१६ भदौ, काठमाडौं । एमाओवादीले थारु समुदायलाई सम्बोधन नगरी अघि बढ्न नसक्ने निष्कर्षका साथ दलहरुसँग सहमतिको प्रयास थालेको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले बुधबार एमाले अध्यक्ष केपी शर्मा र नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन् ।
त्यसअघि मंगलबार साँझ प्रधानमन्त्री सुशील कोइराला र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका माओवादी शीर्ष नेताहरुले फोरम अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि सम्वादकोे तयारी गरेका छन् ।
बबरमहलस्थित एक निजी घरमा भएको एमाले र एमाओवादी शीर्ष नेताहरुको भेटवार्तामा मुलुकको समग्र परिस्थितिबारे छलफल भएको थियो । तर, कुनै ठोस सहमति भने भएको छैन ।
स्रोतका अनुसार एमाओवादी नेतृत्व थारुसहितका समुदायलाई सम्बोधन नगरी अघि नबढ्ने निष्कर्ष पुगेका छन् । ‘केही न केही सम्बोधन नगरी हुँदैन’ एमाओवादी एक शीर्षनेताले अनलाइनखबरसँग भने-‘परिस्थिति जटिल भएको छ । यसमा तपाईहरुको ध्यान गएको छैन भनेर हामीले एमाले नेताहरुलाई भनेको छौं ।’
थारु समुदायलाई सम्बोधन गर्दा मगरातको पनि समस्या समाधान हुने एमाओवादीको निष्कर्ष छ । मधेसमा पनि मोरङ र सुनसरीबारे पुनर्विचार गर्न एमाओवादीले एमाले नेतृत्वसमक्ष प्रस्ताव गरेको छ । स्रोतले भन्यो-‘झापाबारे मौन बस्ने हो भने पनि मोरङ र सुनसरीबारे के गर्ने भन्ने सल्लाह गरौं भनेर हामीले भनेका छौं ।’
छलफलमा एमाले नेतृत्वले भने प्रदेशहरुको सीमांकन पहिला जस्तै आयोगलाई दिने वा अहिलेको सीमांकनलाई घोषणा गरेर जाने अडान लिएको छ ।
कांग्रेस नेतृत्वले भने अमूर्त कुरा मात्र गरेको एमाओवादी नेतृत्वको गुनासो छ । स्रोतले भन्यो-कांग्रेस नेतृत्वले कुनै मूर्त कुरा गरेको छैन । हेरौं, हाम्रो पार्टीका शीर्षनेताहरु सम्वादमा जुट्नुभएको छ ।’
मधेसी नेता राजधानीमा व्यस्त
यसैवीच सम्वाद र सहमतिको मार्गबाट समस्याको समाधान खोज्न मधेसी नेताहरु राजधानीमा आएका छन् ।
मधेस आन्दोलनको नेतृत्व गरिरहेका उपेन्द्र यादव र महन्थ ठाकुर अहिले दुबैजना काठमाडौंमा छन् । उनीहरुले विभिन्न दलका नेतासँग छलफल गरिरहेका छन् ।
सदभावनाका अध्यक्ष राजेन्द्र महतोले भने पर्सामा आन्दोलनको नेतृत्व गरिरहेका छन् । महतो मधेसमै रहेकाले राजधानीमा मधेसी मोर्चाको बैठक बस्न नसकेको स्रोतले बतायो ।
प्रतिक्रिया 4