७ भदौ, काठमाडौं । उप्रप्रधान एवं गृहमन्त्री बामदेव गौतमले कैलालीको टीकापुरमा बन्चरो, खुकुरी र हँसिया लिएर आएका आन्दोलनकारीहरुले प्रहरी र सशस्त्र प्रहरीलाई घेरा हालेर आक्रमण गरेको बताएका छन् ।
व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले टीकापुर घटना सुनियोजित भएको समेत बताए । उनले भने-पूर्व, पश्चिम, दक्षिण र उत्तरतिरबाट मानिसहरु आए । थरुहटको नारा लगाए र हत्याको घटना भयो ।’
उनले एसएसपी लक्ष्मण न्यौपानेसहितका प्रहरीलाई भालाले हानेर र सशस्त्र प्रहरीका हवलदारलाई जलाएर मारिएको बताए । उनले टीकापुरमा रक्तपातपूर्ण भएको र यो योजनावद्ध रुपमा भएको समेत दाबी गरे ।
उनले त्यस्तै किसिमको घटना गराउने गरी संसदबाटै आहृवान गर्ने काम भएको भन्दै त्यस्ता विचार फैलाउन संसदलाई प्रयोग गर्न दिन नहुने बताएका छन् ।
गृहमन्त्री गौतमले रौतहटमा पनि घरेलु हतियारसहित प्रदर्शन भएको र दक्षिणतिरबाट समेत मानिसहरु आएको सूचना पाएको बताए ।जातीय द्वेष भड्काउने र समाजिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै उनले समाजिक सद्भाव भड्कन नदिन देशवासीलाई आहृवान गर्नु पर्ने बताए ।
प्रतिक्रिया 4