+
+

उपराष्ट्रपतिले शिलान्यास गरेको ‘काठमाडौं टावर’ को जग्गामा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २२ गते १०:२४

Old Bus Park (3)

२२ मंसिर, काठमाडौं । राजधानीको मुटुमा रहेको पुरानो बसपार्कभित्र व्यवसायिक प्रयोजनका लागि २९ तले ‘काठमाडौं भ्यू टावर’ बन्न लागेको ठूलो बोर्ड टाँगिएको छ । टावरको शिलान्याससमेत उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट गराइसकिएको छ । तर, त्यहाँ बसोबास गर्दै आएका व्यापारीहरुले ठाउँ खाली गर्ने छाँटकाँट अहिलेसम्म देखिएको छैन ।

महानगरपालिकाले पुरानो बसपार्कमा रहेका सबै पसलहरु हटाएर ‘भ्यू टावर’ बनाउने जिम्मा निजी कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई दिएको छ । सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत बन्न लागेको भ्यू टावरको कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गरिसकेका छन् ।

टावर बनाउने ठाउँका पसलहरु खाली गरिदिन काठमाडौं महानगरपालिकाले व्यवसायीहरुलाई सोमबार ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले व्यवसायीलाई तिर्नुपर्ने सम्पूर्ण रकम दाखिला गरेर बसपार्क खाली गर्न पुस दोस्रो सातासम्मको अल्टिमेटम दिएको छ ।

तर, बर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु भने यत्तिकै बसपार्क छोड्ने मनस्थितिमा देखिएका छैनन् । सरकारले अर्को विकल्प नदिएसम्म महानगरको अल्टिमेटम मान्न नसकिने व्यापारीहरुको भनाइ छ । यता महानगर भने जसरी पनि बसपार्क खाली गराएर ‘भ्यू टावर’ निर्माण कार्य सुरु गर्ने तयारीमा छ ।

स्थानीय व्यवसायीहरु जबरजस्ती आफूहरुलाई हटाउन लागेको भन्दै आक्रोशित बनेका छन् । अनलाइनखबरकर्मी पुरानो बसपार्कमा पुग्दा त्यहाँका व्यवसायीले बसपार्क खाली गराउनका लागि ठेकेदारले मिडिया प्रयोग गरेको आरोप लगाए । ‘हामीले वर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका छौं, हाम्रो रोजिरोटी यहीँबाट चलिरहेको छ’ एकजना स्थानीय पसल सञ्चालिकाले भनिन्- ‘कसरी खाली गराउँदारहेछन, हामी पनि हेरौंला नि ।’

भ्यू टावर बनाउनका लागि महानगरले बसपार्कका करिव ४०/४५ वटा पसल भत्काउन लागेको स्थानीय व्यवसायीले बताए । अहिले त्यहाँ खुद्रा पसल, होटल, रेष्टुरेन्टलगायतका व्यवसाय सञ्चालन भइरहेका छन्, जसलाई टावर निर्माणका क्रममा भत्काउनुपर्ने हुन्छ । तर, राष्ट्रिय सभागृह साइडमा रहेका पसलहरु भने भत्काउन नपर्ने त्यहाँका व्यवसायीले बताए ।

Old Bus Park (4)

महानगर भन्छ-सरकारी जग्गा, स्थानीय भन्छन्- अधिग्रहण

टावर निर्माणका क्रममा व्यवसायी र महानगरबीच विवाद चर्किने देखिएकाले ‘भ्यू टावर’ निर्माण अनिश्चित बन्ने देखिएको छ । पुरानो बसपार्कका बासिन्दाहरु उक्त जग्गा यसअघि सरकारले बसपार्क बनाउनका लागि व्यक्तिहरुबाट अधिग्रहण गरेको बताउँछन् ।

‘यो जग्गा सरकारी भनिए पनि पुरानो बसपार्क बनाउनका लागि सरकारले व्यक्तिबाट अधिग्रहण गरेको हो,’ एक स्थानीयबासीले अनलाइनखबरसँग भने’ त्यसरी एउटा प्रयोजनका लागि सरकारले अधिग्रहण गरेको जग्गा अर्को प्रयोजनका लागि व्यापारीलाई सम्झौता गरेर दिन मिल्दैन, यसमा हामी महानगरविरुद्ध अदालत जान्छौं ।’

त्यसो त महानगरपालिकाका कर्मचारीहरुले पनि पुरानो बसपार्कको सो जग्गा सामाजिक काममा लगाउन र बसपार्क बनाउन सरकारले यसअघि अधिग्रहण गरेको स्वीकार गरेका छन् । महानगरपालिकाका एक कर्मचारीले भने- ‘यसअघि उक्त जग्गा सरकारले अधिग्रहण गरेपछि महानगरपालिकाको स्वामित्वमा आएको कुरा सही हो ।’

त्यसरी अधिग्रहण गरिएको बसपार्कको जग्गा अहिले व्यवसायिक प्रयोजनमा लगाउने निर्णय भएकाले विवादास्पद भएको स्रोतले बतायो । यदि पहिलेका जग्गाधनीले अदालतमा मुद्दा हालेमा महानगरको परियोजना नै रद्द हुने डर रहेको स्रोतले बतायो ।
Old Bus Park (5)
यसरी बन्दैछ काठमाडौं टावर

काठमाडौं टावर दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा १२ तलाको भवन बनाउन महानगरले स्वीकृति दिएको छ । पहिलो चरणको काम ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणको काम सुरु हुनेछ ।

टावर निर्माणका लागि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई वर्ष अगाडि नक्सा तयार पार्दा ५ अर्बको अनुमान गरिएको थियो । अहिले बजार भाउ बढेको हुँदा २ अर्ब थपिने अनमान गरिएको हो ।

टावरमा तीनतला पार्किङ हुनेछ । अन्डरग्राउन्ड र बेसमेन्टमा बसहरु पार्किङ गरिनेछ भने माथिल्ला दुईतलामा साना गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरिनेछ । यसले गर्दा अहिले भइरहेको बसपार्क मासिने छैन ।

पार्किङभन्दा माथिको भाग व्यवसायिक प्रयोजनमा लगाइने छ । टावरको २० तलामाथि स्वीमिङ पुल हुनेछ । यसका साथै मल्टिप्लेक्स सिनेमा हल, होटल, रेष्टुरेन्ट तथा गेमिङ जोन पनि हुनेछन् ।

सबैभन्दा माथिको भाग दृश्यावलोकनका लागि छुट्टाइने भएको छ । उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा टावरमा आन्तरिक तथा वाहृय पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ । साथै यसले काठमाडौंको सौन्दर्यसमेत बढाउने दाबी महानगरपालिकाको छ ।

टावर निर्माणका लागि सम्पूर्ण रकम निजी कम्पनी बिकोइले नै गर्ने छ । बुट मोडलमा बन्ने टावर निर्माण कम्पनीले ३० वर्षसम्म सञ्चालन गरेपछि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

यो पनि पढ्नुहोस्

पुरानो बसपार्कमा बन्ने भो २९ तले ‘काठमाडौँ भ्यू टावर’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?