१९ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी तथा गरीवी निवारण मन्त्री चित्रबहादुर केसीको नाम नसुन्ने नेपालीहरु कमै छन् । संसदमा बोल्दा उखान टुक्का मिसाएर मीठो बोलेका कारणले केसीलाई मन पराउनेहरुमात्रै छैनन्, मधेसवादी र जनजातिहरुले उनलाई संघीयता विरोधी ‘आइकन’ रुपमा चिन्ने गरेका छन् ।
राजनीतिमा निरन्तरता रहे एक दिन पालो आउँछ भनेजस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री बन्न सफल भएका छन् । तर, राजनीतिमा केसीका चेलाहरु भने धेरै वर्ष पहिले नै मुलुकको प्रधानमन्त्री भइसकेका छन् ।
आजभन्दा ७५ वर्षपहिले बाग्लुङमा जन्मेका मन्त्री केसी सादगी एवं स्वच्छ छविका नेता मानिन्छन् । मन्त्री हुने दिनसम्म उनी तीन पाङ्रे सार्वजनिक टेम्पो चढेर संसद आवत-जावत गर्दै आएका छन् । घट्टेकुलोमा सामान्य डेरामा बस्ने केसीका छोरा तन्दुरी भोजनायलयमा रोटी पकाउने काम गर्छन् ।
यो पनि पढ्नुहोस् :
मन्त्री केसीका दुई छोरा र एक छोरी छन् । विगतमा बाग्लुङबाट प्रत्यक्ष चुनाव जित्दै आए पनि दोस्रो संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सभासद बनेका हुन् ।
विद्यालयको हेडमास्टरको जागिर छाडेर कम्युनिष्ट राजनीतिमा लागेका केसीले १९ वर्ष भूमिगत जीवन बिताएका छन् । उनले ९ महिना जेल जीवन बिताएका छन् ।
संसदमा ३ सीटको प्रतिनिधित्व गरिरहेको केसीको दलले सरकारमा सहभागिता जनाएको यो नै पहिलो हो । यसअघिसम्म जनमोर्चाले सरकारमा सहभागी नहुने नीति लिँदै आएको थियो ।
बाग्लुङमा प्रधानाध्यापक रहेर राजनीतिमा भाग लिँदा झलनाथ खनाल केसीका कार्यकर्ता थिए । इलामका खनाल जागिर खान विज्ञान र गणितको शिक्षक बनेर केसीको गृहजिल्ला बाग्लुङ पुगेका थिए । खनाल पछि इलाम फर्केर मालेमा लागेका थिए ।
पूर्वप्रधानमन्त्री खनालले अहिले पनि केसीलाई आफ्नो राजनीतिक गुरु मान्ने गरेका छन् ।
महिला मन्त्रालयमा श्रीमान श्रीमतीको आलोपालो
यसैवीच महिला तथा वालवालिका मन्त्रालयमा सीपी मैनालीका पति-पत्नीले आलोपालो गरेका छन् । सुशील कोइरालाका पालामा नलिम केसी महिला तथा वालवालिका मन्त्री थिइन् । अहिले नीलमका पति सीपी मैनालीले उपप्रधानमन्त्री सहित महिला मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
सीपी मैनाली भने चित्रबहादुर केसीजस्तो नयाँ मन्त्री होइनन् । झापा आन्दोलनका कमाण्डर रहेका मैनालीले विगत एमालेको ९ महिने सरकारका बेलामा समेत मैनालीले स्थानीय विकास र आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
ताप्लेजुङको फुलबारीमा विसं. २००८ सालमा जन्मेका उपप्रधानमन्त्री मैनालीले १४ महिना जेल जीवन बिताएका छन् । ०३३ साल चैत १२ गते नख्खु जेल फोरेर भाग्न सफल भएका मैनालीले ८ वर्ष निर्वासन र १९ वर्ष भूमिगत जीवन बिताएका छन् ।
वामदेव गौतमसँगै एमाले बिभाजन गराएर नेकपा माले गठन गरेका मैनाली अहिलेसम्म एमालेमा फर्केका छैनन् ।
उनको दलसँग संसदमा ५ सीट छ । ०४८, ०५१ साल र ०६३ सालमा पनि सांसद रहेका मैनाली पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद हुन् ।
नेकपा एमालेमै रहेको भए सिनियर नेताको गणनामा आउने र प्रधानमन्त्रीको पालोमा पर्न सक्ने मैनाली सानो गुटमा अल्मलिएका कारण पछि परेका हुन् । यद्यपि यसपटक उनी आफूभन्दा जुनियर केपी ओलीको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री बन्न सफल बन्न भएका छन् ।
प्रतिक्रिया 4