२२ साउन, काठमाडौं । नेकपा एमाले राप्ती अञ्चललाई नटुक्राउने निष्कर्षमा पुगेको छ । उपाध्यक्ष युवराज ज्ञवालीले अखण्ड राप्तीको पक्षमा अडान राखेपछि एमाले शीर्ष नेताहरु राप्ती अञ्चललाई नटुक्राउने निष्कर्षमा पुगेका हुन् ।

शुक्रबार बसेको एमाले बरिष्ठ नेताहरुको आकस्मीक बैठकमा दाङ घर भएका उपाध्यक्ष ज्ञवालीले अखण्ड राप्तीको पक्षमा अडान राखेका थिए । आफ्नो सुझाव अनुसार पार्टीले अखण्ड राप्तीको पक्षमा निर्णय गरेको ज्ञवालीले बताए ।
‘६ प्रदेशमा जाँदा राप्ती अञ्चल अखण्ड नै रहन्छ,’ बैठकपछि ज्ञवालीले अनलाइनखबरसँग भने, ‘राप्तीका जिल्लाहरु पूर्वपश्चिम जता जोडे पनि टुक्रिँदैनन् ।’
राप्ती अञ्चलको दाङलाई अलग्याएर अन्य चार जिल्ला प्यूठान, रोल्पा, सल्यान र रुकुमलाई पूर्वतर्फको प्रदेशमा जोड्ने प्रयास प्रमुख दलहरूले गरेपछि विरोध सुरु भएको थियो । विरोध चर्किएपछि ज्ञवालीले अखण्ड राप्तीका पक्षमा पार्टी भित्र दबाव दिएका थिए ।
‘राप्ती अञ्चललाई अब टुक्राउन पाइने छैन’, एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘जुन राज्यमा राखे पनि राप्ती अञ्चल अखण्ड रहनेछ । राप्ती अञ्चलवासीको इच्छाअनुसार राज्यपुनःसंरचना हुनेछ ।’
प्रतिक्रिया 4