२३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दलले संविधानसभा छाड्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । संविधानसभाबाट बाहिरिनेहरुलाई ओलीले ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका छन् ।
बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘संविधानसभाबाट तराई बाहिरिएको होइन, कोही-कोही बाहिर गएका हुन् । तराई कांग्रेससँग छ, एमालेसँग छ, एमाओवादीसँग छ ।’
केही दिनभित्रै संविधान बन्ने भन्दै उनले संविधान निर्माण प्रक्रियाबाट अलग भएका दलहरुलाई संविधानसभामा आउन आग्रहसमेत गरे ।
संविधानसभा छाड्ने दलहरुका कारण संविधान बन्दैन कि भनेर भ्रममा नपर्न उनले सबैलाई आग्रह गरे । उनले भने, ‘हामी नेपालीहरुमा नकारात्मक सोच छ, रुखबाट दुई-तीनटा आँप झर्यो भने लौ सबै झर्यो खत्तम भयो भन्छौं । वास्तवमा केही मात्रै झरेका हुन् । त्यसले केही फरक पर्दैन ।’
उनले संविधान सबैको साझा दस्तावेज भएकाले आफूले भनेको जस्तै हुनुपर्छ भन्ने हठ त्याग्न असन्तुष्ट पक्षलाई आग्रह गरे । ओलीले संविधानसभा अपरिवर्तनीय दस्तावेज नभएकाले यसलाई संशोधन गर्न सकिने समेत बताए ।
‘मैले भन्याअनुसार भएन, मान्दैन भनेर हुँदैन । धेरैवटा पार्टी छन् । धेरै बिचार छन्,’ ओलीले भने, ‘देश र जनताको हितमा हुने सबै कुरा मान्न तयार छौं, मानिरहेका छौं । कमीकमजोरी छन् भने संशोधनको बाटोबाट पनि सच्याउन सक्छौं । त्यसबाट पनि मिलेन भने संघीय आयोगबाट त्यसलाई मिलाउन सक्छौं ।’
छलफल र सहमतिका आधारमा संविधान बनाउनुपर्छ भन्ने दलहरु नै वार्तामा नबसेको ओलीले बताए । संविधान निर्माण अहिलेको प्रमुख आवश्यकता भएकाले सबै पक्षलाई सम्वादमा आउन र आफ्ना कुरा राख्न ओलीले आग्रह गरे ।
बलजफ्ती हिंसाको वातावरण बनाइँदै

एमाले अध्यक्ष ओलीले बलजफ्ती हिंसाको बातावरण बनाउन खोजिएको बताए । ‘विभिन्न ठाउँमा उत्तेजना फैलाउने काम आज पनि भइरहेका छन्, अहिले पनि भैरहेका छन्,’ ओलीले भने, ‘तराईमा हाम्रो पार्टी पनि छ, कांग्रेस-एमाओवादीका पार्टी, नागरिक समाज सबै छन्, तराईका सबैजना उत्तेजना र आवेशमा छैनन् ।’ ओलीले तराईमा एमालेको रगत बगेको बताए ।
केही सीमित स्वार्थका कारण तराई अशान्त रहेको भन्दै उनले कसैको भड्काउमा नलाग्न सबैलाई आग्रह गरे । शान्तिपूर्ण प्रदर्शन गर्न सबैलाई छुट भए पनि हिंसा र उत्तेजना फैलाउन नहुने उनले बताए ।
संविधान जारी भएपछि पनि वार्ता हुन्छ
एमाले अध्यक्ष ओलीले असन्तुष्ट दलहरुसँग संविधान जारी भएपछि पनि वार्ता हुने बताए । ‘संविधान जारी हुनु अघिल्लो दिनसम्म पनि हामी वार्ता गर्छौ,’, उनले भने, ‘संविधान जारी भएपछि पनि वार्तामा बस्छौं ।’ सहमति नभएमा अरु पनि विधि रहेको ओलीले बताए । तर अरु कस्तो विधि भन्ने चाँही उनले खुलाएनन् । ओलीले अरु पार्टीहरु भावनामा बगेको आरोप लगाए ।
तराई-मधेसका एमालेकै सभासदहरु समेत असन्तुष्ट रहेको भन्ने पत्रकारहरुको जिज्ञासामा ओलीले आफ्नो दायाँबायाँ राखेका थारु तथा मधेसी सभासद्हरुलाई देखाउँदै क्यामरा दायाँ बायाँ घुमाउन आग्रह गरे ।
वार्तामार्फत समाधान खोज्न र संविधान निर्माणलाई सुनिश्चित गर्न आहृवान शीर्षकका ओलीद्वारा हस्ताक्षतिर दुई पृष्ठ लामो आहृवानपत्र नेता प्रदीप ज्ञवालीले बाचन गरेर सुनाएका थिए ।
आहृवानपत्रमा तराई आन्दोलमा पृथकतावादी र साम्प्रदायिक रुप दिन खोजिरहेको र कतिपयले जबर्जस्ती हिंसा भड्काएर त्यसलाई आफ्नो निहित स्वार्थपूर्तिका लागि भावनात्मक आधार निर्माण गर्न खोजिरहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4