विजय थापा/अनलाइनखबर
मिस टिन २०१४ घोषित भएपछि धेरैको आँखामा परिन् रोमी घिमिरे । यद्यपि, यी बहुप्रतिभावना तथा मेहनती किशोरीसित अरु पनि थुप्रै सफलताका कथाहरु जोडिएका छन् ।
कमैलाई थाहा छ, रोमी एक विश्वकिर्तिमानधारी पनि हुन् । युथ एफएम रेडियोमा विश्वकै सबैभन्दा लामो’म्याराथन रेडियो बहस’ सञ्चालन गरेर उनले यस्तो किर्तिमान राखेकी थिइन् । हाल युथ एफएम रेडियो बन्द भएको छ ।
विश्वकिर्तिमान कायम गर्ने क्रममा उनले झन्डै एक दर्जन जति कलाकार तथा विशिष्ट व्यक्तिहरुसँग ४८ घण्टासम्म निरन्तर अन्तर्वार्ता लिइन् । यसअघि यो किर्तिमान अमेरिकी ४० घण्टा अन्तर्वार्ता लिएर कायम गरेका थिए, जसलाई तोड्ने काम रोमी घिमिरेले गरिन् ।
विद्यालय जीवनदेखि नै अतिरिक्त क्रियाकलापमा निकै अगाडी थिइन्, रोमी । पाँच वर्षको उमेरदेखि नै भजन गाउँथिन् । कथा, कविता लेखनमा पनि कमजोर थिइनन् । हेरेको भरमा नृत्य सिकेकी रोमी वादविवाद एवं वक्तृत्वकला प्रतियोगिताहरूमा पनि अब्बल थिइन् ।
समाजको लागि केही योगदान दिन चाहना राख्छिन् रोमी । किशोरी सुन्दरी भएपछि आफूमा जिम्मेवारी बढेको बताउदै उनले केहि सामाजिक संघ-संस्थामा संलग्न भएर समाजसेवा गर्दा आनन्दको अनुभूति भएको अनुभव सुनाइन् ।
उनी मदर जोय फाउन्डेसन कि उपाध्यक्षसमेत छिन् । सामाजिक सेवालाई व्यवबहारमा उतार्न हाल उनी सामाजिक कार्य बिषयमा नै स्नातक तहमा अध्ययनरत छिन् ।
क्लासिकबाट आशा
किलो टाँगो माइक, हर्के हबल्दार तथा थुप्रै धाराबाहिकमा अभिनय गरिसकेकी रोमीको चलचित्रमा अभिनय गर्ने धोको भर्खरै पुरा भएको छ । आगामी फेब्रुअरी १२ तारिख प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा उनले ठुलो पर्दामा प्रथम पटकप्रथम अभिनय गरेको चलचित्र ‘क्लासिक’ प्रथम प्रदर्शन हुनेछ । यस चलचित्रबाट उनी निकै आशावादी र उत्साहित छन् ।
यो चलचित्रमा आफ्नो अत्यन्तै चुनौतीपूर्ण भूमिका रहेको बताउछिन् रोमा । ‘क्लासिक’ नयाँ स्वादको चलचित्र भएको उल्लेख गर्दै उनले यसमा आफूले दृष्टिविहिन युवतीको भूमिका निभाएको जानकारी दिइन् । ‘यो फिल्म मेरो करिअरमा एउटा टर्निङ प्वाइन्ट पनि हुन सक्छ,’ उनले भनिन् ।
प्रतिक्रिया 4