाल
एमाओवादीका नेता डा. बाबुराम भटराईलाई सधैँ अरुभन्दा फरक देखिन मन लाग्छ । खुल्ला राजनीतिमा अवतरण भएयताका उहाँका सम्पूर्ण क्रियाकलापहरु अरु नेताभन्दा कसरी फरक देखिने भन्नेमै केन्द्रित देखिन्छन् । चार दलबीच १६ बुँदे सहमति भएर संविधानको पहिलो मस्यौदा बनिससकेको अवस्थामा शनिवार उहाँले त्यस सहमतिको प्रतिकूल हुने गरी निकै प्रचार प्रसारका साथ छलफल आयोजना गर्नुलाई पनि त्यसैको निरन्तरताका रुपमा लिनुपर्छ ।
Baburam-Bhattrai-1
बाबुराम एउटा प्रमुख पार्टीको प्रमुख नेता हुनुहुन्छ, पार्टीलाई सहमतिमा नलिएर कुनै चलचित्रकर्मी, स्त्रीरोग विशेषज्ञ वा बुद्धिजीवीहरुले शासकीय स्वरुपजस्तो जटिल निर्णय लिन सक्छन् भनेर पक्कै पनि उहाँले उक्त भेला आयोजना गर्नुभएको थिएन । यदि अघिल्लो संविधानसभामा झैँ एमाओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा उभिएको भए अहिले धेरै सजिलो थियो, त्यो निर्णय हुन पनि सक्थ्यो । तर, पछिल्लो निर्वाचनले हानेको झापडबाट रन्थनिएको एमाओवादी नेतृत्वले आफ्नो अनुहार प्रत्यक्ष निर्वाचित कार्यकारीको ऐनामा हेर्नै सकेन र उक्त मुद्दालाई बेवारिशे छोडिदियो । फलतः कांग्रेसलाई सजिलो भयो ।

अडानका सन्दर्भमा एमालेको कुरै नगर्दा राम्रो हुन्छ । उपयुक्त एजेन्डा उठाउने र अनुपयुक्त रुपले छोड्ने परम्परालाई निरन्तरता दिँदै आफ्नै घोषणापत्रमा उल्लिखित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डालाई कसैले नउठाइदिए हुन्थ्यो भनेर उसले छिटोछिटो छोड्यो ।

कडा अडान लिने भनेर चर्चित एमालेको नेतृत्वले आफ्ना कुनै माग पूरा नभए पनि हुबहु कांग्रेसको घोषणापत्र अनुसारको संविधान बनाउने कुरामा सहमति जनायो । किनभने, अहिले एमालेलाई हतार छ, छिटो धेरै काम गर्नुछ ।

एमाओवादीभित्र बसेर यति धेरै दुःख उठाउनुभन्दा बाबुरामले नयाँ पार्टी बनाउनु उपयुक्त हुन्छ । एमाओवादीले अघि सारेका कतिपय मान्यतासँग उहाँका विचार मेल खाँदैनन्

हाराहारीमा रहेका कम्युनिस्टहरुलाई जिल्याउँदै कांग्रेसले नयाँ संविधानको पहिलो मस्यौदामा वीपी कोइरालाको नाम उल्लेख गर्नेबाहेक सम्पूर्ण रुपमा आफ्ना एजेन्डा हुलिसकेपछि अहिले बाबुराम भट्टराईहरुले महंगा होटलमा केही बुद्धिजीवी बोलाएर पानीमाथिको ओभानो हुन मिल्छ ? लोकका आँखामा छारो हाल्नका लािग, मिडियामा प्रचारमा आउनका लागि र जता काफल पाक्यो त्यतै कराउने बौद्धिक तप्काबीच लोकप्रिय हुनका लागि त्यस्ता कार्यक्रमको खपत हुनु बेग्लै कुरा हो, नत्र भने तिनको रत्तिभर औचित्य छैन ।

बाबुराम भट्टराई स्वयम् राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति हुनुहुन्छ । अहिलेको हिजडा शासकीय स्वरुप उहाँकै समितिबाट बैधानिक रुपमा पारित भएर अघि बढेको हो । त्यहाँ निर्णायक धक्का दिन नसक्ने, चारदलबीच १६ बुँदे सहमति हुँदा सहमति बनाउन नसक्ने अनि हिमालय होटलमा लोकराज बरालहरुलाई साक्षी राखेर ती विषय संविधानमा समावेश हुन्छन् ?

जब जब एमाओवादीभित्र विवाद हुन्छ, बाबुरामलाई संकट पर्दछ, तब तब उहाँ यस्ता बुद्धिजीवीहरुको सहयोग लिनुहुन्छ । युद्धकालमा भारतपरस्त भन्दै पार्टीभित्र कारवाहीमा परेपछि उहाँले आफ्नो राजनीतिक र भौतिक जीवन रक्षाका लागि छिमेकी मुलुकको खुफिया एजेन्सी र नेपालका केही बुद्धिजीवीहरुको सहयोग माग्नुभएको पाइन्छ । पछि बाध्य भएर पुष्पकमल दाहालले उहाँमाथिको कारवाही फिर्ता गर्नुपरेको थियो ।

विष्णु रिजाल
विष्णु रिजाल

त्यति मात्र होइन, पार्टीभित्र सहमति नहुँदा नहुँदै, दाहालले नचाहँदा नचाहँदै पनि प्रधानमन्त्रीको उम्मेदवार हुनमा पनि उहाँले यस्तै बजारिया सहयोग लिनुभएको थियो । अहिले पनि यस्तो जमघट देख्दा उहाँमाथि केही संकट आइपरेछ कि भनेर बुझ्नुपर्छ ।

मुस्ताङ म्याक्सको भद्दा प्रहसन केवल प्रचारकै लागि थियो भन्ने कुरा अहिले उक्त गाडी उत्पादन गर्ने कारखाना बन्द हुनुले नै पुष्टि गर्दछ । प्रधानमन्त्री हुँदा नीति बनाउने हो, त्यस्ता आवश्यक कारखानालाई प्रोत्साहित गर्ने हो र उत्पादनका लागि वातावरण तयार गर्ने हो । तर, विडम्बना ! बाबुरामको उल्टो प्रयोग एउटा कलाविहीन नाटक थियो भन्ने कुरा त्यतिबेला नबुझेकाहरुले पनि अहिले बुझ्न पाएका छन् ।

प्रधानमन्त्री भएर आर्थिक उत्पादन बढाउने, नेपाल वायुसेवा निगमलाई सक्षम बनाउने जस्ता काममा होइन, बिजनेस क्लासको साटो इकोनोमिक क्लासमा जहाज चढ्ने काम गरेर पनि उहाँ चर्चामा आउन नखोजेको होइन । यी सबै प्रकरणहरुले के देखाउँछ भने कम्युनिस्ट पार्टीको नेताको त कुरै छोडौँ, बाबुराम भट्टराईले गएगुज्रेको बुर्जुवा नेतालाई पनि माथ गर्ने गर्नुभएको छ ।

बाबुराम भट्टराईमा एमाओवादीको मुख्य नेतृत्वमा कसरी आउने भन्ने ठूलो चिन्ता छ । भारतमा अरविन्द केजरीवालको चर्चा चुलिएका बेला उहाँले पनि नेपालमा नयाँ शक्तिको छाटा ओढ्न थाल्नुभएको थाल्नुभएको थियो । उहाँको मुख्य रुचि बुझेर पुष्पमकल दाहालले पार्टी नेतृत्वको उधारो आश्वासन दिएपछि भूकम्प नआउँदै त्यो बहस एकाएक गायव भएको थियो र उहाँ दाहालको प्रशंसामा जुट्नुभएको थियो । छिमेकी शक्तिकेन्द्रमा पुगेर पनि उहाँले आफ्नो खुसी साट्नुभएको थियो ।

सर्वत्र निराशा फैलिएका बेला कागताली परेर कहिलेकाहीँ त्यस्तो पार्टी विकल्प पनि बन्न सक्छ । एकपटक बाबुरामले त्यो प्रयोग किन नगर्ने ?

पार्टीभित्रबाट निर्वाचन जितेर आफ्नो बलमा कुनै पनि हालतमा नेतृत्वमा पुग्दिँन भन्ने थाहा पाउनुभएका उहाँका लागि त्यसयताको समय त्यति पि्रय भएन । किनभने, दाहालले भनेजसरी पार्टीको नेतृत्व हस्तान्तरण हुने सम्भावना क्षीण हुँदै गएको छ । त्यसबाट बाबुराममा फेरि छटपटि सुरु भएको छ । त्यही भएर कहिले समानान्तर काठमाडौँ जिल्ला कमिटीका नाममा त कहिले मजदुरका नाममा भेला आयोजना गरेर प्रमुख नेता हुने रहर पूरा गर्न थाल्नुभएको छ । हिमालय होटलको भेलालाई पनि उहाँको त्यही अभ्यासको एउटा कडीका रुपमा बुझ्नुपर्छ ।

एमाओवादीभित्र बसेर यति धेरै दुःख उठाउनुभन्दा बाबुराम भटराईले नयाँ पार्टी बनाउनु उपयुक्त हुन्छ । एमाओवादीले अघि सारेका कतिपय मान्यतासँग उहाँका विचार मेल खाँदैनन् । मार्क्सवादको व्याख्यामै पनि उहाँ धेरै पर पुगेको देखिन्छ । यस्तो बेलामा त्यही पार्टीमा बसेर सिँगौरी खेल्दा न त्यो  पार्टी उँभो लाग्छ, न त उहाँ नै । बरु, आफ्नो विचार, संगठन र नेतृत्वलाई संयोजन गरेर उहाँ जस्तो नेताले नयाँ पार्टी गठन गर्नु उपयुक्त हुन सक्छ ।

सर्वत्र निराशा फैलिएको बेला कागताली परेर कहिलेकाहीँ त्यस्तो पार्टी विकल्प पनि बन्न सक्छ । एकपटक बाबुराम भटराईले त्यो प्रयोग किन नगर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?